coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

रंगमञ्चले बसायो घरबार

काठमाडौं- रंगमञ्चको अभिनयबाट उदाएका कलाकार हरिहर शर्मा फिल्म क्षेत्रमा पनि सक्रिय छन् । पाको उमेरमा उनको अभिनयमा कुनै सुस्तपन देखिँदैन् । उनकी जीवनसंगिनी सकुन्तला शर्मा पनि नाटकका स्थापित कलाकार हुन् । नाटक गर्ने क्रममा भेटिएको यो जोडीले नाटकलाई कर्म क्षेत्र मात्र बनाएनन्, दैनिक भेटमा बढेको घनिष्ठताले घरबार पनि बसाए ।
हरिहरका अनुसार उनीहरूको भेटको माध्यम तत्कालिन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान बनेको थियो । ‘२०३० सालमा सकुन्तलासँग मेरो भेट प्रज्ञा प्रतिष्ठानमा भएको थियो । उनी त्यहाँ नाटकीय गतिविधिमा संलग्न थिइन् । म पनि कलाकार भएकाले नाटककै कामका लागि पुगेको थिएँ,’ हरिहर स्मरण गर्छन्, ‘चिनापरिचय भएपछि हामी प्रायः नाटकको काममा नै व्यस्त हुन्थ्यौं । नाटकको रिहल्सलदेखि अभिनयमा उत्तिकै लगाव हुन्थ्यो । नियमित भेट हुनाले घनिष्ठ साथीको रूपमा एकापसमा सहकार्य गरिरह्यौं ।’
उसबेला प्रेमभन्दा पनि घनिष्ठताले आफूहरूको सम्बन्ध बाँधिएको हरिहरको बुझाइ छ । ‘एकापसको व्यवहारको बारेमा सबै कुरा थाहा भयो । प्रेम प्रस्ताव कसैले राखेनौं । अहिलेको जस्तो डेटिङ र घुम्ने चलन पनि थिएन,’ हरिहर भन्छन्, ‘सबै कुरा थाहा भएपछि म आफैं उनलाई माग्न गएँ । प्रेम नगरीकनै घनिष्ठताले हाम्रो जोडी बनाइदियो ।’ थुप्रै नाटकमा सँगै काम गरिसकेका हरिहर र शकुन्तलाको जोडीले फिल्म ‘बासुदेव’ लगायतका फिल्ममा पनि सहकार्य गरिसकेका छन् । हरिहर पछिल्लो पटक फिल्म ‘धनपति’ मा देखिएका थिए भने सकुन्तलाचाहिँ ‘क्लासिक’मा आमाको भूमिकामा थिइन् ।
रंगमञ्चीय अभिनयबाट करियरसँगै परिवार बसाल्ने जोडीमा हरिहर र सकुन्तला एउटा उदाहरण मात्र हुन् । हरिहर पछिका सरोज खनाल, सुनिल पोखरेलदेखि अहिलेका नयाँ अनुहारहरु सुलक्षण भारती, सोमनाथ खनाल, विकास जोशीको पुस्तासम्म आइपुग्दा उनीहरूका अर्धाङगिनी पनि नाट्य क्षेत्रकै छन् । नाटकघरमा पहिलो भेट, त्यसपछिको घनिष्ठता अनि अंकुराएको प्रेमले उनीहरूलाई सच्चा जीवनसाथी जुराइदिएको छ ।
काठमाडौंकी सुलक्षण भारती र सिर्जना अधिकारी पछिल्लो पुस्तामा नाट्यसँगै फिल्मी अभिनयमा पनि सक्रिय जोडी हुन् । २००९ मा राजधानीको अनामनगरस्थित मण्डला थिएटरमा पहिलो पटक भेट हुँदा उनीहरू साथी थिए । बिहानदेखि बेलुकासम्म नाट्य अभिनयका विविध पक्षबाट प्रशिक्षण लिँदै अभिनयमा निखारता ल्याइरहे । सिर्जनाबाट मोहित सुलक्षणले आफ्नो मनलाई बाँध्न सकेनन् । सिर्जनालाई प्रेमको प्रस्ताव राखे ।
‘सिर्जनालाई मैले नै प्रेम प्रस्ताव राखें । उनले प्रस्ताव स्वीकारेपछि हाम्रो शुरुवाती डेटिङ स्पट मण्डला नै बन्यो । कहिलेकाँही घुम्न भैंसेपाटी, झम्सिखेल पुग्थ्यौं । झम्सिखेलको एउटा चिया पसलमा पनि खुब गइयो’, सुलक्षणले हाँस्दै भने, ‘हामी प्रेममा रहेको मण्डलाका समकालिन साथी तथा दाजुदिदी कसैलाई थाहा थिएन । तर २०१२ मा बंगलादेशमा नाटक देखाउन गएपछि मात्र साथीहरूले हाम्रो प्रेमबारे पत्तो पाए । त्यहाँ हामी सँगै हिँडेपछि मात्र बढी चासो राख्न थाले ।’ चार वर्षअघि विवाह गरेका यो जोडीको हाल दुई महिनाको छोरा छ । नाटकबाटै अभिनयको करियर सुरु गरेका उनीहरूले सिनामंगलमा नयाँ नाट्य थिएटरको शुभारम्भ गरिसकेका छन् । सिर्जना र सुलक्षण अभिनयसँगै नाटक निर्देशनमा पनि उत्तिकै अब्बल छन् । उनीहरू समय–समयमा एकापसको कामको मूल्यांकन गर्दै तारिफसँगै कमजोर पक्षको पहिचान गरेर त्यसलाई सुधार्न पनि प्रोत्साहन गर्छन् ।
मण्डलाकै उत्पादन सोमनाथ खनाल पनि नाट्य अभिनयबाटै जीवनसंगिनी पाउने कलाकार हुन् । सन् २०११ मा मण्डला नाटक घरमा नृत्य प्रशिक्षणमा आएकी नम्रता केसीसँगको चिनजान भएपछि सोम र उनी सुरुवातीकालमा असल साथी बने । ‘हाम्रो त्यस्तो घनिष्ट रूपमा प्रेम सम्बन्ध चाहिँ भएन । केबल साथीका रूपमा सामान्य कुराकानी मात्र हुन्थ्यो । मेरो व्यवहार मण्डलाका अन्य समकालिनलाई जस्तै नम्रतालाई पनि हुन्थ्यो,’ सोमले सम्झिए, ‘पछि केही समयका लागि नम्रता नृत्य अध्ययन गर्नकै लागि भारत गएपछि अलिक धेरै गफ हुन थाल्यो । बिस्तारै एकापसमा मनपरापरको अवस्था आएपछि हामीले कम प्रेम धेरै मागी विवाह गर्यौं ।’
गहिरो प्रेम नभएकाले पनि डेटिङमा खासै नगएको सोमले सुनाए । केही फिल्ममा पनि अभिनय गरिसकेका सोम नाटक निर्देशन पनि गर्छन् । मण्डला नाटक घरमा मञ्चन हुने नाटकमा कोरियोग्राफी गर्ने नम्रताको डान्स इनिष्टिच्युट पनि छ । मोरङ बेलबारी घर भएका सोम र सर्लाहीमा जन्मिई काठमाडौंमा परिवारसँग बस्दै आएकी नम्रताले गत वर्षको फागुनमा लगनगाँठो कसेका हुन् ।
मण्डलाकै विकास जोशीले पनि त्यहिँ कार्यरत नवीना अर्यालसँग प्रेम विवाह गरेका छन् । गुरुकुलका सुनिल पोखरेल र निशा शर्मा, प्रवीण खतिवडा र सरस्वती चौधरी, मणि पोखरेल र अरुणा कार्की, एक्टर्स स्टुडियोका अनुप बराल र दिया मास्के पनि अभिनयबाटै बाँधिएका दम्पती हुन् ।
आफू कार्यरत क्षेत्रकै जीवनसाथी पाएपछि जोडीलाई फिल्मसँगै नाटकमा फरक भूमिका भए पनि एउटै पर्दा वा स्टेजमा देखिन सजिलो भएको त छँदैछ । कला क्षेत्रको समस्यालाई बुझेर संघर्ष गर्न पनि उनीहरूलाई असजिलो भएको छैन । एकापसको राम्रो कामको तारिफसँगै अभिनयको कमजोर पक्षलाई सुधार्न पाउने सुझावले उनीहरूको अभिनय निखारिँदै गएको छ ।

प्रकाशित: २५ आश्विन २०७४ ०२:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App