coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

चित्रमा ‘शक्ति, राजनीति र युद्ध’

काठमाडौं- शक्ति, राजनीति र युद्धले जहिल्यै मान्छेलाई प्रभावित पारिरहेकै हुन्छ । नेपालको दशवर्षे सशस्त्र द्वन्द्व पनि यसैको उदाहरण हो । विश्व परिवेशमा भइरहेका भूराजनीतिका उथलपुथलहरू पनि यसका उदाहरण हुन् । आणविक होड, शीत युद्ध, खाडी युद्ध, कोरिया संकटलगायतका घटनाहरू यीनै तीन तत्वहरूसँग जोडिएको छ ।
वर्तमान सन्दर्भका यिनै विषयलाई कलाकार मन गुरुङले आफ्ना कलाकृतिमा पस्केका छन्, जुन सिद्धार्थ आर्ट ग्यालरीमा प्रदर्शित छ । ‘पावर, पोलिटिक्स एन्ड वार’ शीर्षकको जारी कला प्रदर्शनीमा आमजनलाई प्रभावित गरिरहेका यिनै विषयलाई नै गुरुङले कलामार्फत प्रस्तुत गरेका छन् ।
कलाकार मन गुरुङले मानव अधिकार हननका विषयलाई पस्केका छन् । ‘मानवीय मानोविज्ञानकै कारणले गर्दा युद्ध भइरहेका छन्,’ उनले भने, ‘मानवतामाथि दया गर्न भन्दा पनि इष्र्या गर्ने, अरुमाथि नियन्त्रण गर्न खोज्ने प्रवृत्ति बढ्दो छ ।’
उनले क्लासिकल रियलिज्मबाट कलात्मक रूप दिएका छन् । झट्ट हेर्दा उनका कलाकृति मनमोहक देखिन्छन् । तर तिनको भाव भने अमानवीय कृत्यको पराकाष्ठा भन्ने स्पष्ट बुझिन्छ । उनले भारतले नेपालमाथि गरेको नाकाबन्दी, विभिन्न युद्ध, शक्तिशाली राष्ट्रको आपसी खिचातानी र यी सबले सामान्य नागरिकलाई परेको दुःखका विषयलाई चित्रमार्फत देखाउन खोजेका छन् ।
‘प्रकृतिमा हामी जे जस्तो छौं त्यस्तै देखाउन खोजको हुँ,’ उनले आफ्ना चित्रका बारेमा भने, ‘जसरी चरा, पहाड, घामले कपडा लगाउँदैनन् र पनि उनीहरू नांगो लाग्दैनन् त्यस्तै मानिसका  प्राकृतिक रूप प्रयोग गरेको हँु नांगोपनको वकालत गरेको हैन ।’
परम्परागत मान्यताले केही अप्ठेरो माने पनि प्रायः देशमा क्लासिकल रियलिज्म उन्नत कला मानिन्छन् । यसलाई न्युड कला नभनिने÷नमानिने उनले बताए । ‘म न्युड भन्ने वर्डलाई छिराउन पनि चाहन्न,’ उनने थपे, ‘तर मान्छेको फिगरलाई समसामयिकतासँग जोडेर यथार्थ बताउन खोजेको हुँ ।’
ललितकला क्याम्पसमा कलामा स्नातक सकेपछि उनले अमेरिकाबाट क्लासिकल रियलिज्ममा चारवर्षे स्नातक पढेका हुन् भने नेपालबाटै कलामा स्नातकोत्तर पनि सकिसकेका छन् । १९ औं शताब्दीमा फ्रान्समा कलाको प्रभाववाद सुरु हुनुअघि क्लासिकल रियलिज्मको धार कायम थियो । नियमपूर्वक चन्लुपर्ने विधा क्लासिकल रियलिज्ममा आँखाले जस्तो देख्छ त्यस्तै प्रस्तुत गर्नु यो विधाको महत्व हो । आपूmले बनाएको कलामा भने मात्र २० प्रतिशत हाराहारी क्लासिकल रियलिज्मको प्रयोग गरेको उनले बताए । समसामयिकतालाई मिसाएर कलामा नयाँ आयाम दिने प्रयास गरेको उनले बताए ।यसअघि सामूहिक कला प्रदर्शनीमा सहभागी भइसके पनि एकल कला प्रदर्शनी भने उनको यो पहिलो हो । प्रदर्शनीमा कूल २३ वटा चित्र  छन् । प्रदर्शनीको उद्घाटन प्रा. डा. अभि सुवेदीले गरेका थिए । उनले गुरुङका कला मानवीयताको पक्षपोषक रहेको उल्लेख गरे । प्रदर्शनी मंसिर ११ गतेसम्म चल्नेछ ।

प्रकाशित: १ मंसिर २०७४ ०५:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App