coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

‘साँस्कृतिक मेला’ मा गेब्रिएलको भित्ते चित्र

काठमाडौं– नेपाल आएका अमेरिकी ग्राफिटी चित्रकार गेब्रिएल स्पेक्टर निकै व्यस्त छन्। शनिबार जावलाखेलस्थित स्टाफ कलेजमा आयोजित ‘सांस्कृतिक मेला’ मा उनी भित्ते चित्रकला कोर्न व्यस्त देखिए। 

नेपाल र अमेरिकाको दौत्य सम्बन्ध थिममा भित्ते चित्र कोरिरहेका अमेरिकी ग्राफिटी चित्रकार गेब्रिएललाई १२ नेपाली कलाकारहरुले साथ दिइरहेका थिए। प्लाईबोर्डले तयार भएको भित्ताको विभिन्न भागमा कलाकारहरु चित्र कोरिरहेका थिए। अमेरिकी ग्राफिटी चित्रकार गेब्रिएल भने एउटा कुनाबाट अर्को कुना पुगेर नेपाली कलाकारहरुलाई निर्देशन दिँदै थिए भने आफैं पनि चित्रकला तयार गरिररहेका थिए। 

‘मलाई स्थानीय सँस्कृति र परिवेशले भित्ते चित्र कोर्न प्रेरित गर्छ । फेरि नेपाली कलाकारहरुसँग सहकार्य गर्दा नेपाली मौलिक संस्कृतिबारे बुझ्न पाइन्छ,’ चित्रकला तयार गरिरहेका अमेरिकी ग्राफिटी चित्रकार गेब्रिएल भन्दै थिए, ‘संसारको विभिन्न स्थान पुगेर भित्ते चित्रकला कोरिसके पनि पहिलो पटक नेपालमा नेपाली कलाकारसँग सहकार्य गरेर चित्रकला तयार गर्दा नौलो अनुभव समेट्ने अवसर मिल्यो।’

‘साँस्कृतिक मेला’ मा कन्सर्ट सुन्न पुगेका दर्शकहरु उनले भित्तामा तयार गरिरहेको चित्रकला नियाल्दै थिए । नेपाल र अमेरिकाको दौत्य सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको अवसरमा आयोजित ‘साँस्कृतिक मेला’ मा नेपाली र्यापर निर्णय श्रेष्ठ, कान्त डब डब, मेन्टल रेडियो र फ्राग्मेन्ट्सलगायतले सांगीतिक प्रस्तुती दिएका थिए। 

हालै ‘एक नेपाल, एनएसके स्टाइल’ नामक एल्बम सार्वजनिक गरेका र्यापर निर्णयले कन्सर्टमा नयाँ र पुराना गीतहरु सुनाएका थिए। ‘युवा पुस्ताहरुलाई नेपाल र अमेरिकाको मैत्री सम्बन्धबारे जानकारी गराउन आयोजित कार्यक्रममा सहभागि भएर सांगीतिक प्रस्तुती दिएको हुँ। यसपटक नेपाली र अमेरिकन कलाकारहरुसँग सहकार्य गर्ने अवसर समेत पाए,’ र्यापर निर्णय श्रेष्ठले भने। 

कार्यक्रमअन्तर्गत वर्ड वरियरले व्यंग्यात्मक कविताहरु वाचन गरेको थियो । त्यस्तै आर्ट ल्याबले नेपालको परम्परा र संस्कृति झल्काउने चित्रकलाहरु प्रदर्शनमा राखेका थिए । नेपाली युवा पुस्तामाझ लोकप्रिय बन्दै गएको स्केटबोडिङ संस्कृतिलाई प्रोत्साहन गर्दै स्केट नेपाल स्केटले स्केटबोडको स्टण्डहरु प्रस्तुत गरेका थिए । अमेरिकन दूतावासले आयोजना गरेको कार्यक्रममा कलाकारहरुले हिप–पप र बे्रक डान्ससमेत प्रस्तुत गरेका थिए । 

‘कार्यक्रममा नेपाल र अमेरिकाका कलाकारहरु सहभागि भएर विभिन्न सांस्कृतिक प्रस्तुतीहरु प्रस्तुत गरे, संसारभर भित्ते चित्रकला तयार गरिसकेका अमेरिकी ग्राफिटी चित्रकार गेब्रिएल स्पेक्टरले मेलामा नेपाल र अमेरिकाको मैत्री सम्बन्ध झल्काउने चित्रकला तयार गरेका छन्,’ अमेरिकी दूतावासका सार्वजनिक मामिलासम्बन्धी अधिकृत त्रिस्त्राम पेरीले भने, ‘त्यसबाहेक नेपाली युवाहरु माझ चर्चा बटुल्दै गएको स्केटबोर्ड सस्कृतिलाई प्रोत्साहन गर्दै स्केट नेपालले स्केटबोर्डको विभिन्न स्टन्डहरु प्रस्तुत गरे भने कलाकारहरुले सांगीतिक प्रस्तुत दिएका थिए।’

मेलामा लोकतन्त्र, निर्वाचन, युवा अभियान र उद्यमशीलता लगायतबारे युवाहरुलाई प्रोत्साहन गर्ने विभिन्न सामाजिक संस्थाहरूको स्टल समेत राखिएका थिए।  

तस्बिरहरूः प्रबिन काेइराला 

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App