coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

गीतकार अधिकारीको दोस्रो कृति सार्वजनिक

काठमाडौं– कवि तथा गीतकार दिनेश अधिकारीको कृति ‘भरियाको भूगोल’ सार्वजनिक भएको छ । राजधानीमा शुक्रबार आयोजित ‘पलेँटी’ शृंखलामा अधिकारीले आफूभन्दा पछिल्लो पुस्ताका कवि श्रवण मुकारुङलाई पुस्तकको पहिलो प्रति हस्तान्तरण गर्दै सार्वजनिक भएको घोषणा गरेका हुन् ।

२०५१ सालमा अधिकारीलाई साझा पुरस्कार दिलाउने ‘इन्द्रजात्रा’ पछिको ‘भरियाको भूगोल’ दोस्रो कृति हो । पुस्तक सार्वजनिक भएपछि मुकारुङले गद्य कविताको मामिलामा दिनेश अधिकारीको नाम सबैभन्दा अगाडि आउने गरेको बताए।

अधिकारीले २०५६ सालमा ‘अतिरिक्त अभिलेख’का निम्ति मदन पुरस्कारसमेत पाएका थिए । कवितासँगै गीत लेखनमा पनि सिद्धहस्त अधिकारीका थुप्रै गीत कालजयी छन् । ‘पलेँटी’ शृंखलामा गायकगायिकाले उनका थुप्रै कालजयी गीत सुनाए

कार्यक्रमको प्रारम्भ नारायणगोपालले गाएका ‘यो सम्झिने मन छ’ बाट भएको थियो । पछिल्लो समय ‘ठमेल बजार’ गीतबाट चर्चामा आएकी पलेँटीकी पुरानो गायिका मिनाले उक्त गीत सुनाएकी थिइन् ।

‘नारायण दाइको अनुरोधअनुसार ४१ सालमा बैतडीबाट यो गीत पठाएको थिएँ,’ रचनागर्भ खोतल्दै अधिकारीले भने, ‘सरुवा भएर ४४ सालमा कलैया पुग्दा दाइले पठाई दिनुभएको गीत रेकर्डको चक्का सुनेर रमाउन पाएँ ।’

त्यसपछिको पालो थियो भक्तराज आचार्यले गाएको ‘जीवन भन्नु त घात छ’ को । भक्तराज आचार्यले गाएलगत्तै उनको जीवनले पनि त्यस्तै मोड लिन पुगेकोमा आफूलाई पछुतो लागेको अधिकारीले सुनाएका थिए । पलेँटीमा पुरुष स्वर लिएर गायक योगेन्द्र उपस्थित थिए ।

कार्यक्रममा अधिकारीको रचना र रविन शर्माको स्वरमा कुनै समयको अत्याधिक चर्चित गीत ‘तिमी यसै लजायौ’ र सिनेमाका निम्ति अधिकारीले लेखेका ‘बोल बोल पाखाहरु’ समेत सुनाइएको थियो । प्रत्येक गीतको रचनागर्भ सुनाउने क्रममा मनाङमा सुटिङ भएको त्यस गीतमा एउटा लोकभाका कसरी मिलाइएको थियो र त्यसले खोल्ने बैंसालु मनाङे जीवनशैलीबारे पनि जानकारी दिइएको थियो ।

अधिकारी लिखित गीतहरु प्रस्तुत गर्ने कार्यक्रमको पहिलो भागको अन्त्य भने ‘पहाडमा जाडो बढे, तराइले सेक्नु पर्छ’ बाट गरिएको थियो । दोस्रो भागमा अधिकारीको काव्य विमोचन भइसकेपछि अधिकारीले केही कविता वाचन गरेका थिए । 

कार्यक्रमको तेस्रो भागमा भने पलेँटीका प्रस्तोता एवं गायक तथा संगीतकार आभाषले अधिकारीको विमोचित कृति ‘भरियाको भूगोल’ को केही अंशलाई संगीतबद्ध गरेर सुनाएका थिए । कार्यक्रममा आभाषले आगामी महिना पलेँटीमा युवा गायक विधान श्रेष्ठ प्रस्तुत हुने जानकारी समेत गराएका थिए । 

प्रकाशित: १७ वैशाख २०७४ ०३:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App