७ वैशाख २०८१ शुक्रबार
कला

‘सोज’ र ‘डेमोन्स् इन प्याराडाइज’ले जिते रामबहादुर ट्रफी

काठमाडौं, कात्तिक २० – निर्देशक तुषार माधव र सर्भनिक कौरको ‘सोज : अ ब्यालेड अफ मालाडिज’ र जोडे रत्नमको ‘डेमोन्स् इन प्याराडाइज’ ले संयुक्त रुपमा उत्कृष्ट हुँदै फिल्म साउथ एसिया अन्तर्गत दुई हजार डलरको रामबहादुर ट्रफी जितेका छन् । आइतबार यलमाया केन्द्रमा आयोजित कार्यक्रममा भारतीय पत्रकार शशी कुमारले भारतको ‘सोज :अ ब्यालेड अफ मालाडिज’ र श्रीलंकाको ‘डेमोन्स इन प्याराडाइज’लाई संयुक्त रुपमा ट्रफी प्रदान गरेका थिए । 

‘सोज : अ ब्यालेड अफ मालाडिज’ ले संगीत र कलाको माध्यमबाट कलाकारहरुले कश्मिर हिंसाको प्रतिरोध गरेको कथा समेटिएको छ । त्यस्तै ‘डेमोन्स इन प्याराडाइज’ मा भने गृह युद्धपछि शान्त बनेको श्रीलंकाको परिवेशको चित्रण गरिएको छ । 
त्यस्तै एक हजार डलरको जुरी अवार्ड भने स्टेन्जिन डोर्जाइ गो र क्रिस्टिएन मोर्डेलेटको ‘सिफर्डेस अफ द ग्लेसियर्स’ले जित्यो । यस वर्षको डेब्यु फिल्म अवार्ड भने निहारिका पप्लीको ‘रसन पिया’ ले जित्यो । 

बालबालिकाको विषयमा केन्द्रित फिल्मलाई प्रदान गरिने युनिसेफ अवार्ड भने चन्द्रशेखर रेड्डीको ‘फायरफाइल्स इन द अबिस्स्’ले प्राप्त गर्यो ।  त्यस्तै पाँच सय डलरको उत्कृष्ट विद्यार्थी फिल्म अवार्ड भने म्यानमारको ‘थर्टीटु सोल्स्’ले जित्यो। यस वर्षको स्पेशल मेन्सन भने केसाङ छेतेनको ‘ट्रेम्बलिङ माउण्टेन’, ‘प्रिजन सिस्टर्स’, ‘इज इट टु मच टु आक्स’ र ‘आस्क द सेक्सपर्ट’ परेका थिए । चार दिने फिल्म साउथ एसियाको यो ११ औं संस्करण हो । 
‘हामीले मानवीय कथामा काम गर्ने व्यक्तिहरुलाई केन्द्रित गरेर फिल्म महोत्सवको आयोजना गरेका हौ। पछिल्लो समय राम्रा डकुमेन्ट्री निर्माण भइरहेका छन् । यस महोत्सवले डकुमेन्ट्री फिल्ममेकरहरुलाई प्रोत्साहित गर्दै आइरहेको छ । यसलाई निरन्तरता दिनेछौं,’ द फिल्म साउथ एसिया ट्रस्टका कनकमणि दीक्षितले भने । 
महोत्सवमा नेपाल, बंगलादेश, अफगानिस्तान, बर्मा, भारत, पाकिस्तान र श्रीलंका लगायत देशका ६३ वटा डकुमेन्ट्री प्रदर्शन भएका थिए । महोत्सवमा ४५ वटा डकुमेन्ट्रीहरूले विभिन्न पाँच वटा विधामा प्रतिस्पर्धा गरेका थिए । ‘महोत्सवले दक्षिण एसियाभित्र रहेको एक अर्काको संस्कृति र परम्पराबारे जानकारी दिएका छ । यसपटक विभिन्न देशमा प्रतिबन्ध भएका डकुमेन्ट्रीहरु प्रदर्शन भएका थिए । आगामी वर्षपनि विभिन्न देशका डकुमेन्ट्रीले सहभागिता जनाउने छन् भन्नेमा आशावादी छु,’ महोत्सव निर्देशक मितु वर्माले भनिन् । 

प्रकाशित: १९ कार्तिक २०७४ १८:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App