१५ मंसिर २०८१ शनिबार
image/svg+xml
कला

‘नयाँ पुस्तासँग काम गर्दा अपडेट भइन्छ'

दीपक जंगम, संगीतकार

विश्वप्रसिद्ध गजल गायक गुलाम अली, मेहदी हसनजस्ता प्रतिभालाई ४० को दशकमै नेपाली गीत गाउन तयार पार्नु चानचुने कुरा थिएन। भक्तपुरमा जन्मेका संगीतकार दीपक जंगमले ‘किन किन तिम्रो तस्बिर', ‘गाजलु ती ठूला–ठूला आँखा', ‘एउटा मान्छेको मायाले कति'जस्ता सदावहार गीतमा संगीत भरे। पछिल्लो समय उनी नयाँ पुस्ताका गीतकारसँग काम गर्दै आएका छन्। उनका छोरा अजर जंगम पनि संगीत साधनामा लागेका छन्। गजल दुनियाँका ख्यातिप्राप्त प्रतिभाका साथै नेपालका अब्बल रचनाकार तथा गायकसँग काम गरिसकेका जंगमसँग उनको समय र वर्तमान नेपाली संगीतबारे गरिएको सात सवाल :

नेपाली संगीतको पहिले र अहिलेको अवस्था कस्तो छ?

पहिले एक किसिमको परम्परागत र मूलधारलाई प्राथमिकता दिने गरिन्थ्यो। व्यावसायिकता थिएन। ऊबेला संगीतमा देश आउँथ्यो। संगीत भनेको साधना हुन्थ्यो। अहिले संगीत व्यावसायिक भएको छ। पहिले क्वालिटी हुन्थ्यो भने अहिले क्वान्टिटी बढी छ। संसार सानो भएर खुम्चिएको छ। साधना हिजो पनि गरिन्थ्यो, आज पनि गरिन्छ तर अहिले भने विविधतामा बढी फोकस हुन थालिएको छ, विभिन्न प्रकारका गीत आएका छन्। अहिले मूलधार बाहिर भएकाहरू पनि आर्थिक हैसियत छ भने यसमा समावेश हुन थाल्ने अवस्था छ।

पछिल्लो अवस्थामा संगीतका अभाव के हुन्?

मिडिया र प्रविधिको तीव्र विकाससँगै साधना र सिर्जना त्यससँगै गइरहेको छ। अहिलेको अवस्थालाई नराम्रो पनि भन्न सकिन्न तर व्यावसायिकता हाबी भएको चाहिँ छ। राज्य संस्कृति र संगीतप्रति गैरजिम्मेवार छ। जति र जस्तो रुपमा हुनुपर्ने हो, त्यति नै राज्यको भूमिका महसुस गर्न भने पाइँदैन। गीत संगीतको फिल्टर गर्ने कार्यमा मिडियाले सहकार्य गर्नुपर्छ।

तपाईंको छोरा पनि संगीत साधनामा लाग्नुभएको छ, छोरा पुस्तालाई कसरी हेर्नुहुन्छ?

विशुद्ध साधक परिवारबाट आउने म्युजिसियन धेरै छन्। यसमा कोही पारिवारिक पृष्ठभूमिबाट पनि लागेका छन्, कोही छैनन्। पारिवारिक पृष्ठभूमिबाट आउनेमा मेरो छोरो पनि परेको छ। साधना गर्नका लागि ऊ क्वालिफाइड पनि छ। अध्ययन गरेको छ। नयाँ–नयाँ कम्पोज गरिरहन्छ।

तपाईं नयाँ–नयाँ गीतकार लिनुहुन्छ, यसबारे तपाईंको विचार के छ?

मेरो संगीत करिअर ५० वर्षभन्दा पुरानो हो। म सक्रिय नै छु। नयाँ पुस्तासँग काम गर्न पाउँदा आफूलाई अपडेट गर्न पाइन्छ। मलाई नयाँ पुस्तासँग काम गर्न अफ्ठेरो लाग्दैन। नयाँ पुस्ताका कलाकार मेरो छोरा सरहकै हुन्। मसँग काम गर्न पाउँदा उनीहरूलाई गाइड हुन्छ। उनीहरूले मबाट धेरै सिक्छन् पनि। प्राविधिक कुरामा नयाँ पुस्ता बढी जानकार छन्। लामो कालखण्डदेखि काम गरेको मलाई नयाँ अनुभव पनि हुन्छ।

पुरानो पुस्ता र नयाँ पुस्ताको दूरी कसरी मेटाउन सकिएला?

पुरानो पुस्ता एक स्टेप पछाडि छ भने नयाँ पुस्ता एक स्टेप अगाडि। घर छाडेर बाहिर गए पनि आखिरी फर्कने घरै हो नि। अगाडि बढेकाले पछाडि फर्कनुपर्छ। पुरानो पुस्ता र नयाँ पुस्ताबीचको अन्तर भनेकै समय हो। हाम्रो समय, बदलिँदो समाज, राजनीतिक अवस्था र प्रविधिकै कारण उहिले र अहिलेको पुस्तामा मतान्तर हुनु स्वाभाविक हो। सद्भाव र विचार मिलाउन सकियो भने दुई पुस्ताबीच सहकार्य गर्न सकिन्छ। दुई पुस्ताले नै एक अर्कालाई स्वागत गर्न सक्नुपर्छ।

पछिल्लो समय लाइभ सो गर्ने परम्परा बढ्दै गइरहेको छ, यसलाई कसरी हेर्नुभएको छ?

लाइभ सो सक्रिय अडियन्सहरूलाई हेरेर गरिन्छ। साधनामा सक्रिय रहेकैबाट यस्तो कार्यक्रम गर्न सकिन्छ। अहिलेको अवस्थामा पछिल्लो पुस्ताकै अडियन्स धेरै छन्। तपाईं कुनै ठाउँमा हुने लाइभ सो हेर्नुस्, त्यहाँ हुने ५० प्रतिशतभन्दा धेरै कार्यक्रम नयाँ पुस्ता लक्षित हुन्छ। अर्को कुरा इभेन्ट म्यानेजमेन्ट गर्नेहरूसँगको सहकार्य हो, लाइभ। राम्रो सम्बन्ध भएमा पहिलो पुस्ताका साधक पनि लाइभ कार्यक्रममा सहभागी हुन सक्छन्। व्यावसायिकतामा रमाउने जोसुकैले लाइभ सोलाई आफ्नै सिर्जनात्मक वृद्धिका हिसाबले लिन सकिन्छ।

तपाईंलाई मन पर्ने गीतकार–संगीतकार कोही छ कि?

गीत–संगीत मन पर्ने वा राम्रो–नराम्रो भन्ने पनि समयअनुसार फरक पर्दोरहेछ। मलाई यो गीतकार–संगीतकार मन पर्छ भन्न गाह्रो हुन्छ। कतिबेला राम्रो मान्छेले नै तल–माथि गरिदिन्छन्। २०–१९ भइहाल्छ। कुनै पनि गीत संगीत राम्रो हुन त्यसमा गरिएको साधना र परिश्रम हेर्नुपर्ने हुन्छ। राम्रो गर्नेलाई प्रोत्साहन गर्नैपर्छ। यही नै राम्रो भनेर किटेरै भन्न एकदमै गाह्रो छ। यही नै राम्रो हो भन्नु त्यो पर्सनल पनि हुन जान्छ। मन पर्ने र राम्रोको आधार के हो भन्ने मूल्यांकन मानिसपिच्छे फरक हुन्छ।

प्रस्तुति : क्रान्ति पाण्डे

प्रकाशित: ९ वैशाख २०७४ ०५:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App