८ वैशाख २०८१ शनिबार
कला

राजा सलहेसको कथामाथि फिल्म बन्ने

काठमाडौं- सय वर्षअघिको ऐतिहासिक कथामाथि फिल्म बन्ने भएको छ। राजधानीमा सोमबार एक कार्यक्रमकाबीच मिथिलाका राजा सलहेसको गाथामाथि 'सलहेसः द पिपुल्स हिरो' नामक आवधिक फिल्म निर्माण गर्ने घोषणा भएको हो।

भोर कम्पनी प्रालिको प्रस्तुतिमा बन्ने यो फिल्मका प्रमुख पात्र सलहेस मिथिलामा राजा जनकपछिको प्रादुर भाव भएको व्यक्तित्व मानिन्छन्। उनलाई तराईंको दुसाध समुदायले अहिले पनि भगवानका रुपमा पूजा गर्छन्। 'लामो समयको रिसर्च पछि हामी फिल्म बनाउने निष्कर्षमा पुगेका हौं,' फिल्मका निर्माता समेत रहेका रिसर्चर राजकुमार महतोले बताए।

फिल्मलाई अमितेश साहले निर्देशन गर्ने भएका छन्। उनको यो पहिलो फिचर फिल्म हुनेछ। भारतको दिल्लीस्थित एशियन एकेडेमी अफ फिल्म एण्ड टेलिभिजनबाट फिल्म मेकिङ पढेका अमितेश सन् २००० देखि अडियो–भिज्युअल मिडियामा कार्यरत छन्। ६० भन्दा बढी नाटकको निर्देशन गरिसकेका अमितेशले सर्ट फिल्म 'कमला' बनाएका छन्। यो फिल्मले अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरुमा अवार्डसमेत जितेको छ।

करिब तीन करोड अनुमानित बजेट राखिएको यो फिल्मको छायांकन धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सुनसरी, मोरड., झापा, चितवन र भारतका स्थानहरु हुने निर्माता महतोले जानकारी दिए। 'हामीकरिब ६ महिना प्रि-प्रडक्सनमा व्यस्त हुनेछौं,' निर्देशक शाहले भने, 'त्यसपछि मात्र फिल्मको सुटिङ थाल्नेछौं। एकवर्षभित्रमा फिल्म रिलिज गरिसक्ने योजना छ।' यो फिल्मलाई अन्तराष्ट्रिय फिल्म महोत्सवहरुमा सहभागी गराउने उद्देश्य रहेको उनले बताए।

मिथिला क्षेत्रमा निकै लोकप्रिय पात्र हुन् राजा सहलेस। 'उनको वास्तविक नाम भने राजा जयवर्द्धन सैलेश थियो,' सलहेसबारे रिसर्च गरिरहेका निर्माता महतोले भने, ' यिनी कुनै दन्त्य कथाका पात्र होइनन्, न पुराणका यशस्वी राजर्षि नै हुन्। उनी त्यतिबेला राजाभए पनि लोक कल्याणमा सक्रिय थिए जसकारण उनी जनताका प्रिय पात्र बनेको बताइन्छ। मिथिलामा अन्याय, अत्याचार र अराजकता बढेको समयमा सलहेसको प्रादुर्भाव भएको थियो। उनलाई मिथिला क्षेत्रमा अन्याय र अत्याचार विरुद्ध लडेका विद्रोहीपात्रका रुपमा समेत चिनिन्छ।'

निर्देशक शाहले यस्तो ऐतिहासिक कथामाथि फिल्म बनाउने जिम्मेवारी पाउनु आफैँमा चुनौतिपूर्ण रहेको बताए। 'फिल्मको कास्टिंड, कसट्यूम, गहना, शृंगार, सेट, लोकेसन, संगीत हरेक पक्षमा विस्तृतमा काम गर्नु र कथालाई न्याय गर्नु आफैमा चुनौतिपूर्ण छ,' उनले भने, 'कुनै पक्षमा कमी रहन नदिने गरी काम गर्ने प्रयास गर्नेछु। आशा छ यो फिल्मबाट नेपाली फिल्म क्षेत्रले थप स्तरीयता महसुस गर्नेछ।'

सिरहाको लहानदेखि चार किलोमिटर पश्चिममा सलहेसको नाममा राखिएको 'सलहेस फुलबारी' छ। 'हरेक वर्ष नेपाली नयाँ वर्षको पहिलो दिन यो फूलबारीमा फूल फूल्ने गर्छ,' निर्माता महतोले भने, 'फूलबारीमा पूजा गर्न आउँदा मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ। यो फूलबारीमा राजा सलहेस फूल टिप्ने जान्थे भन्ने किवंदन्ती छ।

सलहेसलाई उनकी प्रेमीका कुशमा मालिनले हरेक दिन त्यहाँ फूलको माला अर्पण गर्थिन् र त्यही प्रेमको प्रतिकका रुपमा आज पनि त्यहाँ फूल फूल्ने गरेको विश्वास गरिन्छ। ' हरेक वर्षको वैशाख १ गते त्यहाँ ठूलो मेला लाग्ने गर्छ जहाँ नेपाल र भारतबाट लाखौं मानिस आउने गर्छन्।

यो फिल्ममा सलहेस, रेशमा, कुसमा, दौना, करिकन्हा, मोतीराम, बुधेसरलगायत ऐतिहासिक पात्रहरुमात्र हुनेछन्। फिल्मका कलाकारहरु पक्का भइसकेका छैनन्। 'यो ऐतिहासिक फिल्म भएकाले यसमा अभिनय गर्ने चरित्रहरु पनि ती पात्रहरुसँग मिल्नुपर्छ,' निर्देशक शाहले भने, 'त्यसैले फिल्ममा रहने प्रत्येक पात्रहरुको स्केचिङ पश्चात त्यस अनुसारको कलाकारहरु अडिसनमार्फत् छनौट गर्ने तयारीमा छौं। कलाकारहरुको छनौट नेपाल र भारतका विभिन्न प्रमुख स्थानहरुमा अडिसनमार्फत गर्नेछौं।'

फिल्ममा कथा डा. राजेन्द्र विमल,  संवाद महेन्द्र मलगिंया र पटकथा निर्देशक शाहकै रहनेछ। सुनिल–प्रवेशको संगीत, डा. विमल, अशोक दत्त र ईश्वर दाहालको गीत रहनेछ। यो। ऐतिहासिक फिल्म भएकाले भिएफएक्सको पनि प्रयोग गरिने निर्देशक शाहले बताए।

 

प्रकाशित: ३२ श्रावण २०७३ ०६:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App