१६ चैत्र २०८० शुक्रबार
कला

‘मेरो अभिनय गाउँ फर्किएको छ’

काठमाडौं – अभिनेता सौगात मल्लको उदय सहर केन्द्रित युवाको कथा समेटिएको ‘लुट’बाट भयो तर पछिल्लो समय उनलाई गाउँले परिवेशमा बनेका फिल्ममा बाक्लै देखिन थालेको छ । फिल्म ‘शब्द’, ‘फाटेको जुत्ता’, ‘लालपुर्जा’जस्ता फिल्ममा अभिनय गरिसकेका सौगात ग्रामीण परिवेशकै कथामा बनेको फिल्म ‘पञ्चेबाजा’मा पनि मुख्य भूमिकामा देखिँदैछन् । पोखरा आसपास छायांकन गरिएको यो फिल्म आगामी फागुन ११ गतेबाट रिलिज हुँदैछ ।

सौगातलाई पछिल्लो समय सबै फिल्ममा ‘लाउड’ भएको आरोप  छ । के उनलाई यसैगरी ‘गाउँले’मात्र भएको आरोप लगाउन मिल्छ ? सौगातले आरोपको खण्डन गरेनन् । ‘गाउँमा फिल्म सुटिङ गर्दा जुन किसिमको आनन्द आउँछ, त्यस्तो आनन्द सहरी क्षेत्रमा पाइँदैन,’उनले भने,‘त्यसकारण म आजकल ग्रामीण भेगका कथामा बढी देखिन थालेको छु । साँच्चै भन्नु पर्दा मेरो अभिनय अहिले गाउँ फर्किएको छ ।’
सौगातले ग्रामीण कथाका फिल्ममा काम गर्दाको स्वाद बेग्लै हुने दाबी गरे ।

‘सहर होस् वा गाउँ फिल्ममा गर्ने त अभिनय नै हो । तर, भौगोलिक अवस्थाले गर्दा अभिनयको स्वादमा केही भिन्नता पक्कै देखिन्छ,’उनले खुलाए,‘त्यसकारण म फेरि पनि तिनै गाउँ जान चाहन्छु । गाउँ जाँदा कथा धेरै पाइँदोरहेछ।’फिल्ममा सौगातले नाट्यकर्मीको भूमिकामा अभिनय गरेका छन् । आफूले लामो समयसम्म नाटकमा अभिनय नगरेकाले फिल्मको कथा पनि मेरै जीवनसँग मिल्ने भएपछि आफ्नो चरित्र जस्तो लागेर अभिनय गरेको बताए ।

फिल्मका निर्देशक घनश्याम लामिछानेले आफ्नो वरपरको कथालाई फिल्ममा प्रस्तुत गर्न सजिलो हुने दाबी गरे । ‘गाउँघरको कथालाई फिल्ममा प्रस्तुत गर्दा आफूले देखेका र भोगेका विषयलाई समेट्न पाइन्छ । पञ्चेबाजा पनि त्यस्तै समाजमा देखिएको र भोगिएको एउटा कथा हो,’उनले खुलाए,‘म यो कथालाई अहिलेसम्म नलेखिएको र नदेखिएको कथा भन्न चाहन्छु । फिल्म हेरेपछि दर्शकले आफ्नो गाउँ पक्कै सम्झनेछन् ।’

थिएटर पृष्ठभूमिबाट फिल्म क्षेत्रमा आएका निर्देशक घनश्यामले थिएटरकै कलाकारसँग काम गर्दा रमाइलो लागेको बताए । ‘सौगात र बुद्धि फुसर्दको समयमा पनि स्क्रिप्टकै अध्ययन गरेर फिल्ममा कसरी प्रस्तुत हुने छलफल गर्थे,’घनश्यामले सम्झिए,‘उनीहरू थिएटरको चलेको कलाकार भए पनि उहाँहरूमा त्यो दम्भ देखिएन । मिलनसार भएरै काम गरे ।’

फिल्मकी नायिका जस्मिन श्रेष्ठले फिल्ममा आफ्नो भूमिका पृथक रहेको दाबी गरिन् । ‘विवाह अघि र पछि पनि अन्य व्यक्तिसँगको सम्बन्धले परिवारमा कस्तो असर पु¥याउँछ भन्ने चरित्रमा अभिनय गरेकी छु,’उनले भनिन्,‘फिल्मको कथा अहिलेसम्म नदेखिएको र नभोगिएको विषयमा छ ।’  फिल्म ‘कबच’, ‘मेरो मनको साथी’ र ‘बीच बाटो’ पछि ‘पञ्चेबाजा’ निर्माण गरेका राजेश शाहीले विगतका फिल्म एक्सन प्रधान र प्रेम कथामा आधारित रहे पनि यस पटक ग्रामीण समाजको संस्कृतिलाई समेटेर ‘पञ्चेबाजा’ बनाएको बताए । फिल्ममा कर्मा, बुद्धि तामाङ, सिर्जना सुब्बा, प्रकाश घिमिरेलगायतको अभिनय छ ।
 

प्रकाशित: १९ माघ २०७४ ०२:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App