२७ श्रावण २०७७ मंगलबार
कला

दुई सय वर्षअघिको पुस्तक प्रदर्शन हुँदै

दुई सय वर्षअघि बेलायती कटनीतिज्ञ ब्रायन एचएच हड्सनले नेपालमा चराको अध्ययनपछि लेखेको किताब । किताबमा नेपाली चित्रकार राजमान सिँह चित्रकारले चराका चित्र कोरेका छन् । तस्बिरः चाँदनी हमाल

काठमाडौं– भिमसेन थापाले शासन गरेको समयको कुरा हो यो । जतिबेला कलाकारिता दरबार र निकटका मानिसको निजी सम्पत्ति मानिन्थ्यो । त्यही समयमा कलाकार राजमान सिंह चित्रकारले भने नेपालमा चराको अध्ययन गरेका बेलायती अध्येता ब्रायन हड्सनसँग मिलेर चराका सुन्दर चित्रहरु कोरे ।

हड्सनले नेपालमा भेटिएका चराको वर्णन गर्दै नेपाली भाषामै ६ वटा पुस्तकहरु लेखे । जसका सबै चित्र राजमानले तयार गरे । अहिले ती ६ वटै पुस्तक ब्रिटिस लाइब्रेरी अफ लण्डनको स्वामित्वमा छन् । तर, त्यही ६ वटामध्येका एउटा पुस्तकले भने राजधानीमा चलिरहेको काठमाडौं ट्रिएनाले कला उत्सवमा दर्शकलाई लोभ्याइरहेको छ ।

पुस्तकमा ब्रायन्सले अध्ययन गरेका नेपालका दुर्लभ चरा र नेपालको भौगोलिक अवस्थाको वर्णन छ ।  दुई सय वर्ष पुरानो इतिहास बोकेको हस्तलिखित पुस्तकलाई अठार डिग्री चिसो तापक्रमको कोठामा राखिएको छ । बिचको पाना पल्टाएर राखिएको पुस्तकमा उतिबेलाका नेपाली भाषाका अक्षर देखिन्छन् । हेर्दा नेपाली अक्षर भए पनि अहिलेको नेपाली भाषाभन्दा निकै फरक देखिन्छन् । एकापट्टि चित्र छन् भने अर्कोतिर  सोही चित्रको वर्णन  ।

बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीको तल्लो तलामा ब्रिटिस लाइब्रेरीकै सुरक्षामा विधिपूर्वक राखिएका दुर्लभ चित्र हेरिरहँदा कला समीक्षकहरुका आँखा थाक्दैनन् । रातो गाता भएको पुस्तकको बाहिरपट्टि केही लेखिएको छैन । तर, सिसाको बाकसभित्रको पुस्तकमा कस्ता चित्र छन् भनेर प्रोजेक्टरमार्फत देखाउने गरिन्छ । ब्रिटिश लाइब्रेरीकै कर्मचारी हिड हिनरिचले यसको सहजीकरण गरिरहेकी छिन् ।
 ‘यो पुस्तक नेपालमा ल्याउन गाह्रो थियो,’ उनले भनिन्,  ‘संगीता थापाले कुरा गरेपछि नेपाल आएको हो । तर दर्शकको उत्सुकता हेर्दा मिहिनेत गरेको सार्थक नै भएको छ ।’ पुस्तक ब्रिटिश लाइब्रेरी लन्डनबाट १७ दिनका लागि नेपाल ल्याइएको ट्रिएनालेका निर्देशक निश्चल ओलीले बताए ।
नेपालका चराविद् डा.हेमसागर बरालले हड्सनले मिहिनेत गरेर पुस्तक तयार पारेकोे इतिहास सुनाए । ‘हड्सनलाई काठमाडौं उपत्यका बाहिर आउजाउ गर्न अनुमति नभएको बेला उनी र राजमानले अध्ययन गरे । जबकी चरा उपत्यका बाहिर झन् धेरै थिए,’ बरालले भने ।
हड्सनले आफू जान नपाएपछि सिकारी र कलाकारहरु नियुक्त गरेर जानकारी संकलन गरेको बरालले बताए । उनका अनुसार यसको नेतृत्व  राजमान चित्रकारले गरेका थिए ।
     ‘पोथीलाई मादा, भालेलाई नर भन्ने जस्ता संस्कृत भाषाका शब्द मिसिएका छन् ,’ बरालले भने , ‘हेटौंडालाई हेथाउराजस्ता अनुवाद गरिएका छन् । ’ त्यो पुस्तक ठ्याक्कै नेपाली र अंग्रेजीमा उतार्न कठिन भएकाले पनि पुस्तकको महत्व बढी भएको उनको कथन थियो । नेपाली चराको अध्ययन, अनुसन्धान र अभिलेखीकरण गर्नका लागि हड्सनका ६ वटा पुस्तक ठूलो स्रोतका रुपमा रहेको उनले बताए । ‘म  प्रत्येकचोटि जाँदा लण्डन लाइब्रेरी जान्छु ,’ उनले बताए, ‘पुस्तक त हड्सनकै भए तर राजमानको चित्रलाई पनि हड्सनकै भनेर बुझ्ने गरिएको छ । नयाँ पुस्तालाई सही जानकारी दिन पनि पुस्तकमा राजमानको योगदानको चर्चा हुन जरुरी छ,’ बरालले भने ।  
नेपालले  सन् १८१६ मा अंग्रेजसँगको सुगौली सन्धिपछि अंगे्रजहरु नेपाल घुम्न आतुर थिए । सोही सन्धिपछि बेलायतबाट स्थायी आवासीय प्रतिनिधिका रूपमा इडवार्ड गार्डनर पहिलोपटक नेपाल प्रवेश गरेका थिए । उनले नेपाली कुटनीतिज्ञसँगै नेपाली वनस्पतिको खोजी गरे । उनै गार्डनरको सहयोगीका रूपमा रोर्बट स्टुआर्ट पनि नेपाल आएको ‘प्रिज्नर अफ काठमाडौं’ पुस्तकमा उल्लेख छ । पुस्तकका अनुसार इष्टइण्डिया कम्पनी भारतका तर्फबाट वनस्पति संकलन तथा अध्ययन गर्ने प्रमुख व्यक्ति नाथालियल वालिच थिए । सन् १८२० मा वालिचसँग रोबर्ट स्टुअर्ट तराई हुँदै काठमाडौं आउँदा मलेरियाले उनको मृत्यु भयो । उनको ठाउँमा ब्रायन एचएच हड्सन काम गर्न काठमाडौं आए । आवसीय प्रमुख भएपछि वनस्पति छाडेर उनी आफ्नो रुचिका चराचुरुंगीको अध्ययनतिर लागे । नेपाली कलाकार राजमान सिंह चित्रकारसहित अन्य दसजनालाई उनले आफ्नो अध्ययन टोलीमा सामेल गराएका थिए ।
हड्सनसँग भेट भएपछि आफ्ना कलात्मक प्रस्तुतिका रुपमा राजमानले  काठमाडौंका बौद्ध वास्तुकला ,चैत्य, स्तूपा, बहाल तथा विहारका रेखाचित्र बनाएको कला समीक्षक मदन चित्रकार उल्लेख गर्छन् । उनका अनुसार हड्सनको निर्देशनमै उनले आधुनिक शैली अपनाउँदै  पश्चिमेली शैलीमा चित्र कोर्न थालेका थिए । चरा हेरेर तथा छामेर उनले नेपालका धेरै जीवजन्तु र चराचुरुंगीका रेखाचित्रसँगै जलरङ चित्र पनि बनाएको चित्रकारले बताए । उनका अनुसार राजमानले जीवजन्तु र चराचुरुङ्गीसँगै  दृश्यचित्र तथा मुहारचित्र पनि बनाएका छन् । तर, राजमान स्वयंको चित्र भने अनुमान गरेको भरमा मदन चित्रकारले कोरेका थिए  । सोही चित्र अहिले प्रचलनमा छ ।
हड्सनका पालामा राजमानसिंहले कोरेका चित्रहरू रोयल एसियाटिक सोसाइटी अफ लण्डन, फ्रान्सको म्यूजि डि गुइमे, ब्रिटिश लाइब्रेरी लण्डनसहित विभिन्न स्थानमा सुरक्षित छन् ।

 

 

प्रकाशित: २३ चैत्र २०७३ ११:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App