१६ चैत्र २०८० शुक्रबार
कला

मानवीय मूल्य खोज्दै प्रमिला

काठमाडौं- कलाकार प्रमिला गिरीको एकल चित्रकला प्रदर्शनी सुरु भएको छ। गिरीले चौधवर्षपछि बबरमहलस्थित नेपाल कला परिषद्मा मानवीय मूल्य प्रदर्शन गर्ने चित्र प्रदर्शनी सुरु गरेकी हुन् । शनिबार उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले उनको एकल प्रदर्शनीको उद्घाटन गरे।

उद्घाटनपछि बोल्दै निधिले गिरीका कलाले मानविय भावना बोल्नेमात्र हैन् तत्कालिन र वर्तमान कलाको अवस्था उजागर गर्ने उल्लेख गरे। 'नेपाली कलाले कला बनाउने बेलाको स्तरको मात्र प्रतिनिधित्व गर्दैन,' उनले भने 'तत्कालिन समाजका भौतिक प्राविधिक प्रविधी पनि झल्काउँछ।'

कलामै भारतबाट स्नातक र अमेरिकाबाट स्नातकोत्तर गरेकी गिरीले आफू १४ वर्षपछि नेपाली कलामञ्चमा फर्किएको जनाइन्। ‘विविध कारणले यहाँ प्रदर्शनी गर्न सकिँन,' उनले सुनाइन्, ‘तर अध्ययनदेखि अध्यापन गर्दाका र मनले खोजेका कला पस्केकी छु।' उनले मूर्ति र चित्र संयोजन गर्दै एकसाथ दुईखाले कला प्रदर्शनीमा राखेकी छन्।

नेपाली कलाप्रति हेय सरकारी दृष्टिकोण रहेको उल्लेख गर्दै उनले यसतर्फ ध्यान दिन सरकारसँग अनुरोध गरिन्। नर्वेजियाली दूतावासकी काउन्सलर एड्लेले नेपाल र नर्वेको भौगोलिक अवस्थिति टाढा भए पनि समानता भने धेरै रहेको उल्लेख गरिन्। ‘म यहाँका हिमाल हेर्न जाँदा उताका जस्तै हिमाल र मौसम पाएँ,' उनले भनिन्, ‘हिमाल झल्कने कला साटासाट गरेर दुई देशबीच आपसी सद्भाव बढाउन सक्छौं।' करिब एक महिना चल्ने प्रदर्शनीमा रहेका कलात्मक चित्रमध्ये 'उड्न थालेको चरा' शीर्षकको चित्र निकै आकर्षक छ। चित्रमा राखिएका तेस्रो आँखा, बुद्ध, भैरवका मूतिले थप कलात्मकता थपेको छ।

पृथ्वी आमा, सामूहिकता बोल्ने मूर्तिहरुले मानवमा लुकेका भावना जागृत गराउन मद्धत गर्छ। तिब्बतीय धार्मिक मान्यता बोकेका चित्रहरुको श्रृंखलावद्ध कलाले मानिसलाई वुद्ध र शान्ति सँगसँगै स्मरण गराउँछ। सृजनाका प्रतिकका रुपमा उनले थुप्रै मूर्तिहरु प्रदर्शनीमा राखेकी छिन्। चित्र र मूर्ति गरेर उनका तीनदर्जन बढी कलाहरु प्रदर्शनीमा रहेका छन्। उनले सन २००२ मा नेपालमा प्रदर्शन गरेपछि विदेशमा केही प्रदर्शन गरिन्। त्यसअघि नेपाल र विदेशमा गरि एकदर्जन प्रदर्शनी गरेकी थिइन्।

उनका कलाहरु नेपाल, भारत, नर्वे, अमेरिका, जापान लगायतका देशमा संग्रहित छन्। चौधवर्षपछि नेपाल फर्केकी प्रमिलाको प्रदर्शनी हेर्न नेपाल लगायत विभिन्न देशका कला पारखीहरु उपस्थित भएका थिए।

प्रकाशित: ७ कार्तिक २०७३ ०२:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App