१६ चैत्र २०८० शुक्रबार
कला

भोट हाल्न सिकाउँदै कलाकार

भोट हाल्ने तरिका सिक्दै कलाकार लक्ष्मी गिरी । तस्बिर : चाँदनी

काठमाडौं – यतिबेला प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको देशभर चटारो छ । पहिलो चरणको निर्वाचन सकेपछि दोस्रो चरणमा भोट हाल्न कलाकार पनि व्यग्र छन् । यस्ता कलाकार  कोही घरमा आएकासँग त कोही आफ्नै प्रयासले मतदान गर्ने विधि सिकिरहेका छन्। 

केही दिन अघि कलाकार लक्ष्मी गिरी आफन्तको घर रातो पुल पुगिन् । माथिल्लो बाहिर कसैले बोलाएको सुनेपछि ठूलो आवाजमा ‘को हो ?’ भन्दै उनी ढोका खोलेर बाहिर निस्किइन् । ‘मतदान गर्न सिकाउन आएको दिदी’,तल देखिएकी एउटी महिलाले माथि हेरेर जवाफ दिइन् । ‘ल ल माथि नै आउनुस न त हेरौ कस्तो सिकाउनुहुँदो रहेछ ’, गिरीले बोलाइन्। 

सामाजिक रुपान्तरणका वाहक मानिने केही कलाकार देशमा भइरहेको चुनावमा मतदातालाई भोट हाल्न सिकाइरहेका छन् भने केही भने आफैं भोट हाल्न सिकिरहेका छन्। 

बाल व्यवसायी केन्द्र माध्यमिक विद्यालयकी शिक्षिका सजिता थापा मतदातालाई शिक्षा दिने क्रममा गिरीको घर पुगेकी थिइन् । बैठक कोठामा बसेपछि गिरीले भनिहालिन ‘,लु लु कसरी हाल्ने रैछ भोट देखाउनुस त ?’ सजिताले दुईवटा नमुना मतपत्र निकालिन । ‘यो चाँहि प्रतिनिधि सभाको सदस्य चुन्नका लागि,’ हल्का हरियो मसीले छापिएको मतपत्र देखाउँदै थापाले भनिन् ‘यसमा रहेको चुनाव चिन्हमध्ये जसलाई दिने हो एउटामा मात्र स्वस्तिक छाप लगाउने ।’ उनले त्यसैगरि हल्का कालो रंगले छापिएको अर्को मतपत्र देखाएर गिरीलाई सिकाइन्, ‘यो चाँहि प्रदेश सभाको लागि मतपत्र हो ,यसमा रहेका चिन्हमध्ये एउटामा मात्र स्वस्तिक छाप लगाउने। ’

अन्तिममा उनले हल्का रातो रंगले छापिएको ठूलो मतपत्र निकालिन । त्यो चाँही समानुपातिकतर्फको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि मतपत्र थियो । ‘यसको माथिल्लो भागको मतपत्र १ को दलका चुनावचिन्हमध्ये एउटामा लगाएर समानुपातितर्फ प्रतिनिधीसभासदस्य चुन्ने अनि तल्लो मतपत्र २ मा रहेका चिन्हमध्ये प्रदेशसभाको लागि समानुपातिक सदस्य चुन्न एउटा दलको चिन्हमा छाप लगाउने’, उनले गिरीलाई सिकाइन् । ए स्थानिय चुनावमा जस्तो गाह्रो त रहेनछ ,गिरीले सिकेपछि जवाफ दिइन् । 

सजिताजस्तै धेरै शिक्षक शिक्षिका यतिबेला दोस्रो चरणको चुनावका लागि मतदाता शिक्षा दिन व्यस्त छन् । उनले मतदान शिक्षा सिक्दा पहिलो चरणको निर्वाचन मंसिर १० नजिकिदै गर्दा मौन अवधि सुरु भैसकेको थियो । दोस्रो चरणको निर्वाचन मंसिर २१ आउन भने अझै बाँकी छ । गिरी दोस्रो चरणमा काठमाडौंमै मतदान गर्दैछिन्। 

गीतकार यादव खरेल काठमाडौं चार नम्बर क्षेत्रबाट मतदान गर्दैछन् । उनले मतदान गर्ने कुरा भने पत्रिका पढेर मोटामोटी जानेको बताए । ‘खै सिकाउने मान्छे मकहाँ आएका छैनन् ’,उनले भने, ‘यसपाला अलिक गाह्रो छ धेरैले बिराउँछन् कि भन्ने लागेको छ । एउटै मतपत्रमा दुइटा ठाउँमा चिन्ह लगाउनुपर्ने छ ।’ मतदाता शिक्षा निकै कमजोर रहेको उनले महसस गरेका छन्। 
अनलाइनमा जानकारी दिने, स्थानिय तहमा ब्यानर राख्ने, टोलमा माइकिङ गर्ने लगायतका कुराहरुमा जोड दिन नसक्नु  मतदाता शिक्षाको कमजोरी रहेको यादवले औल्याए।

अभिनेत्री मिथिला शर्मा पनि काठमाडौंमै भोट खसाल्दैछिन् । उनले आफै सोधीखोजी गरेर भोट हाल्ने तरिका सिकिसकेको नागरिकसँग बताइन् । ‘अलिक पढेलेखेको र बुझेको वर्गले मलाई सिकाउ भनिराख्ने हैन, आफै सिक्ने हो । इन्टरनेटमा पनि देखाइरहेको छ,’ शर्मा भन्छिन्, ‘सिकाउने भनेको त जसले सावाँ अक्षर जानेका छैनन् अनि आवश्यक परेकोलाई हो।’ 

नायिका रेखा थापा राप्रपाका अध्यक्ष पशुपति शमशेरलाई भोट माग्नका सिन्धुपाल्चोक पुगिन् । उनी राप्रपाको सहमहामन्त्री र विदेश विभाग प्रमुख पनि हुन् । यही मेसोमा उनले भोट हाल्ने तरिका पनि सिकिन् । उनले पनि काठमाडौं चार नम्बर क्षेत्रबाट भोट हाल्दैछिन् । ‘स्थानिय चुनावमा पनि भोट हालेकै हो,’ थापाले भनिन्, ‘तर यो पाला अलिक कन्फु्युज हुन्छु कि जस्तो लाग्दैछ ।’ आफै राजनीतिमा लागेपछि सही तरिकाले भोट हाल्नुपर्छ भन्नेमा भने उनी सतर्क छिन्।
। मतदान गर्ने प्रविधि नै पुरानो भएकाले पनि यस्तो समस्या आएको उनको ठम्याइ छ । ‘अरु देशमा घरमै बसेर मतदान गर्नुपर्ने दिन आइसके,’ थापा भन्छिन्, ‘हाम्रो देशमा भने अझै पनि कागज र बाकसका भरमा भोट हाल्नुपर्ने अवस्था छ।’

अभिनेत्री निशा पोखरेल ललितपुर ३ नम्बर क्षेत्रबाट मतदान गर्दैछिन् । उनी आफै सिक्नेभन्दा पनि देशका विभिन्न जिल्लाका मतदातालाई सिकाउने भूमिका सक्रिय छिन् । निर्वाचन आयोगसँगको सहकार्यमा राष्ट्रिय नाचघर र उनको आरोहण गुरुकुल मिलेर मतदातालाई भोट हाल्न प्रेरित गर्न निशा सडक नाटक लिएर देशका विभिन्न क्षेत्र पुगिरहेकी छिन् ।  ‘भोट हाल्न बुथसम्म जाने कुरा त छँदैछ, बदर नहुने गरी भोट हाल्न सिकाउन पनि जरुरी थियो ,’ उनले भनिन्। 

आयोगको मतदाता शिक्षाको विधि स्पष्ट नभएको उनको ठम्याइ छ । ‘एउटा वा दुईवटामात्र मतपत्रमा खसाल्दा त अन्यौल हुन्छ,’ उनले भनिन्, ‘अझ गाउँघरमा समानुपातिक भनेर थप मतपत्रमा भोट हाल्न लगाउदा झन् अन्यौल बढेको छ ।  जुन कुरा बुझाउन निर्वाचन आयोगले पर्याप्त समय  दिएको छैन ।’ निर्वाचन आयोगले हकारा अर्थात हरियो, कालो र रातो भनेर जोड दिनु भने अनुसार सिकाउदा पनि त्यो भित्र के हो भनेर बुझाउन निकै गाह्रो परेको अनुभव उनको छ।

प्रकाशित: १३ मंसिर २०७४ ०६:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App