११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

त्रिशूलीमा उत्ताल तरंगसँगै

त्रिशूलीमा र्याफ्टिङ गर्दै स्वदेशी पर्यटक । तस्बिरः शिवहरि घिमिरे

धादिङको बेनीघाटबाट अलि तल एउटा सुन्दर बस्ती देखिन्छ, मालिंगा । मालिंगाको छेउ हुँदै बगेको त्रिशूली नदीमा मानिसहरू र्याफ्टिङमा रमाइरहेका देखिन्थे । लाइफ ज्याकेट (पानीमा डुब्न नदिने कपडा) को सहारामा कोही पानीमा डुबुल्की मार्दै थिए, कोही प्याडल हाल्दै डुंगाको सहायतामा नदीमा तलमाथि बग्दै थिए । यो अघिल्लो बिहीबार धादिङ बेनीघाट पुग्दा देखिएको दृश्य हो । र्याफ्टिङ गर्नका लागि राजधानीलगायत बाहिरी जिल्लाबाट आन्तरिक पर्यटक र विद्यार्थी यहाँ आएका थिए । पहिलो पटकपटक र्याफ्टिङ अनुभव संगाल्न आएका पर्यटकहरू रमाइरहेका थिए । यस्तै पहिलो अनुभव संगाल्दै थिइन्, भक्तपुर कमलविनायककी अनिता श्रेष्ठ । साहसिक खेल र्याफ्टिङमा आफ्नो पहिलो अनुभव रमाइलो र अविश्मरणीय रहेको उनले सुनाइन । उनी भन्छिन्, ‘सुरुमा त निकै डर लागेको थियो तर त्यति डरलाग्दो खेल रहेनछ भन्ने खेलेपछि मात्रै थाहा भयो । फेरि केही भइहाल्यो भने उद्धार टोली पनि हुँदा रहेछन् ।’ 

उनीसँगै काठमाडौंबाटै र्याफ्टिङ अनुभव संगाल्न गएका रोविन श्रेष्ठ पनि उत्साहित देखिन्थे । ‘र्याफ्टिङ खेलबारे धेरै सुनेको थिएँ, तर अनुभव गर्न पाएको थिइनँ,’ उनी भन्छन्, ‘अलिअलि जोखिम नभएको खेल खेल्न मजै आउँदैन, गाइडले भने बमोजिम मान्ने हो भने कुनै डर र त्रास हुँदैन रैछ ।’

गर्मीयाम सुरु भएयता त्रिशूलीमा र्याफ्टिङ गर्नको भीड लागेको छ । पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक पानीमा रमाउन र साहसिक खेल्नका लागि यहाँ आउने गर्छन् । यसरी आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्दै गएको र्याफ्टिङ गाइड बताउँछन् । गर्मी मौसममा आफूलाई ठन्डा बनाउन र काठमान्डुको धुलो, धुवाँदेखि केहीबेर पर रहन चाहनेहरू याफ्टिङको मज्जा लिन आउने गरेको गाइड कृष्ण डल्लाकोटीले बताए । उनका अनुसार अहिले विदेशी भन्दा पनि नेपाली नै बढी याफ्टिङप्रति आकर्षित देखिन्छन् । ‘अहिले यहाँ नेपाली र विदेशी गरी दिनमै ५० देखि सयजनासम्म नियमित याफ्टिङका लागि आउँछन्,’ उनले भने, ‘हिजोआज चाइनिज पर्यटक पनि याफ्टिङका लागि आउन थालेका छन् ।’ त्रिशूलीमा पर्यटकले करिब २७ किमिसम्म र्याफ्टिङको मज्जा लिन सक्छन् । मालिंगाबाट सुरु भएको र्याफ्टिङ यात्रा जबंखोलामा गएर टुंगिन्छ । र्याफ्टिङ यात्रामा गाइडले विभिन्न छाल, चट्टानको नाम र दृश्य देखाउँदा, ती दृश्य आफ्नो क्यामेरामा कैद गर्दा पर्यटक रमाएका देखिन्थे । र्याफ्टिङका क्रममा अहिलेसम्म कुनै घटना नभएको अर्का र्याफ्टिङ गाइड मिथुन क्षेत्रीले बताए ।

क्षेत्रीका अनुसार अहिले नेपालमा र्याफ्टिङ गराउने सयभन्दा बढी कम्पनी रहेको र्याफ्टिङ गाइड मिथुन क्षेत्रीले बताए । ‘अहिले यो व्यवसाय फस्टाउँदै गएको छ,’ उनी भन्छन्, ‘यदि यसलाई व्यावसायिक रुपमा प्रवद्र्धन गर्दै जाने हो भने यसबाट विदेशी पर्यटकहरू तान्न सकिन्छ ।’ 

पहाडको काखमा रहेको त्रिशूली नदीमा याफ्टिङ गराउने कार्यलाई त पछिल्लो समय व्यावसायिक रुपमा समेत विकास गरिएको छ । जसकारण त्यस वरपर होटलले राम्रो आम्दानी गरिरहेका छन् । त्रिशूलीमा याफ्टिङका क्रममा देखिएका दृश्य पर्यटकले अन्य क्षेत्रमा पनि पुर्याउने गरेका छन् । अघिल्ला वर्ष महिनामा एक–दुई टोलीले मात्र र्याफ्टिङ गर्ने गरेकामा हाल दैनिक र्याफ्टिङ हुन थालेको छ ।

यस्तो साहसिक खेलका लागि भने गाइडको संख्या एकदमै कम भएको व्यवसायी बताउँछन् । यसअघि कृष्ण गुरुङ, वसन्त राई, हरि राई लगायतले ¥याफ्टिङका क्षेत्रमा लाग्नेलाई तालिम दिँदै आएका थिए । तर, त्यो क्रम घटेको व्यवसायीको भनाइ छ । 

‘पछिल्लो समय यो व्यवसाय फस्टाउँदो छ, अहिले जापान, पाकिस्तान, अमेरिका, चीन, स्विडेनलगायत देशबाट र्याफ्टिङका लागि पर्यटक आउने गरेका छन्,’ धादिङको मालिंगामा र्याफ्टिङ व्यवसाय गर्दै आएका उद्धव कँडेलले भने, ‘हिजोआज यहाँका होटल पर्यटकले भरिभराउ हुन्छन् ।’ 

उनले अहिले र्याफ्टिङ व्यवसायको मध्य सिजन रहेको र  राम्रो सेवा–सुविधा दिन सके पर्यटक तानिने र राष्ट्रलाई नै फाइदा हुने बताए । ‘सरकारले पनि यो व्यवसायलाई उकास्ने किसिमका कार्यक्रम ल्याउन जरुरी छ,’ उनले भने । 

त्रिशूलीमा पहिलोपटक र्याफ्टिङ यात्रा अमेरिकन नागरिक माइकल एगेर र बेलायतका कर्नल जुनब्लास्फोर्डले सुरु गरेका थिए । र्याफ्टिङ गाइड क्षेत्रीका अनुसार उनीहरूले सन् १९७० मा र्याफ्टिङका सामान (लाइफ ज्याकेट, हेलमेट, प्याडल, बोट) लगायत सामान बाहिरबाटै ल्याएका थिए । ‘त्रिशूलीमा पहिलो र्याफ्टिङका क्रममा अमेरिकन नागरिक माइकल एगेर दुर्घटनामा परेका थिए,’ क्षेत्री भन्छन्, ‘त्रिशूलीमा पहिलो साहसिक खेल र्याफ्टिङ छाल र चट्टानमा ठोक्किँदा माइकल एगेरको नाक भाँच्चिएको थियो, उनी दुर्घटना परेका कारण उक्त छाल र चट्टानको नाम अहिले पनि माइकल एगेर नै छ।’ 

 

प्रकाशित: १३ जेष्ठ २०७४ ०४:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App