१४ माघ २०७९ शनिबार
कला

भुल्न कठिन त्यो त्रासदी

शिशिरको पारिलो घाममा छोरी सेक्दै थिइन्, लक्ष्मी गिरी। बुधबार दिन घमाइलो भए पनि उनको मन छयाङ्ग छैन। पोखरा-७ घारिपाटनकी गिरीले गत आइतबारको त्रासदीपूर्ण घटना भुल्न सकिरहेकी छैनन्।

आँखैसामुन्ने जहाज खसेको दुःखान्त दृश्यले उनलाई घरीघरी झस्काउँछ। मनमा अझै डरले घर गरेको छ। ‘सम्झँदा पनि कहाली लाग्छ, मुटु ढक्क फुल्छ’, ३९ वर्षीया गिरीले भनिन्, ‘घरमाथिबाट ढल्किंदै आएको जहाज एक्कासि बजारियो र आगो लाग्यो।’

माघे संक्रान्तिको दिन बिहान गिरीले आँगनमा छ महिनाकी छोरीलाई दूध खुवाउँदै थिइन्। बुबा बेल पनि घरमै थिए। ठूली छोरी इरिस्ना साथीसँग खेल्न गइकी थिइन्।

त्यहीबेला ठूलो र डरलाग्दो आवाज लक्ष्मीका कानमा पर्‍यो। माथितिर हेर्दा जहाज घरमै छोइएला जसरी आइरहेको थियो। छिनभरमै जहाज गिरीको घरदेखि एक सय मिटरअघिको जमिनमा धसिंदै सेती खोंचमा खस्यो।

‘जहाज खसेपछि आगो लाग्यो, धुँवाको कालो मुस्लो निस्कियो, कता जाने, के गर्ने होसहवास गुमेजस्तो भयो’, उनले सुनाइन्, ‘काखकी छोरी लिएर बुबासँगै घरछेउको आलुबारीतिर भागें।’

जीवनमा पहिलोपटक यति ठूलो घटना देखेकी गिरीले अहिले कुनै सिनेमाको दृश्यझैं लाग्ने गरेको सुनाइन्।

‘मुस्ताङतिर जहाज दुर्घटनाबारे मोबाइलमा हेरिन्थ्यो, सुनिन्थ्यो’, उनले भनिन्, ‘अहिले आँखैअघि देखियो, सोच्दा पनि डर लाग्छ, हातखुट्टा काँप्छ।’

गिरी दुर्घटनालगत्तै घटनास्थल नजिक जान पनि सकिनन्। दिनैभर छोरीहरू साथमा लिएर घरभित्रै बसिन्। विस्तारै डर मत्थर हुँदै गए पनि मन अझै हलुका हुन नसकेको गिरीको भनाइ छ। उनका छिमेकी पनि उक्त घटनाबाट त्रस्त छन्।

घारिपाटन, नागबेली टोलकी सीता विक पनि जहाज खस्ने बेला घरमै थिइन्। बिहान मन्दिर गएर फर्केपछि परिवारमा खाना खाने सुरसार चल्दै थियो। अकस्मात ठूलो आवाज आयो। त्यतिञ्जेल विकले जहाज हो भन्ने पनि पत्तो पाएकी थिइन।

‘भुइँचालो गएजस्तो भएको थियो, बाहिर निस्कँदा त जहाज खसेर आगो लाइसकेको रहेछ, वरिपरि धुँवा-धुलो छाएको थियो’, उनले भनिन्, ‘होसै गुमेजस्तो न बोल्न सक्ने न खाने अवस्था भयो। घरैअघि भएकाले होला अझै डर लाग्छ, यो घटना कहिल्यै बिर्सन नसकिने भइयो।’

विकको घरअघिको बाँसघारीलाई पछाडिको भागले लछार्दै जहाज खोचमा खसेको थियो। माथिबाट खस्दा जहाज ठोक्किएको जमिन धस्सिएको छ।

रुख र बुट्यान मासिएका छन्। आगलागीले घाँस र पत्कर नष्ट गरेको छ। जहाजका भग्नावशेष, यात्रुका जलेका लुगाफाटा र सामग्री छरपष्ट देखिन्छन्। दुर्घटनास्थल यसै उजाड र उराठलाग्दो छ। दुर्घटना भएको ठाउँ हेर्न आउने मानिस पनि उत्तिकै हुन्छन्। बाहिरकालाई घटनास्थल हेर्ने कौतुहलता भए पनि आसपासका बासिन्दालाई भने त्यही ठाउँले त्रासदीपूर्ण घटनाको सम्झना गराइदिन्छ। पोखरा-१५ का वडाध्यक्ष तोरणबहादुर बानियाँले आफ्नो जीवनकालमा यति ठूलो बीभत्स दुर्घटना कहिल्यै नदेखेको बताए।

‘जहाज खसेको १० मिनेटमै घटनास्थल पुगेको थिएँ, अवस्था दर्दनाक थियो, हेर्दा-हेर्दै यात्रुहरू जले, जीवित उद्धारको प्रयास विफल भयो, उनले भने। उद्धारमा सबै स्रोत-साधन लगाउँदा पनि कसैलाई बँचाउन नसकिएको वडाध्यक्ष बानियाँले बताए। झाडीसहित खोल्साखाल्सी भएको गहिरो खोचमा जहाज खसेका कारण उद्धार जटिल बनेको थियो।

वडाको पहलमा दुर्घटनास्थल वरपरका बासिन्दालाई शुक्रबार मनोपरामर्श दिने तयारी भइरहेको वडाध्यक्ष बानियाँको भनाइ छ।

‘दुर्घटनाले कसैलाई मनोवैज्ञानिक असर परेको हुनसक्छ, त्रास रहिरहेको हुनसक्छ’, उनले भने, ‘इच्छुक र आवश्यक परेका व्यक्तिलाई राखेर दुई घण्टा मनोपरामर्श दिंदैछौं।’

जहाज दुर्घटनाबारे सत्यतथ्य थाहा पाउन धेरै मानिस उत्सुक रहेको वडाध्यक्ष बानियाँले बताए।

‘के कारणले जहाज दुर्घटना भयो होला भनेर मानिसहरू कुराकानी गरिरहेका भेटिन्छन्। अनेक खाले अनुमान लगाउँछन्’, उनले भने,‘ आशा गरौं विमान दुर्घटनाको कारण पत्ता लाग्नेछ र फेरि-फेरि यस्तो दुर्घटना हुने छैन।’

दुर्घटनामा परी ७१ जनाले ज्यान गुमाएका छन् भने एकजनाको खोजी तथा उद्धार जारी रहेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले बताए। उनका अनुसार फेला परेकामध्ये २२ शव पोखरामै शव परीक्षण गरी परिवारजनलाई बुझाइएको छ। रासस

प्रकाशित: ५ माघ २०७९ १३:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App