६ वैशाख २०८१ बिहीबार
कला

चार चलचित्र पत्रकार पुरस्कृत

काठमाडौं- चलचित्र पत्रकारितामा सक्रिय चार चलचित्र पत्रकारलाई आइतबार राजधानीमा सम्मान तथा पुरस्कार प्रदान गरिएको छ। चलचित्र पत्रकार संघ, नेपालले संस्था स्थापनाको १८ औं वार्षिकोत्सवको अवसर पारेर उनीहरूलाई सम्मान तथा पुरस्कार दिएको हो।

संघले यस वर्ष रेडियो नेपालका पत्रकार नवराज लम्साललाई 'राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०७३'बाट सम्मानित गरेको छ। साहित्यिक कार्यक्रमका लागि लम्साल भारतमा रहेपछि उनको सम्मान श्रीमती संगीताले लिएकी थिइन्। त्यस्तै सगरमाथा टेलिभिजनका पत्रकार पारस पौडेल र अनलाइनखबर डटकमका पत्रकार विजय आवाज सुवेदीलाई 'चलचित्र पत्रकारिता पुरस्कार २०७३' प्रदान गरिएको थियो। लम्सालले सम्मानपत्रसहित ट्रफी पाउँदा पौडेल र सुवेदीले जनही २१ हजार रुपैयाँ र ट्रफी पाए। यस्तै संघले 'चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०७३'बाट पहिलोपोष्ट डटकमकी पत्रकार स्वेच्छा राउतलाई पुरस्कृत गरेको थियो। स्वेच्छाले ल्यापटपसहित ट्रफी पाइन्।

उनीहरूलाई नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्ट, हास्य कलाकार हरिवंश आचार्य, संघका अध्यक्ष सन्दिप सापकोटा, पूर्व अध्यक्षद्वय विदुर गिरी र भरत शाक्यले पुरस्कार र सम्मानपत्र प्रदान गरेका थिए। सम्मान र पुरस्कार दिइनुअघि पत्रकारको बारेमा तयार पारिएको वृत्तचित्र देखाइएको थियो।

कार्यक्रममा कलाकार आचार्यले कलाकार र चलचित्र पत्रकारिताको सम्बन्ध नङ र मासुको जस्तै भएकाले दुवैले संयमित भएर काम गर्नुपर्ने बताए। 'अहिले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्‍याउनका लागि पत्रकारिता क्षेत्रको योगदानलाई भुल्न मिल्दैन,' हरिवंशले भने, 'बलिउडको बाहुबली नेपालमा हिट भयो भन्ने समाचारलाई नेपाली मिडियाले प्राथमिकता दिइरहँदा चाँडै नै नेपाली फिल्म पनि अन्तर्राष्ट्रिय क्षेत्रमा हिट भयो भन्ने समाचार पढ्न पाइयोस्।'

संघका अध्यक्ष सापकोटाले संस्थाले आगामी दिनमा फरक किसिमले वार्षिकोत्सव मनाउने बताए। कार्यक्रममा लामो समयदेखि अस्वस्थ रहँदै आएका कलाकार दीपक क्षेत्रीलाई संघको पहलमा संकलित ७ लाख ३ हजार ३ सय ५७ रुपैयाँ हस्तान्तरण गरिएको थियो। क्षेत्रीले संघको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै प्राप्त सहयोगले आफ्नो स्वास्थ्यमा सुधार ल्याउन मद्दत पुग्ने।

प्रकाशित: ८ जेष्ठ २०७४ ०४:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App