२९ असार २०७७ सोमबार
कला

रहेनन् कलाकार मास्के

काठमाडौं- आधुनिक कलासँग रमाउने कलाकार कर्ण मास्केको निधन भएको छ। लामो समय आधुनिक कलामा योगदान गरेबापत मास्केले ख्याति कमाएका  थिए। विगत केहीदिन यता बिरामी रहेका मास्केको गृहनगर धरानस्थित बिपी मेमोरियल क्यान्सर अस्पतालमा बुधबार राति निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ। कलाकार लैनसिंह वाङदेलबाट चित्रकला सिकेका मास्के आधुनिक कलामा तल्लिन थिए।
'५–६ दिन अघि बिसन्चो भएको खबर मिलेको थियो,' उनी निकट कलाकार केके कर्माचार्यले भने, 'निमोनिया भएर अस्पतालमा भर्ना हुनुभएको थियो, अचानक निधन भएको खबर सुनेँ।'
केही समय अघि छोराछोरीलाई भेटेर अमेरिकाबाट फर्केका मास्के उमेरले ८० छुन लागे पनि तन्दुरुस्त थिए। मास्केले आफ्नो कला क्षेत्रमा आवद्धहरुलाई एकीकृत गर्दै आधुनिक कला समाज स्थापना समेत गरेर केही समय संस्थापक अध्यक्ष पनि भएका थिए। 
उनले नेपाल लगायत चीन, जापान, अमेरिकामा गरी दर्जनौं आधुनिक कला प्रदर्शनी गरेका थिए। २०२० सालताका उनले तत्कालीन राजकिय प्रज्ञा प्रतिष्ठानमा स्थापित कला कक्षमा कला सिकेका थिए। त्यतिबेला  लैनसिंह बाङ्देल प्रतिष्ठानका प्रमुख थिए।
त्यसपछि अनौपचारिक कलाशिक्षामार्फत् नै आधुनिक कलातर्फ दोहोरिएका थिए। उनले धरानस्थित युवा कलाकेन्द्र स्थापना गर्न पनि भूमिका खेले। २०६७ सालमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य भए। त्यो बेला उनले हस्तकला विभागको नेतृत्व गरेर हस्तकला प्रवर्द्धन गरे। 
परम्परागत कलामा आधारित भई आधुनिक शैलीको कलाकृतिको सिर्जनामा मास्के सचेत थिए। उनले कलामा मौलिकता भर्न छाडेका थिएनन्। त्यही मौलिकता नै उनको आधुनिक कलाको पहिचान बन्न सफल भएको थियो। 
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी कुलपति रागिनी उपाध्यायले फेसबुकमा उनको निधनप्रति दुख व्यक्त गर्दै श्रद्धाञ्जली प्रकट गरेकी छन्। कलाकारहरुले मास्केको कलाकारिता र फरासिलोपनको खुलेर प्रशंसा गरेका छन्। ‘उहाँसँग बिताएका क्षण, मन खोली हाँसेको क्षण अब सम्झनामा मात्र सीमित रहने भो,' पवन राजवंशीले लेखेेका छन्। 
उनको पार्थिव शरिरलाई बिहीबार धरानमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो। बिहीबार साँझ नै उनको अन्तिम संस्कार सम्पन्न गरिएको जनाइएको छ। 

प्रकाशित: ३१ भाद्र २०७३ ०७:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App