८ वैशाख २०८१ शनिबार
कला

नेपाल आउँदै आइशा

काठमाडौं– हिपहप संगीतमा लोकप्रिय अमेरिकी कलाकार आइशा फुकुसिमा नेपाल आउने भएकी छन् । सन् २०१६ मा पहिलोपटक नेपाल आएकी आइशा अमेरिकी दूतावासको निमन्त्रणामा पुनः दोस्रो पटक आउन लागेकी हुन् ।

दूतावासका अनुसार उनले माघ १२ गते नेपालगन्ज र माघ १३ गते ललितपुरमा कार्यक्रम गर्नेछिन् । ‘अल्पसंख्यक समुदायलाई आवाज दिने कार्यमा सांगीतिक अभिव्यक्ति र युवा समावेशीकरणले खेल्ने महत्वपूर्ण भूमिकामाथि उनका कार्यक्रमले प्रकाश पार्नेछ,’ दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली युवालाई लोकतन्त्रमा सहभागी बन्न प्रोत्साहित गर्नका लागि उनले आफ्नो दोस्रो भ्रमणको बसाइमा यहाँ र्याप एक्टिभिजममा केन्द्रित कार्यशाला गोष्ठी सञ्चालन गर्नेछिन् ।’

नेपालगन्जको कारकाँदोस्थित माघ १२ गते हुने ‘प्रादेशिक महोत्सव’मा आइशाको ब्यान्ड तथा सुगम पोखरेल, प्रमोद खरेलका साथै कार्टुन क्रुजको प्रस्तुति रहनेछ भने माघ १३ गते जावलाखेल फुटबल मैदानमा आइशा र उनको ब्यान्डसँगै नेपालका दीपक बज्राचार्य तथा रिदम ब्यान्ड, लाउरे, कार्टुन्ज क्रुज र नेपाल हिपहप फाउन्डेसनको प्रस्तुति हुनेछ । कार्यक्रममा निशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

आइशाले स्थापना गरेको र्याप्टिभिजम (र्याप एक्टिभिजम) नामक विश्वव्यापी परियोजनाको २० देश र चार महादेशमा शाखा छन् । परियोजनाले दमनलाई अभिव्यक्तिका माध्यमबाट संस्कृतिले कसरी चुनौती दिनसक्छ भन्नेमा वकालत गर्छ ।
 

प्रकाशित: ११ माघ २०७४ ०३:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App