१६ चैत्र २०८० शुक्रबार
कला

तेलगु फिल्ममा नेपाली युवा

काठमाडौं – नेपाली युवा विष्णु अधिकारीको डेब्यु अभिनय रहेको तेलगु फिल्म ‘एक’को गीत ‘फर्केर आउ’ सार्वजनिक भएको छ । राजधानीमा बुधबार कार्यक्रम गरी फिल्म युनिटले गीत सार्वजनिक गरेको हो ।

गीतमा विष्णुसँगै नायिका अर्पणा शर्माले अभिनय गरेका छन् । विष्णुकै स्वर रहेको गीतमा सबिन एकतारे र रेगन सिंहको शब्द तथा आनन्दको संगीत छ । कार्यक्रममा फिल्मको ट्रेलर पनि सार्वजनिक गरिएको थियो । ट्रेलरमा एक्सनलाई प्राथमिकता दिइएको छ ।

फिल्मका निर्माता दीपक अधिकारीले आफूले एक वर्षको मेहनतमा फिल्म बनाएको बताए । ‘एक वर्षको समय हाम्रा लागि चुनौती र अवसरको वर्ष रह्यो । निकै मेहनतले गरेर फिल्म निर्माण गरेका छौं,’ उनले भने, ‘आगामी प्रोजेक्ट नेपालमा सुटिङसँगै यहाँका ४० प्रतिशत बढी कलाकार तथा प्राविधिकलाई लिइनेछ ।’
अमेरिकाको बजारमा तेलगु फिल्मको बजार प्रबद्र्धनमा सक्रिय दीपकले नेपाली फिल्मलाई पनि अमेरिकी बजारसम्म पुर्याउन आफ्नो सहयोग हुने बताए ।

उनले पछिल्लो समयमा नेपालमा राम्रो फिल्म बन्ने गरेको आफूले सुनेकाले नेपाली फिल्मलाई पनि अमेरिकी बजारमा पुर्याउन भूमिका खेल्ने जनाए ।फिल्मका अभिनेता विष्णुले पहिलो फिल्मले आफूलाई हौसला दिएको बताए । ‘यो फिल्मबाट दर्शकको यति धेरै राम्रो प्रतिक्रिया पाउँछु भन्ने सोचेका थिइन्,’ उनले भने, ‘एउटा नेपाली भएर दक्षिण भारतीय फिल्ममा काम गर्न पाउँदा खुसी लागेको छ । म आफ्नो प्रतिभालाई अन्तर्राष्ट्रिय रूपमा चिनाउन चाहन्छु ।’

फिल्ममा सम्पथ आरको निर्देशन छ भने रिमोशी खुरानीले पनि अभिनय गरेका छन् । अमेरिकामा पढाई पूरा गरेका विष्णुले भारतमा फिनटेस सम्बन्धी इनिष्टिच्युट पनि सञ्चालन गरेका छन् । उनले तयार पारेको फिटनेस सम्बन्धी डिभिडी अमेजन डटकममा बेस्ट सेलर मानिएको थियो ।
 

प्रकाशित: ३ फाल्गुन २०७४ ०३:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App