२८ श्रावण २०७७ बुधबार
कला

हल नपाउँदा सेवाग्राहीलाई सास्ती

काठमाडौं–दुई वर्ष अघिको भूकम्पले क्षतिग्रस्त बनाएको नेपाल प्रज्ञा प्रतिष्ठानको पुनर्निर्माण गत असारदेखि चलिरहेको छ । पुनर्निर्माणका कारण सभाहल बन्द हुँदा सभाहलमा हुने ठूला कार्यक्रममा प्रत्यक्ष असर परेको छ । ‘प्रतिष्ठानको सभाहलमा स्कुलको वार्षिकोत्सव गर्नलाई हल बुक गर्न आएको खाली हात फर्किनुप¥यो,’हल बुक गर्न भनि आएका सुरेश कर्णिकारले भने, ‘अब अर्को हल कहाँ खोज्न जानु ।’ उनीजस्तै कार्यक्रम गर्न खोज्नेहरू यसरी नै प्रतिष्ठानबाट निराश फर्कने गरेका छन् । 

हिउँद याममा धेरै कार्यक्रम हुने प्रतिष्ठानमा पुनर्निर्माण परेकाले पनि त्यस्ता कार्यक्रम हुन नसकेको प्रतिष्ठानका सदस्य सचिव जिवेन्द्रदेव गिरीले बताए । ‘प्रेक्षालयको सिंगै संरचनाको नै पुनर्निर्माण भइरहेको छ,’ गिरीले भने, ‘बल्ल कुर्सीको काम शुरु गरेका छौं । हलको सबै काम चाँडै सकिएला जस्तो छैन ।’ भूकम्पले भवन पुरै नभत्किएपनि भवनका भित्ता र पिलर चर्किएको गिरीले बताए । उनले हल भाडामा दिन नपाउँदा  ६० हजारदेखि ९० हजारसम्म प्रतिदिनको भाडा घाटा लागिरहेको बताए । ‘दिनको पाँच घण्टा प्रयोग गरे ६० हजार अनि विदाको दिनको आठ घण्टा प्रयोग गरे ८० हजार लिन्छौं,’ गिरीले भने, ‘त्यो उठेको रकम सरकारले दिने बजेटमै जोडिन्छ । हामीले छुट्टै राख्न पाउँदैनौ ।’ 

प्रतिष्ठानका लागि चालु आर्थिक वर्षको बजेट १६ करोड तोकिएकोमध्ये १२ करोड सरकारले दिन्छ भने बाँकी ४ करोड प्रतिष्ठानले आन्तरिक स्रोतबाटै जुटाउछ । गत कार्तिक २ गतेबाट सभाहल बन्द भएपछि त्यो रकमको ठूलो हिस्सा संकलन यो वर्ष नहुने हो कि भन्ने चिन्ता गिरीलाई छ ।

सरकारले प्रज्ञा प्रतिष्ठानको पुनर्निर्माणका लागि २० करोड बजेट दिएको छ । भ्याट कटाएर बाँकी रहेको १६ करोड ९८ लाख २७ हजार ५२४ रुपैयाँ बजेटबाट पुनर्निर्माण सक्नुपर्ने अवस्था छ । पुनर्निर्माण थालिएको तीन महिना बित्न लाग्दा पनि सभाहलको काम नसकिएकाले आम्दानीको स्रोतमा असर परेको उनले गुनासो गरे । टेन्डरबाटै लामा समानान्तर शान्ति जेभीले निर्माणको जिम्मा लिएको छ । पुनर्निर्माण अन्तर्गत नै बाहिर रहेको डबलीको भने काम सकिएको प्रतिष्ठानले जनाएको छ । जेभीले प्रतिष्ठानका संरचनाहरू दुई वर्षभित्र बनाइसक्ने सम्झौता प्रतिष्ठानसँग गरेको छ । 

प्रतिष्ठानका अनुसार पुनर्निर्माण अन्तर्गत चर्किएको मुख्य सभाहल, मुख्य पिलर तथा भित्ताहरू, छतको निमार्णलाई विशेष प्राथमिकता दिइएको छ । ढल निकास, रेट्रोफिटिङका कामहरू पनि पुनर्निर्माण अन्तर्गत भइरहेका छन् ।  ‘मुख्य प्रेक्षालयसँगै कलात्मक झ्यालढोका सोलार पावर, वर्षाको पानी संकलन गर्ने स्थल पनि बनाइदैछ,’ गिरीले खुलाए ,‘बाँकी बिग्रेका भत्केका पनि यसैबेला मर्मत गर्ने योजना रहेको छ ।’ सरकारले बहुवर्षीय योजनाअन्तर्गत पुनर्निर्माणको बजेट दिएपनि आफूहरूले चाँडै सक्नेगरि बजेट माग गरिरहेको उनले उल्लेख गरे । 

पुनर्निर्माणका मुख्य इञ्जिनियर महेन्द्रबहादुर कार्कीले पचास वर्ष पुग्न लागेका भवनलाई पुनर्निर्माण गर्न केही समस्या आउनु स्वभाविक भएपनि ठूलो चुनौती भने पुनर्निर्माणमा नरहेको बताए । ‘पचास वर्ष पुग्न लागेका भवनलाई यो पुनर्निर्माणले अर्को पचास वर्ष थेग्ने बनाउनेछ,’ उनले भने ,‘यो राष्ट्रको धरोहर हो । यसलाई बचाइराख्न पुरानो शैलीलाई कायम राख्ने र भूकम्पले असर गरेकालाई सशक्तिकरण गर्दै लैजाने प्रक्रिया अपनाएका छौं । ’

उनका अनुसार बिसौ वर्षदेखिका भत्केका फाटेका संरचनाहरू नविकरण गर्नु र पुरानो जमानाको ध्वनि प्रविधी, एयरकन्डिसनलगायतलाई पनि नयाँ प्रविधी अनुसार ढालिनेछ । भूकम्पले चर्किएका पिलरहरूलाई रेट्रोफिटिंग विधिबाट सशक्तिकरण गरि बलियो तुल्याउने अर्को चुनौती रहेको उनले औंल्याए । भाषा, साहित्य, संस्कृति, दर्शनको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्य २०१४ सालमा नेपाल प्रज्ञा प्रतिष्ठानको स्थापना भएको हो । 

 

प्रकाशित: १४ पुस २०७४ ०६:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App