coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

किन छापिँदैनन् नाटकका पुस्तक ?

काठमाडौं- नेपाली समाजमा एक समय सडकमा देखाइने कचहरी नाटकको संख्या औलामै गन्न सकिन्थ्यो। त्यसअघि यस्ता नाटक किताबमै सीमित थिए। बालकृष्ण समको कालखण्डअघि यस्ता नाटक दरबारको नीजि सम्पत्तिका रुपमा थिए। समले नाटक लेखेर आफै मञ्चन गर्न थालेपछि जनताका आँखाले पनि नाटक देख्न थाले। अहिले थिएटरको मञ्चमै नाटक हेर्न पुग्ने दर्शकहरु बढ्न थालेका छन्। राजधानी काठमाडौंमा मण्डला थिएटर, शिल्पी थिएटर, सर्वनाम थिएटरलगायत झण्डै आधादर्जन थिएटरमा नाटक मञ्चन हुन्छन्।

एकदिन एउटा मान्छे ‘म प्रकाशक हुँ, नाटक छाप्न चाहन्छु’ भन्दै अशेष मल्ल कहाँ पुगे। मल्ललाई अचम्म लाग्यो। उनलेे नाटक पढ्नेभन्दा हेर्ने समय आएकोले बेकारमा खर्च नगर्न आग्रह गरे।  तर, प्रकाशकले अड्डी छाडेनन्। ‘म तपाईंलाई सम्मान गर्न कै लागि त्यो नाटक छाप्न चाहन्छु। छापिएपछि त्यो बिक्री होस् नहोस् मतलब छैन।' नाटक छापियो पनि तर मल्लको अनुमानमा प्रकाशकले पुस्तकबाट घाटै खाए।

मल्लका अनुसार लेखकलाई सम्मान दिने मनसायले मात्र नाटकका पुस्तक छापिन्छ। ‘अरु साहित्यको तुलनामा कम बिक्ने विधा हो नाटक,’ मल्लले भने ,‘कारण दृश्य विधा हो, मन्चनसँग सम्बन्धित छ, उपन्यास, कथा, आख्यान जस्तो पढ्दा खेरी पाठकलाई रमाइलो लाग्दैन।’ तर नाटकका पुस्तक नछापिएकै भने हैन। उनले थुप्रै छापिएको बताउँदै समको नाटक पाठ्यक्रममै भएकाले पनि त्यो बिक्रि हुने बताए।

पुस्तकमै भएका नाटक नेपाली नाट्यकर्मीको आँखामा नपरेको उनी औंल्याउँछन्। नेपालको पहिलो नाटक लेखक पहलमानसिंह स्वाँरको 'अटलबहादुर' हो। यसले पनि एकसय बर्ष बढीको इतिहास नेपाली नाटक क्षेत्रको देखाउँछ। बालकृष्ण सम, भिमनीधि तिवारी, विजय मल्ल, विप्लव ढकाललगायतका पुराना लेखकले राम्रा नाटक पुस्तकमा उतारेको स्मरण उनले गरे। ‘विदेशसँग टक्कर लिने नाटक छन् तर दुर्भाग्य रंगकर्मी अध्ययन गर्दैनन् ,’मल्लले भने,‘ विदेशी नाटक गर्नु अपराध हैन तर नेपाली राम्रा नाटक पाइएन भन्न पाइदैन म नै एकसय वटा नाटक भर्खरै दिनसक्छु।’ मल्लले चलाउने सर्वनाम थिएटरमा विदेशी नाटक अनुवाद  नगरिने उनले सुनाए। नेपाली जनजीवनमा रहेका लोक कथालाई नाटकको रुपमा रुपान्तरण गर्ने हो भने सय वर्षलाई पुग्ने नाटकको विषय हामीसँग भएको उनले बताए। अझ तिनलाई अनुवाद गरेर पश्चिमा संसारमा लैजाने हो भने त्यता पनि यस्ता नाटक रुचाइने मल्ल बताउँछन्।

मण्डला थिएटरमा गत वर्ष झण्डै दशवटा नाटक देखाइए। अधिकांश नाटक नेपाली थिए। तर, ती मध्ये अधिकांश कथा वा उपन्यासबाट सापटी लिइएका थिए।  ‘अधिकांश नेपाली नाटक नै मञ्चन भैरहेका छन्,’मण्डला थिएटरका राजन खतिवडाले भने, ‘दशप्रतिशत जति विदेशी अनुवादका नाटक हुन्छन्।’ उनका अनुसार अमेरिकन लेखकले लेखेको 'टुवेल्भ एंग्रीम्यान'बाट 'बाह्र दुर्वासा', बुद्धी तामाङले निर्देशन गरेको 'योजना पार्क'लगायतका नाटक विदेशीबाट एडप्ट गरिएका नाटक हुन्।

नेपालीमै लेखिएका नाटकका पुस्तक नपाएकै कारण नेपाली नाटक बढी नगरिने खतिबडाको दाबी छ। लेखिएकामा पनि खोजेका कुरा नभेटेपछि विदेशी नाटकतिर आफूहरु बढी आकर्षित हुनुपरेको उनले बताए। उनले आर्थिक कारणले पनि लेखकहरु नाटक लेखनमा उदासिन रहेको बताए। ‘नाटकले उपन्यासले जस्तो तत्काल पाठकलाई रमाइलो दिन सक्दैन, हाम्रा मूल्यमान्यतालाई हेर्छ अनि दिर्घकालिन बाटो पहिल्याएको हुन्छ ,’खतिवडा अनुमान गर्छन् ,‘त्यसैले पनि नाटक किताबमा आउन नसकेको होला ।’

नयाँ पुस्तालाई अभिनयसँगै नाट्यकर्म सिकाउने टंक चौलागाँइ पनि नेपालीमा खोजेजस्तो  नाटक उपलब्ध नभएको सुनाउँछन्। निर्देशकले यस्तो विषय जति छिटो विदेशी नाटकमा फेला पार्छन् उती सहज रुपमा नेपालीमा नभेट्ने गरेको अनुभव उनले गरेका छन्। पछिल्लो पटक टालाटुली उपन्यास निस्केपछि चौलागाईंले यस्तो महसुस गरे। ‘नाट्यकर्र्ममा रमाएको मान्छे नाटक नलेखेर किन उपन्यास लेखे होला भनेर सोचे,’उनले भने ‘मञ्चनका लागि लेखिएका नाटक पुस्तककै रुपमा पनि छापेको भए हुन्थ्यो तर प्रकाशक पाउन गाह्रो थियो।’ नाटकका लागि टंकसँग झण्डै तीसवटा विषय छन्। तर, किताबै निकाल्नका लागि प्रकाशक नपाएको उनले बताए। सरुभक्त, विजय मल्ल, बालकृष्ण सम, मनबहादुर मुखियाले लेखेका नाटक पनि पुनः प्रकाशन गरेर चर्चामा ल्याउन सके नाटकको कमी पूरा गर्न सकिने उनको ठम्याइ छ। 

फाइन प्रिन्टका प्रकाशक अजित बरालले अहिलेसम्म नाटकको किताब नछापेको उल्लेख बताए। ‘नाटक पढिने भन्दा पनि मञ्चन हुने हो । पाठकले खासै रुचाएको पाएका छैन ,’ बराल भन्छन् ,‘त्यै पनि राम्रा नाटक लिएर छाप्ने भनेर कोही आएकै छैन।’

अरु विधाभन्दा नाटक विधा पुस्तकमै त्यति आउने खालको विषय नभएको उनले बताए।  ‘ सेक्सपियरकै नाटक पनि पछि पुस्तकाकारमा आएका हुन् ,’ बरालले भने। उनको प्रकाशन गृहले  अहिलेसम्म बढी छापेको विधा उपन्यास हो। तर, राम्रो विषयमा आए नाटक छाप्न पनि कुनै अप्ठेरो नभएको बताए। ‘सबै विधालाई हाम्रो बराबर सम्मान छ। तर, जुनसुकै विषय पनि गुणवत्ता हेरेर छाप्ने हो,’बरालले सुनाए। 

प्रकाशित: २६ जेष्ठ २०७४ ०३:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App