५ वैशाख २०८१ बुधबार
कला

नृत्यबाट 'नमस्ते काठमान्डु' सार्वजनिक

काठमाडौं- सञ्चारकर्मी तथा फिल्म निर्देशक डब्बु क्षत्रीले लेखेको कथा संग्रह 'नमस्ते काठमान्डु' शनिबार सार्वजनिक भएको छ। राजधानीको सर्वनाम थिएटरमा आयोजित कार्यक्रममा सर्वनामका कलाकारले कथामाथि बनेको गीतमा नृत्य गर्दै पुस्तक सार्वजनिक गरे।

यौनवादी कथाहरू संग्रहित पुस्तक सार्वजनिक गरिएपछि लेखिका जया ओझा, नायिका तथा निर्मात्री ऋचा शर्मा, समीक्षक यज्ञश र लेखक क्षेत्रीले पुस्तकका विषयमा अन्तरक्रिया गरेका थिए। अन्तरक्रियामा लेखिका जयाले यौनका विषयमा धेरैले लेख्ने गरे पनि ती साहित्य पढ्दा पाठकको यौनप्रति वितृष्णा र चाहना दुवै जाग्ने गरेको बताइन्। 'तर, डब्बुको लेखनमा यी दुवै कुरा महसुस हुँदैन। यी दुवैको बीचमा रहेर उनले कथा लेखेका छन्,' जयाले भनिन्।

कला समीक्षक यज्ञशले समाजमा देखिएका पात्रको यौन मनोभावना मिसाएर डब्बुले कथा लेखेको बताए। 'यौनको वर्गीकरण गरेर लेखकले कथा लेख्नु राम्रो पक्ष हो,' उनले भने, 'पत्रकारले लेखेका कारण पुस्तकमा साहित्यभन्दा पनि पत्रकारिताको स्वाद बढी पाइन्छ।'

नायिका ऋचाले पुस्तकमा उल्लेखित घटना र पात्र आफूले समाजमा देख्दै आएकाले ती पात्रको रूपमा अभिनय गर्न आफूलाई चुनौती हुने बताइन्। उनले आफ्नो फिल्म 'आधा लभ' र पुस्तकका कथामा समानता पाएको जनाइन्।

लेखक क्षत्रीले पुस्तकका कथालाई यौन अश्लीलता नभएर यौन विद्रोहको रूपमा बुझ्न आग्रह गरे। 'समाजमा जे देखेको हो, त्यही घटनालाई कथामा बुनेको मात्र हुँ,' उनले भने। अन्तरसंवादको लेखक सचिन घिमिरेले सहजीकरण गरेका थिए।

पुस्तक सार्वजनिक हुने कार्यक्रममा प्रस्तुत 'नमस्ते काठमान्डु' बोलको गीतमा जुगल डंगोलको संगीत र सन्देश पाठकको स्वर छ। कलाकारको कोरियोग्राफी राज शाहले गरेका हुन्।

प्रकाशित: ८ जेष्ठ २०७४ ०४:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App