coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

‘असन्तुष्टि नै अगाडि बढ्ने प्रेरणाको स्रोत हो’

केकी अधिकारीले १६ वटा नेपाली चलचित्र र पाँच सयभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेकी छन् । स्नातकोत्तर उनी नेपाली चलचित्र जगत्मा बौद्धिक अभिनेत्री मानिन्छिन् । उनै केकीलाई सात सवाल :  
 
काम कस्तो चलिरहेछ ?
भर्खरै मैले अभिनय गरेको चलचित्र घामपानी रिलिज भयो, व्यावसायिक हिसाबले पनि राम्रै भयो, राम्रो प्रशंसा पनि पाइरहेकी छु । अहिले चलचित्र ऐश्वर्या र राज्जारानीको डबिङमा व्यस्त छु । कामले गति लिइरहेकै छ भनौँ । खुसी छु, नाट्यश्वरीको आशीर्वादले काम गर्नु पाइरहेकी छु ।

आफूले गरिरहेका फिल्मबाट सन्तुष्ट हुनुहुन्छ ? किन ? 
सन्तुष्टि गाह्रो शब्द हो जस्तो लाग्छ, काम गर्नुपरिरहेकामा एक हिसाबले सन्तुष्ट छु । तर, सोचे र चाहेजस्तो काम अझै गर्न पाएकी छैन । त्यसैले असन्तुष्ट छु । असन्तुष्टि नै अगाडि बढ्ने प्रेरणाको स्रोत हो । त्यसैले असन्तुष्ट भएकामा खुसी छु ।

कस्ता फिल्म खेल्न चाहनुहुन्छ ? 
त्यस्ता फिल्म खेल्न चाहन्छु, जुन सधैँभरि हेर्न लायक होस् । जसबाट भावी सन्ततिले पनि धेरै कुरा सिक्न पाऊन् । जुन फिल्मको नाम लिँदा म गर्व महसुस गरुँ ।

अभिनय र फिल्मसम्बन्धी सिकाइ वा अध्ययन आवश्यक छ कि छैन ? तपाईंको सम्बन्धमा ?
अध्ययन जहिले पनि आवश्यक हुन्छ । किताबी डिग्रीभन्दा पनि सधैँ सिकिरहन चाहन्छु । आफ्नो अनि अर्काको काम गराइबाट आफूमा परिवर्तन ल्याउनु अध्ययन नै हो । म पनि हरेक दिनको काम र अनुभवबाट सिकिरहेकी छु ।

व्यावसायिक र सामाजिक मूल्यको कसीमा अहिले नेपाली फिल्म क्षेत्र कुन अवस्थामा भएजस्तो लाग्छ ?
अहिले नेपाली चलचित्र सही बाटो समात्न खोजिरहेको संक्रमणको अवस्थामा छ । आशा गर्न सकिने अनि भविष्य सुनौलो हुन सक्ने प्रबल लक्षण अहिलेको अवस्थाले देखाएको छ ।

नेपाली फिल्मको धार, केन्द्र वा भाषा बनेको छ कि छैन ? कस्ता फिल्मलाई मूलधारको फिल्म भन्ने ?
अझै बनिसकेको छैन । तर, निरन्तर त्यसको खोजीमा छौँ । प्रयासरत छौँ, आफ्नो पहिचान खोज्ने बाटोमा छौँ । जे चलिआएको छ, अनि जे चिजलाई बढी अनुशरण गरेर जति धेरै चलचित्र बन्छन्, त्यही नै मूलधारका चलचित्र हुन्छन् । अहिले भनिएकै फरक धार पनि धेरै पछ्याइयो भने मूलधार बनिदिन्छ ।

जहाँ समाज वा बस्ती, व्यापार हुन्छ, त्यहाँ रुढी, विसंगति र फोहोर पनि उत्पादन हुन्छ । नेपाली फिल्म क्षेत्रले पनि कुनै सामाजिक फोहोर उत्पादन गरेजस्तो लाग्दैन ? 
त्यस्तो भनिहाल्न मिल्दैन । चलचित्र भनेको एउटा माध्यम हो– समाज दर्शाउने वा समाज यस्तो हुनुपर्छ भनेर परिकल्पना गर्ने । जति चलचित्रकर्मीले इमानदारीसाथ समाजको सकारात्मक परिवर्तन चाहेर चलचित्र बनाउनुभएको छ, ती चलचित्रले फोहोर हटाएर सफाको कल्पना गरेको हुन्छ । तर, जुनमा इमानदारिता नै छैन, त्यो मेरो विचारमा समाजको ऐना होइन । जाने–बुझेका व्यक्ति त्यस्तो चलचित्र बनाउँदैनन् तर संसारका हर ठाउँमा विभिन्न खालका चलचित्र बन्छन् र बनिरहन्छन् । हामीले कस्तो चलचित्र हेर्ने अनि कस्तो सोच राख्ने भन्ने कुरा मुख्य विषय हो ।

प्रकाशित: १३ जेष्ठ २०७४ ०३:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App