भर्खर पाँच वर्ष टेकेका प्रणव कथा सुन्न भनेपछि हुरुक्क हुन्छन्। हरेक दिन सुत्ने बेला कुनै न कुनै कथा सुन्नैपर्छ उनलाई। छोराको कथाप्रतिको रुचि देखेर अफिसबाट फर्कंदा हरेक हप्ता कथाको पुस्तक च्यापेर घर छिर्ने गर्छन् उनका बुबा प्रमोद।
आफ्नो अनुभव सुनाउँदै उनी भन्छन्, ‘सुरु सुरुमा आफूले जानेका/सुनेका कथा सुनाइन्थ्यो। पछि बजारबाट ठुला अक्षर र चित्र भएका कथाका पुस्तक ल्याएर सुनाउन थालियो। उसले पनि हाम्रो सिको गर्दै पढ्ने कोसिस गथ्र्यो। सायद त्यसैले होला, उसले अक्षर पनि छिटै सिक्यो।’
के कथा सुन्न/पढ्न उमेरले फरक पार्छ?
त्यसो त कथाले जुनसुकै उमेरका व्यक्तिलाई पनि आकर्षित गर्छ। बालकदेखि वृद्धसम्म सबैले आफ्नो उमेरअनुसारको विषयवस्तु भएको कथा सुन्न वा पढ्न रुचाउँछन्।
महत्त्वका दृष्टिले हेर्ने हो भने प्रारम्भिक बाल्यकाल भाषाको चरम विकास, सामाजिक सिपको विकास तथा सञ्चार सिपको विकासको समय भएकाले यस समयमा बालबालिकालाई कथा सुनाउनु अति उत्तम मानिन्छ।
तीनदेखि पाँच वर्षसम्मका बालबालिकाले कथा सुनेर शब्दभण्डार वृद्धि गर्छन् भने ६ देखि १० वर्षसम्मका बालबालिकाले सुनेर वा आफैंले पढेर सामाजिक तथा सञ्चार सिपको विकास गर्न सक्षम हुन्छन्। त्यसैले तीनदेखि १० वर्षको यो महत्त्वपूर्ण समयमा बालबालिकालाई मोबाइलको सट्टा कथाप्रति आकर्षित गर्न सकेमा भविष्यमा पढाइको चिन्ता गर्नुपर्दैन।
कथाको उपयुक्त समय कुन हो?
कथा जुनसुकै समयमा पनि सुन्न र पढ्न सकिन्छ। त्यसको निश्चित समयसीमा त हुँदैन। तर बालबालिकाको सन्दर्भमा भन्नुपर्दा यसको उपयुक्त समय भनेको राति सुत्नुअगाडिको समय अत्यन्त लाभदायक हुन्छ।
सुत्ने बेलामा सुनाइएका कथाले बालबालिकालाई निद्रा लगाउने गीत (लोरी) को काम गर्छ र उनीहरू मस्त निदाउँछन्।
त्यति मात्र नभई यो समयमा सुनेको कुरा मस्तिष्कमा गहिरो रूपमा बस्छ। मस्तिष्कमा गहिरो रूपमा जे बस्छ, त्यही अनुरूप मान्छेको व्यवहार बन्छ। त्यसैले पनि राति सुत्नुअघि बालबालिकालाई कथा सुनाउनु राम्रो मानिन्छ।
कस्तो कथा सुनाउने?
कथा कस्तो चयन गर्ने भन्ने सम्बन्धमा अभिभावक अत्यन्त सजग हुनुपर्छ किनकि यो समय बच्चाले भाषा सिक्ने समय भएकाले सरल, बालसुलभ, शिष्टभाषाको प्रयोग भएको कथा चयन गर्नुपर्छ। अन्यथा कोमल मस्तिष्कमा त्यसले नराम्रो असर पार्छ।
बालबालिका स्वभावैले प्रकृतिनिकट रहन चाहने हुन्छन्। त्यसैले उनीहरू प्राकृतिक चिजवस्तु पशुपन्छी, नदी, जंगल आदि पात्र भएका कथा सुन्न मन पराउँछन्। रमाइला, रोमाञ्चकारी घटना भएका, पात्रहरूका साहसिक कार्यप्रति बालबालिकाले अत्यन्त रुचि राख्छन्।
ठुला मान्छेभन्दा बालबालिका अत्यन्त संवेदनशील हुने भएकाले उनीहरूलाई दुःख–पीडा भएका कथा सुनाउनुहुँदैन। कथाका कारण उनीहरू दुःखी हुन्छन्। डरलाग्दा घटना भएका कथा पनि सुनाउनुहुँदैन। यसले उनीहरूलाई डरपोक बनाउँछ।
लामो कथा, दिक्क लाग्ने कथावस्तुले कथाप्रतिको रुचि घटाउँछ। त्यसैले उमेरअनुसारको सजिलो भाषाशैली भएको, रमाइलो, ज्ञानवर्धक सुखान्त चित्रकथाको चयन गर्नुपर्छ। यस्तो कथाले कौतुहल जगाउँछ। कौतुहलले मस्तिष्क क्रियाशील बनाउँछ। क्रियाशील मस्तिष्कबाट नै रचनात्मक शक्तिको विकास हुन्छ।
कथाको महत्त्व
- आजभोलिका बालबालिकामा ध्यान केन्द्रित गर्न सक्ने क्षमता क्षीण हुँदै गएको छ। कथाले ध्यान एकाग्र गर्न मद्दत गर्छ। एकाग्रताले सिकाइ क्षमताको विकास गराउँछ।
- कथाले शब्दभण्डार बढाउँछ। भाषिक सिपको विकास गराउनुका साथै साहित्यिक क्षमताको विकास गराउँछ। अरूको कुरा सुन्न सक्ने र आफ्नो कुरा प्रस्तुत गर्न सक्ने क्षमताको विकास गराउँछ।
- पढाइप्रति रुचि बढाउन सहयोग गर्छ। कथा सुन्ने, पढ्ने बानीले शैक्षिक पाठ्यपुस्तक पढाउन पनि सहज हुन्छ।
- ठाडो अर्ती कसैलाई मन पर्दैन। कथाका माध्यमद्वारा घुमाउरो पाराले नैतिक सन्देश प्रवाह गर्न सजिलो हुन्छ। असल आचरण सिकाउन सकिन्छ।
- कथा सुन्ने, पढ्ने बानीले बालबालिकाको चिन्तन शक्ति, तार्किक क्षमता, सिर्जनात्मक तथा रचनात्मक र कल्पनाशक्तिको विकास गराउँछ।
- कथा सुन्दा मस्तिष्क क्रियाशील रहने हुँदा गणितीय क्षमताको विकास गराउँछ। गणना गर्ने, जोड्ने, घटाउने, काल्पनिक मानचित्र तयार पार्ने क्षमता बढाउँछ।
प्रकाशित: ७ पुस २०८० ०३:२७ शनिबार