६ वैशाख २०८१ बिहीबार
कला

जीवनको खुशी खोज्दै नम्रता चित्र

काठमाडौं- प्रविधिमा व्यस्त भएर मानिस आफैलाई भुल्न थालेका छन् । आफू वरिपरिको मनोरम प्रकृति र आफ्नै जीवनका सुन्दर अनुभूतिलाई बिर्संदै गएको अवस्था सम्झाउन कलाकार नम्रता सिंहले कला प्रदर्शनीकै बाटो रोजेकी छन् । ललितपुरको नेवा छेँ आर्ट ग्यालरीमा शनिबारदेखि सुरु उनको दोस्रो एकल कला प्रदर्शनी ‘फ्र्यागनेन्स अफ लाइफ’ मा नम्रताले जीवनका स–साना खुशीलाई चित्रमा उतारेकी छिन् ।
मानिसले प्रकृति प्रेमलाई भुलेर कृत्रिम वस्तुतिर मन लगाएको अभिव्यक्ति चित्रको माध्यमबाट गरेकी छिन् । मिथिला रंगमा उनले बुद्ध र हाँसको प्रेमलाई चित्रमार्फत मानिसमाझ पु¥याउन खोजेकी छन् । ‘द साइलेन्ट लभ’ नामक चित्रमा एउटा आमा र उनका सन्तानबीचको बताउनै नसकिने मायाको वर्णन गरेकी छिन् । ‘ट्रु  रिलिजन’ शीर्षकमा उनले गाई र मान्छेको सम्बन्ध दर्साएकी छन् । शान्त मानसिकताको रुपमा उनले वुद्ध र हात्तीको प्रेम देखाएकी छिन् । उनले ‘म्युजिकल लभ’ भन्दै संगीतको धुनमार्फत पनि तनावबाट मुक्त भएर प्रेममा रमाउन सकिने औंल्याएकी छिन् ।
मिथिला र कन्टेम्प्रोअरी कलाको मिश्रणका रुपमा उनले बनाएको चित्रमा समसामयिकता र परम्परागत दुवै फ्लेभर छ । ‘मिथिलाको मोटिभ्सलाई लिएर अहिलेको स्थितिमा आफैंमा रमाउन पनि सकिन्छ भन्ने दृष्टान्त चित्रबाट दिन खोजेको हुँ,’ कलाकार सिंह भन्छिन् ,‘आफ्ना भावनालाई आफन्त, प्रकृति, आफ्ना साथीभाइबाटै प्राप्त गर्न सकिन्छ । अन्यत्र भौतारिहनु पर्दैन ।’
आफू के हो भन्ने बिर्सेर मानिसले हाँस्नसमेत बिर्सन थालेको तथ्यलाई उनले चित्रबाट देखाउन खोजेको बताइन् । ‘नकारात्मक तनावबाट जीवनलाई अध्याँरोतिर लैजानुभन्दा सकारात्मक सोचले आफ्नै वरपरको वातावरणमा प्रेम र खुशी भेट्न सकिन्छ,’ उनी थप्छिन्,‘मानिसमा यस्तै सकारात्मक सोच जन्म होस् भन्ने चाहन्छु ।’
यस्तो भावनामा चित्र बनाउन भने उनकै साथीमा भएको एउटा घटनाले उनलाई प्रेरित ग¥यो । फाइन आर्टमा स्नाकोत्तर गर्ने बेला एकजना मिल्ने साथीले पेन्टिङमा सँधै पीडा दुःख नै पोख्थिन् । आफैंले पीडा अनुभूत गर्दागर्दै एकदिन उनको साथीले आत्महत्या नै गरिन् ।
‘त्यसबाटै मैले मानिसले आफूलाई पीडामा हैन, खुशीमा रमाउन सिक्नुपर्छ भन्ने जानें,’ उनले विगत सुनाइन्,‘आफंैले आफैलाई यातना दिनुहुन्न । आफू राम्रो भएन भने अरुलाई कसरी राम्रो गर्न सकिन्छ ?’  
उनी आफैं पनि मिथिला क्षेत्रमा हुर्केको हुनाले त्यही माध्यमबाट जीवनको खुशी खोजेको उल्लेख गरिन् । पहिले–पहिले महिलाले घरमा सुख र शान्ति छाओस् भनेर मिथिला चित्र घरका भित्तामा बनाउँथे । उनले चाहिँ समग्र मानिसका मनका भित्तामा सुख र प्रेम पलाओस् भनेर चित्रमा मिथिला कोरेकी हुन् ।
विगत १० वर्षदेखि चित्रकारितामा सक्रिय उनका चित्रको मूल्य ८ हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्मका छन् । माघ १७ गतेसम्म चल्ने उनको कला प्रदर्शनीमा २५ वटा चित्र छन् ।

प्रकाशित: ३ पुस २०७४ ०४:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App