१६ चैत्र २०८० शुक्रबार
कला

मिथिला संस्कृतिमय ‘राज्जा रानी’ प्रिमियर

जनकपुर– सर्लाही बबरगन्जका शम्भु बैठा पेसाले धोबी हुन् । सर्लाहीबाटै फिल्म हेर्नका लागि जनकपुर आएका बैठाका ७ छोरी छन् । जसमध्ये दुईको बिहे भइसक्यो,  ५को बाँकी छ । बैठालाई बाँकी छोरीको विवाहले चैनले सुत्न दिने गरेको छैन । तर, बिहीबार राती  रामजानककी मन्दिरमा फिल्म हेरेर निस्कँदा बैठा थप चिन्तित देखिए । उनलाई चिन्तित बनाएको थियो फिल्म ‘राज्जा रानी’को कथा र दृश्यले । उनले छोरीको बिहे गर्न जुन झन्झट खप्नु परेको थियो, फिल्ममा दुरुस्त उस्तै दृश्यको बाहुल्य थियो । उनले फिल्म मधेशी जनजीवनको नजिक रहेको बताउँदै फिल्मले आफ्नै कथा भने झैं लागेको बताए ।

‘छोरीको बिहे हुँदा कस्तो दुव्र्यहार हुन्छ त्यो कुरा मन पर्यो । मेरा पनि सात जना छोरी छन् । दुईको बिहे भइसक्यो । छोरीको विवाह गर्न गाह्रो त गाह्रै हुन्छ मधेशीलाई,’उनले फिल्म हेरेपछि प्रतिक्रिया दिए ।  

मधेशमा व्याप्त दाइजो प्रथामाथि बनेको फिल्म ‘राज्जा रानी’ बिहीबार साँझ जनकपुरमा मिथिला संस्कृतिमय भव्य प्रिमियर भएको थियो । प्रिमियरमा सहभागी बैठाले मात्रै होइन, अन्यले पनि फिल्मको कथाले आफूहरूको पीडा बोलेको बताए । दाइजो केन्द्रित कथा भएकाले नेपाली भाषामा बनेको फिल्मलाई मैथिली भाषामा डब गरी मिथिला क्षेत्रमा प्रदर्शन गरिएको हो ।
प्रिमियरमा फिल्मका मुख्य कलाकार नाजिर हुुुसेन र केकी अधिकारीलाई रथ र डोलीमा चढाएर जानकी मन्दिरबाट स्थानीय राम जानकी हलसम्म पु¥याइएको थियो ।  
नेपाली कलाकार रथ र डोलीमा चढेर प्रिमियर शोमा पुगेको यो सम्भवतः पहिलो घटना हो । ‘एकदमै अद्भुत र अनौठो महसुस भयो,’ डोली चढेर प्रिमियर शो पुगेकी केकीले भनिन्, ‘यसअघि यसरी मेरो फिल्मको कहिल्यै प्रिमियर भएको थिएन् । म यो अनुभवलाई शब्दमा वर्णन नै गर्न सक्दिनँ ।’

रथ चढेर प्रिमियरमा पुगेका नाजिर खुशीले उस्तै गद्गद थिए । भन्दै थिए,‘यो बिहे होइन तर बिहे गरेको जस्तो फील भइरा’छ । म हुर्किएको तराई परिवेशमा आएर यसरी दर्शकको माया पाउँदा एकदमै रमाइलो लाग्यो ।’

नाजिरले फिल्म ‘होस्टेल रिटन्र्स’मा निर्वाह गरेको जनकपुरको पात्र रामेश्वर यादव त्यहाँ एकदमै पपुलर रहेछ । ‘राज्जारानी’ प्रिमियरमा गइरहेका उनलाई धेरैले ‘जनकपुर धरमपुर से रामेश्वर यादव’, ‘अकेले छ भनेर हेपेको ? ’ लगायत डायलग बोल्दै उनीसँग झुम्मिएका थिए । नाजिरले पनि दर्शकको आग्रहमा उनीहरूलाई रथबाटै डायलग सुनाएर मनोरञ्जन दिलाएका थिए ।

बाल विवाह र दाइजो प्रथाविरुद्ध अभियान चलाइरहेको संस्था भोरले यो फिल्मको मैथिली अधिकार लिएको हो । यसको मैथिली निर्माता राजकुमार महतो हुन् । ‘यो फिल्ममा मिथिलाको खास स्वाद छ । मधेशको समस्यालाई राम्रोसँग उठान गरेको भएर हामीले मैथिलीमा डब गरेर मिथिला क्षेत्रमा चलाउने निर्णय गरेका हौं,’ प्रिमियर शोमा सामाजिक अभियन्ता समेत रहेका महतोले भने, ‘मलाई लाग्छ यो फिल्मले आन्दोलनकै रुप लिन्छ ।’

फिल्मका निर्देशक यम थापाले प्रिमियरपछि आफू फिल्मबाट बल्ल सन्तुष्ट भएको प्रतिक्रिया दिए । ‘हलभित्र दर्शकको हुटिङ देख्दा यो फिल्म मैले नेपालीमा भन्दा पनि मैथिलीमा बनाएको जस्तो महसुस भयो ।’

पुर्णतः मिथिला संस्कृतिमय भनिएको प्रिमियर शोमा उपस्थित अतिथिलाई मिथिलाका १६ वटा भोजन समावेश खाना पनि खुवाइएको थियो । शोमा स्थानीय प्रतिनिधिसभा सदस्य परमेश्वर शाह, प्रदेशसभा सदस्य रामआशिष यादव, वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल, मिथिला नाट्यकला परिषद्को अध्यक्ष परमेश झा लगायत मधेशका बौद्धिक तथा राजनीतिक व्यक्तित्वहरूको उपस्थित थियो ।

प्रकाशित: २३ पुस २०७४ ०१:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App