२३ श्रावण २०७७ शुक्रबार
कला

साहित्य महोत्सवमा 'मिस मोटी'

पोखरा- सेन्टजेभियरमा स्कुल पढ्दादेखि नै कृपा जोशीलाई आफू अरुभन्दा मोटी भएको महसुस हुन्थ्यो। यो उनको भ्रम थियो। असाध्यै दुब्लोको अगाडि मात्र कृपा मोटी देखिन्थिन्। तर, उनीमा आफू मोटो भएको भावना यति प्रबल थियो कि उनले त्यसयता न खानपिनमा परहेज गरिन्, न त शारीरिक अभ्यासमा जोड दिइन्। उनी दुवै कुरामा बेपर्वाह बन्न सार्वजनिक रुपमै कृपाको मोटोपनमा गरिने टिप्पणी कारक थियो। उनलाई माया गर्नेहरू पनि भन्थे, 'कृपा अलि वेट कम गर न। झन् राम्री देखिन्छ्यौ।' कृपाको वेट कम भएन। उनलाई लाग्यो, 'म यसै मोटी, उसै मोटी।' कृपाले खानपिनको परहेज छाडिन् र साँच्चिकै मोटाउँदै गइन्।

'आलोचनाले मात्र होइन, प्रशंसाले पनि हाम्रो विचारलाई लेबल गर्न मद्दत गरिरहेको हुन्छ। म यस्तै लेबल लिएर लामो समय बाँचेँ। अब म चाहन्छु, कोही पनि मानिस आफ्नो शरीरको अवस्थालाई लिएर दुःखी भएर नबाँचोस्,' कृपाले भनिन्।

कृपा पोखरामा चलिरहेको साहित्य महोत्सवमा 'मिस मोटी' शीर्षकको छलफलमा शुभा कायस्थसँग शरीरमाथि हुने राजनीतिबारे कुरा गरिरहेकी थिइन्। फाइन आर्टकी विद्यार्थी कृपाले महिला वा पुरुषलाई शारीरिक बनावटका आधारमा गरिने टिप्पणीले गम्भीर प्रभाव पार्ने निष्कर्ष सुनाइन्।

पोखरामा साहित्यसँगै आम नागरिकसँग जोडिने विषयमाथि पनि छलफल भइरहेका छन्। शुभा र कृपाको शरीरमाथि हुने राजनीतिको कुराकानी पनि यस्तै कुराको प्रमाण थियो। नेपालमा बिरलै चर्चा हुने विषयमाथिको छलफल रोमाञ्चक थियो।

'शरीरका सम्बन्धमा सबैभन्दा प्राथमिक कुरा स्वस्थ्य रहनु र सकारात्मक रहनु हो,' कृपाले भनिन्, 'दुब्लो हुँदैमा कोही निरोगी हुन्छ भन्ने छैन। मोटी हुँदैमा नकारात्मक बन्नुपर्छ भन्ने पनि छैन। हामीले कसैको शरीरमाथि अन्जानमै गरिने टिप्पणीले उसको मनोविज्ञानमा गम्भीर प्रभाव पारिरहेको हुन्छ। त्यसमा हामी सचेत छैनौँ तर हुन जरुरी छ।'

कृपाले शरीरमाथि हुने यस्तै टिप्पणीले खुम्चिएर बसेकालाई लक्षित गर्दै 'मिस मोटी' शीर्षकमै कमिक्स सिरिज प्रकाशित गर्दै आएकी छिन्। सामाजिक सञ्जालमा उनलाई फ्लो गर्नेले हरेक सोमबार 'मोटिभेसन मन्डेुमा मिस मोटीको सकारात्मक विचारको खुराक पाउँदै आएका छन्। उनको यो कमिक्स नेपालसँगै संसारमै लोकप्रिय हुँदै गएको छ। छलफलका क्रममा कृपाले भनिन्, 'शारीरिक बनावटका कारण पुरुषभन्दा महिला ज्यादा टिप्पणीको सिकार बन्ने गरेका छन्। त्यसैले मैले मिस मोटीको सिर्जना गरेकी हुँ तर यो पुरुषलाई पनि उत्तिकै उपयोगी छ।' कृपाका अनुसार 'मिस मोटी' त्यस्ता महिलाको रोल मोडल हो, जो मोटी भएकामा आफूलाई खुम्च्याएर बसेका छन्। 'मिस मोटीले शरीरभन्दा टाढा गएर आफ्नो जीवन बाँच्न प्रेरित गर्छे,' कृपाको निष्कर्ष छ।

साहित्य महोत्सवको तेस्रो दिन यसैगरी साहित्य र समाजका विविध पक्षमा छलफल भए। तेस्रो दिनको पहिलो सत्रमा रामेश कोइरालाले शिव गाउँले, हरिबहादुर थापा र ओमप्रकाश अर्यालसँग 'शासकको जवाफदेहिता' शीर्षकमा छलफल गरे भने 'मिस मोटी'सँगै चलेको समानान्तर सत्रमा वसन्त बस्नेत मुन्धुम साहित्यको सौन्दर्य खोज्न वैरागी काइँला र भूपाल राईसँग गफिएका थिए।

'शासकको जवाफदेहिता' शीर्षकमा आफ्नो धारणा राख्दै हरिबहादुर थापाले पत्रकारिताको काम विषयको उठान गर्ने र जवाफदेही बन भनेर घचघच्याउने मात्र भएकाले पत्रकारिताको सीमितता भएको धारणा राखेका थिए।

'समाचारले यो यो कारणले कुनै काम गलत भयो भनेर देखाइदिने हो। कारबाही गरेर गल्तीलाई सच्याउने अधिकार पत्रकारितालाई छैन। राजनीतिको हकमा प्रतिपक्षीले त्यो भूमिका निर्वाह गर्नुपर्ने हो,' थापाले भने, 'तर, सत्ता र प्रतिपक्षीको भूमिका हाँडी र केट्ली जस्तो छ। एउटाले हाँडीलाई कालो भन्न पाएको हुँदैन अर्कोले तँ पनि त केट्ली होस्। कम कालो छैनस् भनेर सम्झाइदिन्छ। दुवै चुप।'

लोकमान ढलाउने उपमा पाएका अधिवक्ता ओमप्रकाश अर्यालले पनि अधिकारसँगै उत्तरदायित्व पनि आउने भन्दै राजनीति वा शासकले यस्तो उत्तरदायित्व ग्रहण गर्न नसकेको बताए। उनले भने, 'अरुमाथि प्रश्न गर्न नैतिक रुपमा आफू पनि सक्षम हुनुपर्छ। समाजका लगभग सबै अंगले त्यो नैतिकता बचाउन सकेका छैनन्।'

चौरको तेस्रो सत्रमा लेखकत्रय रामलाल जोशी, सावित्री गौतम र शिवानी सिंह थारुले नेपाली साहित्यमा महिला पात्रको उपस्थिति र चित्रणबारे चर्चा गरे। साहित्यमा महिलाको अवस्थाभन्दा नारीवादमा ज्यादा रुमलिएको छलफलमा शिवानीले साहित्यले नेपाली महिलाको सही चित्रण नभएको बताइन्। सावित्रीले आफूले पढेका नेपाली साहित्यबारे दृष्टान्त पेस गरिन्। रामलाल जोशीले पनि साहित्यमा महिलाको चित्रण सशक्त रहेको धारणा राखे। छलफल प्रणिका कोयूले संयोजन गरेकी थिइन्।

पहिलो दिन पानी परेकाले थाँती रहेको 'के भन्छ पोखरारु' पहिलो सत्रमा सम्पन्न भएको थियो। यो सत्रमा कविहरू ईश्वरमणि अधिकारी र सरस्वती प्रतीक्षा सरु तथा गायक विनोद बानियाँसँग पोखराको साहित्यिक र सिर्जनात्मक अपेक्षाबारे उपेन्द्र पौडेलले कुराकानी गरेका थिए।

यसपछिको सत्रमा नेता घनश्याम भुसाल र राजनीतिक विश्लेषक हरि शर्मा 'पपुलिजम पोलिटिक्सु अर्थात् क्षणिक चर्चाका लागि लिइने राजनीतिक कदमबारे किरण नेपालसँग गफिएका थिए। सोही समयमा हलमा भएको कार्यक्रममा दीपेन्द्र श्रेष्ठले उद्यमी लक्ष्मी शर्माको व्यावसायिक अनुभवबारे चासो राखेका थिए।

नेपालको आर्थिक इतिहासबारे महŒवपूर्ण बुँदाको व्याख्या गर्दै अर्थविद् विश्व पौडेलले विगतका आरोह अवरोहबारे चर्चा गरेका थिए। चौरमा भएको उक्त सत्रको संयोजन अर्थविद् स्वर्णिम वाग्लेले गरेका थिए। हलमा अन्तिम सत्रका रुपमा भने साहित्यकार उदय प्रकाशले 'साहित्य र प्रतिरोधु बारे आफ्ना विचार राखेका थिए। चन्द्रकिशोरसँग छलफलमा सहभागी हुँदै उदयप्रकाशले संसारबाट नै लेखक हराउँदै गएको टिप्पणी गरे। उनले भारतसँगै पाकिस्तान र बंगलादेशमा लेखकको अवस्था नाजुक रहेको बताए।

आइतबार नै गजल पारखीले पोखरा तथा आसपासका गजल लेखकका उत्कृष्ट गजल सुन्ने मौका पाए। गजलकार अमृत सुवेदीले संयोजन गरेको 'वाह१ गजलुमा थुप्रैले आफ्ना गजल वाचन गरेका थिए। दिनको अन्तिम प्रस्तुतिका रुपमा समृद्धि राई र प्रयत्न श्रेष्ठले सांगीतिक कुराकानी गरे।

प्रकाशित: १७ माघ २०७३ ०९:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App