coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

कलाकार खोज्दै ‘सलहेस : द पिपुल्स हिरो’

काठमाडौं- कलाकार अनुसार कथा लेखिनु नेपाली फिल्मको पुरानै समस्या हो। निमार्ताले सुरुमै ‘फलानो कलाकारलाई फिट हुने कथा है’ भनेर लेखकलाई लेखाउने गर्छन्। कमैले मात्र क्यारेक्टरअनुसार एक्टर खोज्छन्। १५ सय वर्षअघिको ऐतिहासिक कथामाथि बन्न लागेको फिल्म ‘सलहेस : द पिपुल्स हिरो’ले पनि क्यारेक्टरअनुसार कलाकार छनौट गर्ने भएको छ।

मिथिलाका राजा सलहेसको गाथामाथि निर्माण हुने यो फिल्मका लागि सोमबार कलाकारको अडिसन आव्हन गरिएको छ। फिल्ममा रहने सलहेस : राजाजयवर्दन शैलेस, मन्दोदरी, भैरव भुपाल, मोतिराम, बृधेश्वर, करिकन्हा, राजा सैनी, रेश्मा, हिनपत लगायत ३० ऐतिहासिक मुख्य पात्रहरुसहित दर्जनौँ सपोर्टिङ रोल पनि अडिसनबाटै छनौट गरिने फिल्मका निर्देशक अमितेश शाहले जानकारी दिए। ‘यो फिल्म ऐतिहासिक कथामाथि बन्ने भएकाले हामीले क्यारेक्टरसुहाउँदा कलाकार छनौट गर्छौ, चलेकै कलाकार राख्दा पनि क्यारेक्टरअनुसार अडिसन गराएरै राख्छौँ,’ निर्देशक शाहले भने।

कलाकारिता रुची भएका जोकोहीले एक महिनाभित्र फिल्मका लागि आवेदन गर्न सक्ने निर्माता राजकुमार महतोले बताए। महताको अनुसार आवेदनका आधारमा कलाकार खोज्दै फिल्म युनिट अडिसनका लागि देशको विराटनगर, जनकपुरधाम, नेपालगञ्ज, काठमाडौंसहित भारतको दरभंगा, पटना, मुम्बई, दिल्ली, कलकत्ता, बंगलादेशको ढाका र चीनको बेइजिगंसम्म पुग्ने लक्ष्य छ। अडिसनमा सहभागी हुन चाहनेले फिल्मको अफिसियल फेसबुक पेज, वेभसाइट या जिमेलमार्फत फर्म भर्न सक्नेछन। देशका विभिन्न स्थानमा फर्म उपलब्धताको व्यवस्था समेत गरिएको निर्माता महताले जानकारी दिए ।

भोर कम्पनी प्रालिको प्रस्तुतिमा बन्ने यो फिल्मका प्रमुख पात्र सलहेस मिथिलामा राजा जनकपछिको प्रादुरभाव भएको व्यक्तित्व मानिन्छन्। उनलाई तराईंको दुसाध समुदायले अहिले पनि भगवानका रुपमा पूजा गर्छन्। ‘लामो समयको रिसर्च पछि हामी फिल्म बनाउने निष्कर्षमा पुगेका हौं,’ फिल्मका निर्माता समेत रहेका रिसर्चर राजकुमार महतोले बताए।

फिल्मलाई अमितेश साहले निर्देशन गर्ने भएका छन्। उनको यो पहिलो फिचर फिल्म हुनेछ। भारतको दिल्लीस्थित एशियन एकेडेमी अफ फिल्म एण्ड टेलिभिजनबाट फिल्म मेकिङ पढेका अमितेश सन् २००० देखि अडियो–भिज्युअल मिडियामा कार्यरत छन्। ६० भन्दा बढी नाटकको निर्देशन गरिसकेका अमितेशले सर्ट फिल्म ‘कमला’ बनाएका छन्।

करिब पाँच करोड अनुमानित बजेट राखिएको यो फिल्मको छायांकन धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सुनसरी, मोरड, झापा, चितवन र भारतका स्थानहरु हुने निर्माता महतोले जानकारी दिए।

मिथिला क्षेत्रमा निकै लोकप्रिय पात्र हुन् राजा सहलेस । ’ उनको वास्तविक नाम भने राजा जयवर्द्धन सैलेश थियो,’ सलहेसबारे रिसर्च गरिरहेका निर्माता महतोले भने,’ यिनी कुनै दन्त्य कथाका पात्र होइनन्, न पुराणका यशस्वी राजर्षि नै हुन्। उनी त्यतिबेला राजाभए पनि लोक कल्याणमा सक्रिय थिए जसकारण उनी जनताका प्रिय पात्र बनेको बताइन्छ। मिथिलामा अन्याय, अत्याचार र अराजकता बढेको समयमा सलहेसको प्रादुर्भाव भएको थियो। उनलाई मिथिला क्षेत्रमा अन्याय र अत्याचार विरुद्ध लडेका विद्रोहीपात्रका रुपमा समेत चिनिन्छ।’

फिल्ममा भिएफएक्स अनुपम शाह, कथा डा. राजेन्द्र विमल,  संवाद महेन्द्र मलगिंया र पटकथा निर्देशक शाहकै रहनेछ। सुनिल–प्रवेशको संगीत, डा. विमल, अशोक दत्त र ईश्वर दाहालको गीत रहनेछ। यो। ऐतिहासिक फिल्म भएकाले भिएफएक्सको पनि प्रयोग गरिने निर्देशक शाहले बताए।

प्रकाशित: २२ माघ २०७४ १२:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App