११ आश्विन २०७७ आइतबार
कला

क्यानभासमा प्रकाश भर्ने कृष्णगोपाल

आफ्नो आर्ट स्टुडियोमा रञ्जित । तस्बिर : सुदर्शन रञ्जित

कृष्णगोपाल रञ्जितलाई एक दिन कसैले सोध्यो, ‘तपाईं मूर्ति पनि बनाउनु हुन्छ ?’ ८६ वर्षीय रञ्जितले कपुरधारास्थित आफ्नो घरको आर्ट स्टुडियोमा पुराना दिन सम्झँदै भने, ‘अ, बनाउँछु।’ 

उत्तर दिनेबित्तिकै उनलाई लाग्यो– घरमा मैले बनाएका मूर्ति छैनन्, कोही हेर्न आए के देखाउने ? त्यसपछि उनी घर फर्किए । र, मूर्ति बनाउन थाले। 

‘मूर्ति बनाएको त थिएँ, तर त्यसको प्रमाण मसँग थिएन,’ उनले त्यतिबेलाको घटना सम्झिए, ‘घरमा आएर मूर्तिबारे सोचें । र, बनाउन थालें ।’ 

त्यतिबेला उनले नुनको मूर्ति बनाए । ‘अरुभन्दा फरक गरौं भन्ने लागेपछि नुनको मूर्ति बनाएँ,’ आफूले बनाएको मूर्ति देखाउँदै रञ्जितले भने। 

तर, रञ्जित मूर्तिकार होइनन् । उनी चित्रकार हुन् । क्यानभासमा रङसँग खेल्नु उनको दैनिकी हो । घरको उपल्लो तलामा स्टुडियो छ । आफूलाई कला फुरेको बेला त्यहाँ उक्लिन्छन् र कुची चलाउन थाल्छन्।

रञ्जित अध्ययनका लागि २००४ सालमा पोखराबाट काठमाडौं झरेका थिए । तर यहाँ आएपछि उनी बिरामी परे । र, उनको पढाइ अघि बढ्न सकेन । त्यसपछि टाइपिङ सिकेर टाइपिस्टको काम थाले । जागिरसँगै कला साधनालाई पनि अघि बढाइरहे। 

उनी पाँच वर्षकै उमेरदेखि चित्र कोर्न थालेका हुन् । उनको यो यात्रा अहिलेसम्म निरन्तर छ । ‘बुबा क्रिएटिभ हुनुहुन्थ्यो, उहाँकै प्रेरणाले चित्रकार भएँ,’ उनले चित्रकलामा आकर्षण हुनुको कारण खुलाए, ‘तर सानै उमेरमा उहाँलाई गुमाउन पुग्यौं ।’

टाइपिस्टको जागिर गरिरहेकै बेला उनले रुचि अनुसारको जागिर पाए । सन् १९५८ (वि. सं. २०१४) मा तत्कालीन शाही नेपाली वायु सेवा निगममा आर्टिस्टका रूपमा जागिरे भए । कक्षा ८ सम्म अध्ययन गरेका रञ्जितलाई चिनेजानेकै एक दाजुले त्यहाँ जागिरका लागि पहल गरिदिएका थिए । निगममा उनले २८ वर्ष सेवा गरे । त्यसदौरान उनी सजावट गर्न कयौं पटक निगमका विदेशस्थित कार्यालय पुगे । सजावट गर्न कलकत्ता, दिल्ली, हङकङ, ब्याङ्ककसम्म पुगेको उनी बताउँछन् । उनलै नेपालमा निगमको जहाज पहिलो पटक रङ्गाउने अवसर पनि पाए । 

‘नयाँ कुरा देखेपछि यो कसरी बन्यो भनेर सोच्थें, छुन्थें र सुघ्थें,’ आफ्नो सिकाइ प्रक्रियाबारे रञ्जित भन्छन्, ‘यसरी पनि मैले धेरै कुरा सिकेको छु ।’

उनको बाल्यकाल अन्नपूर्ण, माछापुच्छ्रे देखेरै बित्यो, त्यसैले पनि उनी हिमाललाई क्यानभासमा उतार्न औधी रुचि राख्छन्। 

हिमालका चित्र कोर्न उनको विशेष लगाव छ । सायद आफ्नो जन्मथलोको याद भुलाउन पनि उनले हिमाललाई आफ्नो कुचीमा राखिरहे की ?

तर, उनी हिमाली दृष्यमा मात्र अड्किएनन् । नजिकबाट चिन्नेहरूले उनलाई अँध्यारोमा उज्यालो भर्ने व्यक्ति रूपमा चित्रण गर्छन् । चित्र कोर्दा उनलाई पनि अँध्यारोमा प्रकाश खोजेको भान हुन्छ । ‘प्रायःजसो चित्रहरू उज्यालोमा बनाइएका हुन्छन्, तर मैले अँध्यारोमा प्रकाशको खोजी गरेको छु,’ उनी भन्छन्, ‘अँध्यारोमा कतै देखिने एक थोपा प्रकाशले सबै औशीलाई परास्त गरेको हुन्छ।’

रातमा प्रकाश खोज्न उनले कल्पना–शक्तिभन्दा यथार्थको प्रयोग गरेका छन् । उनले स्वयम्भू, पशुपतिनाथ र वसन्तपुर क्षेत्रको रात्रिकालीन दृष्यलाई उज्यालो क्यानभासमा उतारेका छन्। 

उनी सधैँ सरल चित्र मात्र कोर्दैनन्, कहिलेकाँही अध्यारोमा उज्यालो र धुवाँमा जीवन खोज्ने ‘एब्स्ट्रयाक’ चित्र बनाउँछन्। उनी क्यानभासमा नयाँ प्रयोग गर्न स्टुडियोमा घोत्लीन्छन्। 

देशमा गणतन्त्र स्थापना भएपछि निशाना छाप फेरियो । निशाना छापको नमुना सरकारले सार्वजनिक रूपमा माग्यो। उनले पनि आफुले बनाएको नमुना पेश गरे, तर उनको नमुना पहिलो हुन सकेन। 

निशाना छाप बनाउन गठित समितिले उनले बनाएको छापलाई प्रारम्भिक चरणमा भने छनोट गर्दै प्रसंशा पत्र दियो। उनले राष्ट्रिय प्रतिभा पुरस्कार, जापानको फुजी टेलिभिजन अन्तर्राष्ट्रिय अवार्ड, प्रज्ञा प्रतिष्ठान सम्मानलगायत पुरस्कार र सम्मान पाएका छन्। 

आँखा तेज भए पनि उनी कान भने कम सुन्छन् । जागिरका कारण श्रवण–शक्ति कम भएको उनी बताउँछन्। 
उनले न्युरोडमा आर्ट ग्यालरी पनि खोलेका थिए, ‘रञ्जित आर्ट ।’ सहरमा सरकारी अफिसमा मात्र साइनबोर्ड हुने जमानामा उनले निजी पसलहरूमा साइनबोर्ड लेखेका थिए । अनि होर्डिङ बोर्ड पनि बनाउन थाले । काठमाडौंमा होर्डिङ बोर्ड बनाउने सुरुवातका व्यक्तिहरूमध्ये आफू पनि एक भएको उनको दाबी छ। 

रञ्जितले कयौं पटक स्वदेश र विदेशमा कला प्रदर्शन गरिसकेका छन् । क्यानभासमा भिन्न रङ भर्ने उनको ‘युवाजोश’ भने अझै बाँकी छ। 

प्रकाशित: १२ फाल्गुन २०७४ ०९:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App