coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

एन्टिगोनी : प्राचीन युनानी समाजको ऐना

एन्टिगोनी चाहन्छे– युद्धमा ज्यान गुमाएका आफ्ना दुवै दाजुको सम्मानजनक अन्त्येष्टि होस्। राजा क्रियोनको आदेश छ– दुई लासमध्ये एउटालाई राष्ट्रिय सम्मानसाथ अन्त्येष्टि गरिओस्। अर्कोलाई त्यसै छाडिओस्, गिद्ध र कुकुरका लागि।

काठमाडौं, अनामनगरस्थित मन्डला थिएटरमा मञ्चन भइरहेको नाटक 'एन्टिगोनी' यही आदेश र अडानमा अल्झेको छ। एउटा लासमाथि एक शासकको विवेक त्यति विघ्न किन बल्झेको होला? प्राचीन युनानी अर्थात् ग्रिसेली नाटककार सोफोक्लिजको एक उल्लेखनीय नाटक 'एन्टिगोनी'को दर्शन दुर्बोध्य छ।

एउटा लासमाथि एक शासकको विवेक त्यति विघ्न किन बल्झेको होला? प्राचीन युनानी नाटककार सोफोक्लिजको एक उल्लेखनीय नाटक 'एन्टिगोनी'को दर्शन दुर्बोध्य छ।

सोफोक्लिजको समय (४९५–४०६ ईशापूर्व) अघि नै युनानी दर्शनले टाउको उठाइसकेको थियो। युनानी दर्शनको सबैभन्दा पुरानो शाखा अर्थात् आयोनिक सम्प्रदायका थेल्स, अनक्सिमन्दर, अनक्सिमेन्स आदि दार्शनिकको मतले मूर्त रूप लिइसकेको थियो। आयोनिक पछिका पाइथागोरस, हेराक्लिट्स आदिका विचारले पनि बाटो बनाइसकेको थियो। भारतीय विद्वान् राहुल सांकृत्यायनले आफ्नो महŒवपूर्ण पुस्तक 'दर्शनदिग्दर्शन' युनानी दर्शनबाटै सुरु गरेका छन्। उल्लिखित युनानी दार्शनिकहरू सृष्टिको मूल तŒव आगो वा पानीलाई मान्थे।

हेराक्लिट्स (४३५–४७५ ईशापूर्व) को विचार थियो– संसार निरन्तर फेरिँदो छ, हरेक चिज दीपशिखाझैँ हरेक क्षण नष्ट र उत्पन्न भइरहेको छ। हरेकपल्ट सृष्टि हुन्छ र अन्त्यमा आगोबाट त्यसको नाश हुन्छ। नाटक एन्टिगोनीमा पनि ज्योतिष टेरेसियाले अग्निदेवतालाई आहुति दिएको प्रसंग आएको छ।

युनानी यथार्थवादी दार्शनिक सोक्रेट्स (४६९–३९९) सोफोक्लिजभन्दा कान्छा हुन्, उनका मौखिक उपदेशले एथेन्स प्रभावित बन्यो। पछि त सोक्रेट्सका शिष्यका रुपमा प्लेटो र एरिस्टोटल आए।

युनानी दर्शन दैनन्दिन दिव्य बनिरहेको बेलाका नाटककार हुन्, सोफोक्लिज। निश्चय नै उनका नाटकमा बेग्लै दर्शन भेटिन्छन्। आदर्श, नैतिकता, नियति अर्थात् भाग्यवाद उनका नाटकका नाभि हुन्।  

सोफोक्लिजको समयसम्म युनानमा नाटक नामी रूखले जरा गाडिसकेको थियो, फूल र फल दिइसकेको थियो। प्राचीन युनानी नाटककारमा सोफोक्लिज अघिका एस्सिलस स्मरणीय छन्।

सोफोक्लिजले जीवनमा सयभन्दा बढी नाटक लेखेको भनिन्छ। तर, केही नाटक मात्रै उपलब्ध छन्। उनका विश्वविख्यात नाटक इडिपस रेक्स र इडिपस एट कोलोनसपछि नाटक एन्टिगोनीको कथा अघि बढ्छ।

राजा इडिपसले सत्ता छाड्ने बेला आफ्ना दुई छोरा एटियोक्लिज र पोलिनिससलाई मिलेर राजकाज चलाउन भनेका हुन्छन्। एटियोक्लिजले पोलिनिससलाई साथ लिन नचाहेपछि सत्ता संघर्ष सुरु हुन्छ र दुवैले ज्यान गुमाउँछन्। त्यसपछि इडिपसका नजिकका नातेदार क्रियोन सत्तामा पुग्छन्। क्रियोनले एटियोक्लिजलाई देशभक्त र पोलिनिससलाई देशद्रोही करार गर्छन्। अनि गर्छन्, लासहरूसँग बेग्लाबेग्लै व्यवहार। उनीहरूकी बहिनी एन्टिगोनी राजा क्रियोनको निर्णयविरुद्ध उभिन्छे।

क्रियोनका छोरा हेमन एन्टिगोनीको प्रेममा परेका हुन्छन्। नाटकको कथावस्तु प्रेम, बलिदानी, विवेकहीनता, नैतिकता हुँदै नियतिको नाउ चढ्छ र डुब्छ। राजाबाहेक रानी युरिडाइस, राजकुमार हेमन र ऐन्टिगोनीले ज्यान गुमाउँछन्। नाटक दुःखान्त छ तर दर्शन बोकेको छ। नाटकमा केही लामा र धेरैजसो गम्भीर अर्थ दिने छोटा–छोटा संवाद छन्।

नाटकले २५ सय वर्षअघिको नियतिवाद वा भाग्यवादले ग्रस्त युनानी राजकीय सत्ता चरित्र र चलखेलको चेहरा बोल्छ। सोमनाथ खनाल र विक्रम परियारले नेपालीमा अनुवाद गरेको नाटकलाई राजन खतिवडाले निर्लेप निर्देशन गरेका छन्।

कलाकारले आफ्नो भूमिका जस्ताको तस्तै निभाउन भरमग्दुर प्रयास गरेका छन्। संवाद, वेशभूषा र अभिनयले कलाकार स्थापित छन्। तर, महत्वपूर्ण र गम्भीर संवाद सम्झने चक्करमा कलाकारले कतैकतै आफ्नो नाटकीय चेहरा र चरित्र भुलेझैँ लाग्छ। निर्देशक खतिवडा भन्छन्, 'हो, संवादलाई सम्पूर्ण भाव र रसमा व्यक्त गर्न कलाकारलाई हम्मे परेको छ। हाम्रोमा यस्ता संवादप्रधान नाटकको अभ्यास कम छ। नाटक सुरु गरिसकेपछि अभ्यास हुँदै आयो, कलाकारले हिजोभन्दा आज राम्रो गर्ने प्रयास गरेका छन्।'

प्रधानपात्र एन्टिगोनीको भूमिकामा छिन्, सिर्जना सुब्बा। राजपरिवारकी सदस्यका रुपमा अडान र साहस भरिएको उनको चरित्र स्थापित छ। वेशभूषा र भावभंगीमार्फत विजय बरालले राजा क्रियोनको चरित्रलाई न्याय गरेका छन्। ज्योतिष टेरेसियाको भूमिकामा सोमनाथ खनाल र प्रहरीको भूमिकामा प्रदीपकुमार चौधरी जमेका छन्। दूतको भूमिका निभाएका उमेश तामाङ पनि नाट्य लयमा छन्।

नाटकमा कोरस अर्थात् सामूहिक कलाकारले बीचबीचमा कथा भन्छन्। प्राचीन युनानी नाटकमा कोरस प्रधान हुन्थ्यो र बेग्लै महŒव राख्थ्यो। किन एक्लो नायकले बोल्नुभन्दा समूहलाई एक स्वर गराउनुमा प्राचीन युनानी नाटककारले शक्ति ठान्थे? यो बेग्लै विश्लेषणको विषय हो। यद्यपि कोरसलाई भन्दा पृथक् चरित्रलाई जोड दिएको श्रेय सोफोक्लिजलाई जान्छ।

नाटकमा कोरसमार्फत घटना र कथाको वर्णन गरिएको छ। कोरसमा अनुप न्यौपाने, मिलन कार्की, पुष्कर कार्की, सुदीप खतिवडा र सागर दाहाल छन्। कोरसबाटै पृथक् रुपमा उभ्याइएकी कोरागस अर्थात् पशुपति राईको अभिनय उम्दा छ। 

कलाकार तथा नाटक अनुवादक  सोमनाथ भन्छन्, 'मूल नाटकमा कोरागस पुरुष पात्र हो, तर हामीले स्त्रीलाई राखेका छौँ। किनभने, कोरागसको कुरा राजाले त्यति सुन्दैनन्, तत्कालीनमा युनानी समाजमा स्त्रीकै कुरा नसुनिने अर्थमा हामीले त्यसो गरेका हौँ।'

विकास जोशीले राजकुमार हेमनको चरित्रलाई न्याय गर्ने कोसिस गरेका छन्। छोरा हेमन र बाबु क्रियोनको संवादले नाटकको आत्मा बोल्छ। राजाको वैचारिक केन्द्रमा 'सत्ता' र राजकुमारको वैचारिक केन्द्रमा 'प्रेम' छ। सत्ता र प्रेमको विचार बुझ्न न्यायप्रेमी दर्शकलाई गाह्रो पर्दैन।

नाटकको सेटमा सिक्रीहरु झुन्ड्याइएको छ, यसलाई समय विवेकहीनताको सिक्रीमा छ भन्ने अर्थ लगाउन सकिन्छ। २५ सय वर्षअघिको प्राचीन कथावस्तुलाई मञ्चमा आधुनिक प्रकाश, ध्वनि र संगीतले नयाँ रुप दिने कोसिस गरिएको छ। मूल कथावस्तुलाई भने सकभर जस्ताको तस्तै प्रस्तुत गरिएको छ। त्यसैले अहिलेको चेतनास्तरसँग नमिल्ने ईश्वरवाद, नियतिवाद नाटकमा हाबी भएको छ। यसमा भने केही फेरबदल गर्न सकिन्थ्यो।

त्यस्तै, केही संवेदनशील घटना मञ्चमा देखाइएको छैन, दूतमार्फत भनाइएको छ। आखिर दुःखान्त नाटक नै थियो, एन्टिगोनीले दाजुको लासलाई अन्तिम संस्कार गर्न खोजेको, रानी युरिडाइस, एन्टिगोनी र हेमनको आत्महत्या मञ्चमा देखाइएको भए नाटक झनै मजबुत हुन सक्थ्यो कि? निर्देशक खतिवडा भन्छन्, 'एक त नाटकको कथावस्तु नै त्यस्तै हो। अर्को, त्यसो गर्न नसकिने होइन, तर हिंसाको दृश्य त्यति राम्रो नहोला भनेर पनि हो।'

नाटकले प्राचीन युनानी समाजमा महिलाको अवस्था र चेतलाई पनि दर्शाएको छ। दुई स्त्री चरित्र एन्टिगोनी र इस्मेनीले तत्कालीन समयसँगको विद्रोह चेत र यथास्थितिले गाँजेको मानसिकता बोल्छन्।

दिदी एन्टिगोनी राजाज्ञाविरुद्ध जाने साहस गरेकी छे भने बहिनी इस्मेनीमा तत्कालीन समाज, नियम र परिस्थितिविरुद्ध जाने हिम्मत हुँदैन। यद्यपि घटना, समय र चेतनाले इस्मेनीलाई पनि एन्टिगोनीसँगै उभ्याउँछ। इस्मेनीको भूमिकामा रञ्जना ओलीको अभिनय कमजोर लाग्दैन।

निश्चय नै एन्टिगोनी नेपाली रंगमञ्चमा एउटा प्रयोग हो। यसले प्राचीन युनानी समाज र नाट्यसूत्रलाई पनि बहसमा ल्याएको छ। नेपाली दर्शकलाई फरक स्वाद दिएको छ।

प्रकाशित: ३१ असार २०७४ ०५:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App