८ वैशाख २०८१ शनिबार
कला

‘सिरुमारानी’सँगै सक्रिय हुँदै पोखरा थिएटर

पोखरा – माओत्से गुरुङ पोखराका फिल्मकर्मी हुन् । पोखरामा बसेर पनि मूलधारको फिल्ममा सम्झिइने नाम भित्र पर्छन् माओत्से । अझ ‘पुरानो डुङ्गा’मा मनु नामको चरित्रमा दमदार अभिनय गरेपछि त माओत्से ‘सेलिब्रेटी’ कलाकारको लाममा खडा भए । अभिनयमा जमेका धेरै कलाकारको जस्तै माओत्सेको अभिनयको जरा पनि रंगमञ्चमै गाडिएको छ । तर, पछिल्लो पुस्ताका दर्शकले माओत्सेलाई नाटकको मञ्चमा देख्न पाएका छैनन् ।  ‘ठ्याक्कै १८ वर्ष भयो,’ पोखरामा भेटिएका माओत्सेले भने, ‘२०५६ सालमा मलामीमा राष्ट्रिय नाटक महोत्सवका लागि अभिनय गरेको थिएँ । त्यसयता कहिलै नाटकमा काम गर्ने अवसर जुरेन।’

१८ वर्षपछि भने माओत्से आफ्नै जमिनमा बनेको नाटकघरमा मञ्चन हुने नाटकमार्फत अभिनयमा ‘कमब्याक’ गर्दैछन् । पोखरेली लेखक सरुभक्त लिखित ‘सिरुमारानी’मा माओत्सेलाई मञ्चमा फर्काउने नाटक बन्दैछ । पोखरामा मञ्चन हुने नाटकले अपेक्षित प्रगति गर्न नसकेको देखेर मौन बसेको माओत्सले बताए।

सतहमा ‘सिरुमारानी’ लोक नाटक हो तर यसमा आधुनिक समयका पुरुष र नारी मनोविज्ञानका आयाम कसिलो गरी बाँधिएका छन् । एउटी नारीले जबरर्जस्ती लादिएको कर्तव्यको सट्टा आत्मसम्मान बचाउन गरेको संघर्ष नाटकको विशेषता हो ।

‘हामीले २०५६ सालमा जुन ठाउँमा लगेर नाटक छाडेका थियौं त्योभन्दा अगाडि बढ्न सकेनौं । यसमा म आफूलाई पनि जिम्मेवार ठान्छु । यही कारण नै हो नाटकमा ग्याप रहेको,’ माओत्सेले प्रष्ट्याए । यसपल्ट भनेजस्तो टिम र नाटक भएकाले माओत्सेले नाटकमा अभिनय गर्ने प्रस्ताव स्वीकारे । तर, नाटकमा लामो ग्याप रहेकाले होला उनलाई अहिले संवाद सम्झन गाह्रो भइरहेको छ । सँगसँगै यो नाटक गरिरहँदा उनलाई आफू नाटकमा ‘जिरो’ रहेको पनि अनभूति भइरहेको छ।

‘पहिला पहिला त रोबोटले जस्तो काम गरिरहेको रहेछु निर्देशकले जे भन्यो त्यही मात्र मान्ने,’ माओत्सेले प्रष्ट्याए, ‘यस पटक भने नाटकको दश्य दिमागमा आइरहेको छ । पहिला त नाटक नै बुझेको रहेनछु।’

लोककथामा आधारित नाटकमा माओत्सेसँगै ‘पशुपतिप्रसाद’का मितबा प्रकाश घिमिरे पनि मञ्चमा देखिँदैछन् । प्रकाश घिमिरेले भने फिल्म र नाटकलाई समान्तार रूपमा अघि लगिरहेका छन् । घिमिरे अघिल्लो सालमात्र शिल्पीमा मञ्चित ‘थाङ्ला’मा देखिएका थिए । घिमिरेको भने यो नाटकसँग ‘नोस्टाल्जिया’ जोडिएको छ । घिमिरे दोस्रोपल्ट यो नाटकमा देखिन लागेका हुन् । २०६० सालमा मञ्चित नाटकमा घिमिरले अहिले माओत्सेले गर्न लागेको माझीको भूमिका गरेका थिए । ‘पोखरामा नाटकको दोस्रो चरण सुरु गर्नका लागि यो नाटक उपयुक्त छ । किनकि यो कथ्य गण्डक परम्परासँग जोडिएको छ र लेखकले नाटकमा यहीँको लवज प्रयोग गर्नुभएको छ,’ घिमिरेले भने । पोखरामा खुल्न लागेको पोखरा थिएटरमा आउँदो फागुन २ गते नाटकको विशेष सो हुनेछ भने ३ गतेबाट नाटक १५ गतेसम्म नियमित मञ्चन हुनेछ ।
पोखरा थिएटर दिलु गुरुङ र उनका सहयोगीको मनले निर्माण भएको थिएटर हो । ८० लाख लागतमा निर्माण भएको थिएटरले पोखरा र यसको छेउछाउमा हुने रञ्गमञ्चका गतिविधिलाई प्रेरित गर्ने गुरुङको अपेक्षा छ । पोखराको गैह्रापाटनमा रहेको थिएटरलाई गुरुङ र उनको समूहले व्यवसायिकभन्दा पनि गुणात्मक बनाउने लक्ष्य लिएका छन् ।
सतहमा ‘सिरुमारानी’ लोक नाटक हो तर यसमा आधुनिक समयका पुरुष र नारी मनोविज्ञानका आयाम कसिलो गरी बाँधिएका छन् । बारम्बार मञ्चनका लागि छानिनुले पनि यसको औचित्य पुष्टि हुन्छ। 

नाटक एउटी नारीले जबरर्जस्ती लादिएको कर्तव्यको सट्टा आत्मसम्मान बचाउन गरेको संघर्षको कथामा आधारित छ। गण्डक क्षेत्रको कुनै गाउँमा माछा मारेर जीविकोपार्जन गर्ने मछुवार छ । नदीमा माछा मारिरहँदा एक दिन जालमा अनौठो माछा पर्छ । पेरुंगोबाट त्यो माछा निकाल्दा माछा सुन्दरीको रूपमा प्रकट हुन्छ । सुन्दरी नागराजकुमारी हुन्छे र श्रापित भएका कारण माछाको रूप धारण गर्न बाध्य हुन्छे । मछुवार र सुन्दरी एक अर्कामा मोहित हुन्छन्। दुबैबीच संसर्ग हुन्छ र त्यो संसर्गले सिरुको जन्म हुन्छ । तर, सिरुको जन्मसँगै सुन्दरी नागलोकमा फर्किन्छे । मछुवारले एक्लै सिरुलाई हुर्काउँछ । तर, एक दिन अन्धो भविष्यवक्ताले सिरु चक्रवर्ती रानी हुन्छ भनेर भविष्यवाणी गरिदिन्छ।
कालान्तरमा भविष्यवाणी सत्य हुन्छे । सिरु चक्रवर्ती राजाकी रानी हुन्छे तर जब विवाह गरेर राजदरबारमा पुग्छे, उद्घाटित नयाँ सत्यले सिरु छाँगाबाट खस्छे । त्यहाँ पुगेपछि थाहा हुन्छ उसले वरण गरेका राजा आफ्नै छोराको उमेर र जवानी लिएर बाँचिरहेका छन्।

सिरुले कसलाई पति मान्ने ? छोरालाई वा बाबुलाई ? जब सिरु यो अन्तद्र्वन्द्धद्वो निकास निकाल्न तम्सन्छे सारा राज्य तहस नहस हुन्छ । अन्तमा तहस नहस भएको राज्यमा सिरु आफैं पनि राजाले बिहेमा लगाइदिएको औंठी निलेर प्राणघात गर्छे।

नाटकलाई सबैभन्दा पहिले मञ्चमा उतार्ने काम गरेका थिए, पोखराकै रंगकर्मी अनुप बरालले । पछि दयाहाङ राईले पनि निर्देशनमा डेब्यु गर्नका लागि यही नाटक छानेका थिए । यसपटक भने काठमाडौंको मण्डला नाटकघरसँग आबद्ध सोमनाथ खनालले पोखरामा यो नाटक निर्देशन गर्ने अभिभारा लिएका छन् । ‘माओत्से दाइ र प्रकाश दाइ एकसाथ मञ्चमा हुनु भनेको आधा काम सकिनु हो । तर, यो नाटक सजिलो हुँदाहुँदै पनि चुनौतीपूर्ण छ । रिहर्सल राम्रो भइरहेको छ । कस्तो भएको छ त्यो चाहिँ दुई गते नै थाहा हुन्छ,’ सोमले भने।

नाटकमा प्रकाश घिमिरे र माओत्से गुरुङसँगै विष्णु गौतम, धनबहादुर गायक, दिल गुरुङ, रमेशबाबु तिमिल्सिना, अञ्जु दाहाल, लक्ष्मण डुम्रे, बबिता मल्ल, प्रसूना भण्डारी, सीमा गुरुङ, सचिन गिरी, शरद भण्डारी, ध्रुव पौडेल, अविराज बीसी, सूर्य सुवेदी, सम्झना सिर्पाली, विश्वराज पौडेलको अभिनय रहनेछ ।

प्रकाशित: २८ माघ २०७४ ०३:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App