३१ असार २०७७ बुधबार
कला

‘मैले सिकेको, बुझेको र सम्मान गरेको क्षेत्र हो नाटक’

सिर्जना सुब्बा मन्डला थिएटर संस्थापकमध्ये एक हुन् । ०६२ देखि नेपाली रंगमञ्चमा सक्रिय उनले एक वर्षअघि निर्देशन गरेको नाटक ‘युमा’ सफल रह्यो । सिर्जनाले ३० वटाजति नाटक र आधा दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरेकी छन् । व्यावसायिक रुपमा सफल चलचित्र लुटमा उनले निभाएको ‘पुतली’को भूमिका दर्शकले खुबै पराए । सन् २०१६ मा अमेरिकामा भएको क्विन्स फिल्म फेस्टिभलमा चलचित्र ‘डाइङ क्यान्डल’मार्फत् सिर्जना उत्कृष्ट अभिनेत्रीको नोमिनेसनमा परेकी थिइन् । उनै सिर्जनालाई सात सवाल :
 
अचेल के गर्दै हुनुहुन्छ ?
अहिले आफैँ नाटक निर्देशन गर्नेबारे छलफलमा छु । मन्डला थिएटरबाट छिटै पुरानै नाटक दोहो¥याउँदै पनि छौँ, त्यसको तयारीको कुरा भइरहेको छ । मेरो सानो व्यापार छ, एउटा मन्टेस्सोरी स्कुल । त्यसमा पनि समय दिइरहेकी छु ।  

तपाईंको बुझाइमा नाटक के हो ?
नाटक सामान्यतः मञ्चमा गरिने अभिनय नै हो । समाजले जन्माएको वा निर्माण गरेको विभिन्न चरित्रलाई नाटकमा देखाइन्छ । यसले हामीलाई फरक–फरक समाज र पुस्ता बुझ्न सिकाउँछ । समाजका विविध पक्ष बुझ्न सघाउँछ । नाटकले हामीलाई हाम्रा कमजोरी देखाउँछ र त्यसलाई सुधार गरेर असल मान्छे बन्न प्रेरित गर्छ । 
अर्को कुरा नाटक समाजको ऐना हो । यसमा समाज देखिन्छ । देखिएको समाजलाई कसरी बुझ्ने वा लिने भन्ने व्यक्तिमा भर पर्ने कुरा हो ।

तपाईं नाट्य क्षेत्रमा काम किन गर्दै हुनुहुन्छ ?
मैले सिकेको, बुझेको, अलिअलि जानेको र सम्मान गरेको क्षेत्र हो नाटक । यो नै मेरो वर्तमान हो र भविष्य पनि । गला भएको मान्छेले गाउँदा आनन्द मानेजस्तै मलाई नाटक गर्दा आनन्द हुन्छ । सायद यसैले म यो क्षेत्रमा लागेकी मात्रै होइन, टिकेकी पनि छु । 

नाटकले समाजलाई के दिन्छ ?
 जादुको छडी चलाएजस्तो नाटकले तुरुन्तै केही दिने वा कुनै पनि परिवर्तन गर्ने भन्ने होइन । नाटकको कथा र चरित्रले समाज देखाउँछ । त्यसले देखाएको समाज वा चरित्रलाई दर्शकले पर्गेल्न सक्छन् । नाटकले समाज वा व्यक्तिको अँध्यारो पक्ष देखाएको छ भने दर्शकले त्यसमा उज्यालो ल्याउनेबारे सोच्न सक्छन् ।
त्यस्तै, नाटक वा कलालाई कसैले मनोरञ्जनको रुपमा लिन्छ भने उसका लागि यो उपचार हुन्छ । नाटक हेरेर ऊ हाँस्छ, रुन्छ र आफूलाई ताजा महसुस गर्छ ।  

अहिले नेपाली नाटकको अवस्था कस्तो हो ?
 दश वर्षअघिको तुलनामा अहिले नेपाली नाट्य क्षेत्र एकदमै राम्रो हो । फेरि पनि हामी साँघुरिँदै छौँ । हामीले मञ्चन गर्ने घरहरू बन्द हुँदै छन् ।
एक वर्षअघि थियटर भिलेज बन्द भयो, अर्को नाटकघर पनि बन्द हुँदै छ भन्ने सुन्दै छु । यो हामी सबै रंगकर्मी र यसलाई माया गर्नेहरूका लागि दुःखको कुरा हो । 
सुन्दर समाज बनाउन धेरै कुरा चाहिन्छ, त्यसमध्ये एक नाटक र नाटकघर पनि हो । रंगकर्मीले यसमा व्यक्तिगत र सामूहिक रुपमा धेरै नै प्रयत्न गरेका छन्, आफैँ नाटक तयार गरेर मञ्चन गरेका छन् । अहिलेको यो माहोल र ऊर्जालाई बचाउन हामी सबै लाग्नुपर्छ ।
विकसित राष्ट्रका सहरहरूमा नाटकघर हुन्छ नै । हाम्रो राजधानीमा सरकारी स्तरको नाचघर छ । तर, त्यसमा भाडा तिरेर नाटक देखाउँदा उल्टै घाटा खानुपर्ने अवस्था छ । देशमा विभिन्न सहरमा नाटक पु¥याउन राज्यले पनि भूमिका खेल्नुपर्छ।
 
नाटकबाट आएकाहरू फिल्म क्षेत्रमा सफल भएका देखिन्छन्, नेपाली नाट्य क्षेत्र फिल्म खेल्ने खुड्किलो मात्रै बन्दै हो कि ?
 झट्ट हेर्दा यस्तै देखिन्छ र हो पनि । मान्छेलाई सपना देख्ने र सकारात्मक उद्देश्य लिने स्वतन्त्रता छ । कसैले नाटकबाट उदाएर फिल्मी क्षेत्रमा जम्ने चाहना राख्न र त्यसरी अघि बढ्न सक्छ । तर, कुनै चिज उक्लने खुड्किलो बन्छ भने त्यसले ओर्लन पनि सघाउँछ भनेर बुझ्न आवश्यक छ ।
निरन्तरता महत्वपूर्ण कुरा हो । हामी जुन क्षेत्रमा लागेका छौँ, त्यसमा सफल हुन निरन्तरता र लगाव चाहिन्छ । नाटकलाई फिल्म क्षेत्रमा जाने खुड्किलो बनाउने मात्रै छैनन्, यसमा जमेकाहरू पनि छन् । सुनील पोखरेल, अनुप बराल, अशेष मल्ल, वीरेन्द्र हमाल, सरिता गिरि, पशुपति राई, राजन खतिवडा, भोला सापकोटा, राजकुमार पुडासैनी लगायतलाई मैले प्रायः रंगमञ्चमै भेटिरहेकी छु । 

व्यक्तिगत प्रसंग, घरजम र कलाकारिताबारे केही सोच्नुभएको छ कि ? कस्तो जीवनसाथी चाहनुहुन्छ ?
 सोचेकी छु, सोचेजस्तो भेटिँदैन भन्ने पनि बुझेकी छु । अघि पनि भनेँ, मैले सिकेको र बुझेको क्षेत्र रंगमञ्च नै हो । कुनै पनि सम्झौतामा म यो क्षेत्र छाड्न सक्दिनँ । विवाहपछि पनि म यो क्षेत्रमा सक्रिय हुन्छु । अहिले जति नै सक्रिय हुन्छु चाहिँ भन्न सक्दिनँ, त्यो परिस्थितिको कुरा पनि हो । जेहोस्, जीवनसाथी मेरो क्षेत्र, पेसालाई सम्मान गर्ने नै होस् । 
 

प्रकाशित: ६ जेष्ठ २०७४ ०९:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App