८ वैशाख २०८१ शनिबार
कला

ट्रेलर लिएर आइन ‘राधा’

काठमाडौं–अभिनेत्री सन्चिता लुईटेलले केही वर्षको विश्रामपछि अभिनयमा पुनरागमन गरेको भनिएको फिल्म ‘राधा’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार दरबारमार्गस्थित क्युज सिनेमा हलमा फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । कार्यक्रममा सन्चिताले आफ्नौ तौललाई लिएर भइरहेका टिप्पणीप्रति स्पष्टिकरण दिएकी थिइन् ।

‘फिल्मका फोटा सार्वजनिक भएसँगै मोटी हिरोइनलाई किन खेलाएको भन्दै मेरो शरीरलाई लिएर धेरैले चासो व्यक्त गरेको सुनेकी छु । उहाँहरुलाई मेरो आग्रह छ कृपया पहिला फिल्म रिलिज हुन दिनुस् । त्यसपछि पनि मेरो भूमिका चित्त बुझेन भने जति गाली गरेपनि हुन्छ,’ सन्चिताले भनिन् । उनले आफू फिल्म भित्र गाउँले युवतीको भूमिकामा भएकाले स्लिम नै हुनुपर्छ भन्ने नरहेको पनि जिकिर गरेकी थिइन् ।
फिल्ममा जीवन लुईटेलले सन्चिताको जोडीको रुपमा अभिनय गरेका छन् ।

उनले फिल्मको नामले फिल्म पौराणिक कथामा बनेको हो कि भन्ने झल्को दिएपनि फिल्म व्यवसायिक रहेको बताएका थिए । यही फिल्मको सुटिङका क्रममा जीवनले आइन्दा थोरै फिल्ममात्र खेल्ने घोषणा गरेका थिए । उनले आइतबार सोही फिल्मको कार्यक्रममा आफू प्रतिबद्धतामा अडिग रहेको बताए । ‘मिडियामा जीवन हराएको भन्ने खालका समाचार आउने गरेका छन् । तर म के स्पष्ट पार्न चाहान्छु भने  मलाई अहिले पनि  फिल्मको अफरमा कुनै कमी आएको छैन तर म अब आफूले ‘रिलेट’ गर्ने फिल्म मात्र गर्छु ।’

तिहारमा प्रदर्शन हुन लागेको फिल्मलाई योगेश घिमिरेले निर्देशन गरेका हुन् । यसअघिका केही फिल्ममा जीवन र नीता ढुंगानाको जोडी खेलाउँदै आएका योगेशले कथाको मागका कारण जीवन र सन्चिताको जोडी बनेको बताएका थिए ।

विष्णुमणि दाहालले निर्माण गरेको फिल्मलाई प्रदिप भारद्धाजले लेखेका हुन् भने फिल्मलाई मानकृष्ण महर्जनले छायांकन गरेका हुन् । फिल्ममा बसन्त सापकोटाको संगीत रहेको छ ।

 

प्रकाशित: १८ आश्विन २०७३ ०३:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App