६ वैशाख २०८१ बिहीबार
कला

‘५० लाख दिन आउनु भएकै हो’

काठमाडौं–फिल्ममा अभिनयका लागि अनमोल केसीलाई ५० लाख रुपैंयाँ पारिश्रमिक दिने निर्माताको सूचिले केही समय अघि फिल्म क्षेत्रमा तरंग ल्याएको थियो । यही सूचिमा रहेकी अभिनेत्री तथा निर्देशक झरना थापाले भने फेसबुकमा स्ट्याटस लेख्दै नेपाली फिल्मको बजार ठूलो नभएकाले ५० लाख दिने कुरा आफ्नो वश बाहिर रहेको बताएकी थिइन् । तर, अनमोलले पहिलो पटक मिडियामाझ आफूलाई ५० लाख रुपैंयाँको अफर आएको स्वीकारेका छन् ।

पैसा कमाउनकै लागि फिल्म खेलेको भए म दुई वर्षमा एउटा मात्र फिल्ममा काम गर्दिनथें । मलाई पैसाभन्दा पनि फिल्मको कथा महत्वपूर्ण लाग्छ ।

उनी अभिनित फिल्म ‘कृ’को ट्रेलर सार्वजनिक कार्यक्रममा शुक्रबार उनले आफूलाई ५० लाख पारिश्रमिकसहित थुप्रै निर्माताले फिल्म अफर गरेको बताए । ‘मलाई ५० लाखको अफर आएको कुरा सत्य हो । तर, मैले त्यो अफरलाई स्वीकार्न सकिन,’अनमोलले स्पष्ट पारे,‘पैसा कमाउनकै लागि फिल्म खेलेको भए म दुई वर्षमा एउटा मात्र फिल्ममा काम गर्दिनथें । मलाई पैसाभन्दा पनि फिल्मको कथा महत्वपूर्ण लाग्छ । कथा राम्रो भए मात्र फिल्म खेल्छु ।’
उनले आफू फिल्म क्षेत्रका लागि अझै नयाँ अनुहार नै रहेको दाबी गरे । ‘मलाई दर्शकले स्टार, सुपरस्टार, मेगास्टार जे भनेपनि म आफूलाई फिल्मका लागि नयाँ ठान्छु । म अहिले प्रारम्भिक अवस्थामा भएकाले आफूलाई स्टार मान्दिन ’ अनमोलले भने, ‘म बोलेरभन्दा पनि काम गरेर देखाउन लालयित छु ।’
होम प्रोडक्सनको फिल्म ‘ड्रिम्स’मा डेब्यु नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहसँग अनस्क्रिन रोमान्स गरेका अनमोल ‘कृ’मा पनि डेब्यु नायिका अदिती बुढाथोकीसँग रोमान्टिक हुँदैछन् । ‘ड्रिम्समा काम गरेपछि साम्राज्ञीले पछाडि फर्केर हेर्नुपरेको छैन । उनले राम्रा फिल्ममा काम गर्ने अवसर पाइरहेकी छन्,’अनमोलले भने,‘अदिती फिल्म क्षेत्रका लागि नयाँ अनुहार भए पनि उनको काममा आत्मविश्वास छ । उनको यही काम गर्ने शैलीलाई निरन्तरता दिने हो भने अदितीले पनि पछाडि फर्केर हेर्नुपर्ने छैन ।’ 
‘कृ’ डेब्यु नायिका अदिती वुढाथोकीले एउटा राम्रो टिमसँग काम गर्न पाउँदा खुशी लागेको बताइन् । ‘अनमोलदेखि निर्देशक, निर्माता तथा अन्य कलाकार सबैको काम गर्ने शैली राम्रो लाग्यो,’उनले भनिन्,‘पहिलो पटक नेपाली फिल्ममा देखिँदैछु । दर्शकले न्याय दिनुहुन्छ होला ।’
फिल्मका निर्माता भुवन केसीले सबै निर्माता निर्देशकले मेहनतले फिल्म बनाए जस्तै आफूहरुले पनि उत्तिकै मेहनत गरेको बताए । ‘हाम्रो प्रयास पनि त्यही हो । फिल्ममा नयाँभन्दा पनि फरक कुरा देखाएका छौं,’ उनले भने,‘ हाम्रो प्रतिष्पर्धा नेपाली फिल्मसँग नभइ विदेशी फिल्मसँग हो ।’ 
अर्का निर्माता सुवास गिरीले अहिले आएका फिल्म भन्दा ‘कृ’मा केही फरकपना देखिने दाबी गरे । बजारमा भुवन र उनको सम्बन्ध बिग्रिएको सम्बन्धमा सोधिएको प्रश्नमा उनले आफूहरुबीच सौहार्दपूर्ण वातावरणमा सहकार्य भइरहेकाले हल्लाको पछि नलाग्न आग्रह गरे । 
निर्देशक सुरेन्द्र पौडेलले ‘कृ’को नाम संस्कृतबाट लिइएको जनाउँदै फिल्मले बदलाको कथालाई देखाउने बताए । माघ २६ मा रिलिज हुने फिल्ममा अनुपविक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना, सुदाम सिके, अमिती गिरी, टिका भक्त जिरेल, आर्जेश रेग्मीलगायतका कलाकारको पनि अभिनय छ ।
फिल्ममा कमल गिरी कार्यकारी निर्माता र श्री पराजुली सह–निर्माता छन् । फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन, चन्द्र पन्तको द्वन्द्व, प्रदिप भारद्वाज र आशिष रेग्मीको पटकथा तथा संवाद, अल्मोडा उप्रेती राना र विशेष पाण्डेको संगीत, रेनशा वान्तवा राईको कोरियोग्राफी छ । 

 

प्रकाशित: २ पुस २०७४ ०१:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App