coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

‘महाभारा’ नाटकतिर तानिँदै दर्शक

प्रविधिको तीव्र विकासले अचेल विरलै मात्र हेर्न पाइने नाटकमा दर्शकको आकर्षण देखिएको छ।

सदरमुकामस्थित नारी विकास कार्यालयको सभाकक्षमा चलिरहेको ‘महाभारा’ नाटक ‘लोकल प्रोडक्ट’ समेत भएपछि पूर्वी पहाडका दर्शक तानिएका हुन्।

२०७९ सालको मदन पुरस्कार सिफारिस सूचीको अन्तिम ८ मा परेको उपन्यास ‘महाभारा’ लाई इलामे युवाले नाटकको रूप दिएका हुन्।  सय दर्शक अटाउने हलमा बिदाको दिन दर्शक व्यवस्थापन गर्नै हम्मे पर्ने गरेको छ भने अरू दिन सोचेभन्दा बढी नै दर्शक आइरहेको आयोजक चेतना नाट्य समूह अध्यक्ष सुरेश पोर्तेलले बताए। दर्शकको चापले कुनै दिन त २ पटकसम्म नाटक मञ्चन भइरहेको छ। 

दर्शकले पनि आफ्नै गाउँघरको कथा बुनिएको नाटकले प्रत्येक जसो दृश्यमा आफ्नै बाल्यावस्था, युवावस्थाको स्मरण गराएको प्रतिक्रिया दिएका छन्। सयौँ दर्शकले सामाजिक सञ्जालमार्फत ‘महाभारा’ नाटकले आफ्नै गाउँ–ठाउँको परिवेश स्मरण गराएको प्रतिक्रिया व्यक्त गरिरहेका छन्। जनही ३ सय  रुपैयाँको टिकट काटेर नाटक हेरिसकेपछि दर्शकले करिब १ घन्टा ४५ मिनेटको समय बितेको पत्तै नहुने गरेको जनाइरहेका छन्। उनीहरूले इलाममै यस्तो नाटक हेर्न पाउनुलाई राम्रो ‘अवसर’ पनि भनिरहेका छन्।

‘सुरुमा त नाटकका लागि के ३ सय रुपैयाँको टिकट काट्नुजस्तो लागेको थियो,’ हलबाहिर भेटिएका ५४ वर्षे मोहन कटवालले भने, ‘तर, नाटक हेरिरहँदा २०६० सालको दशकतिरको गाउँघरमै छु जस्तो लाग्यो।’ अर्का दर्शक प्रेम राईले नाटक हेर्न थालेपछि समय बितेको पत्तै नभएको प्रतिक्रिया दिए। उनले नाटकमा स्थानीय कलाकारले गरेको मेहनत निकै प्रशंसायोग्य पाएको पनि जनाए। नाटकमा किशोर किशोरीदेखि वृद्ध वृद्धासम्म सहभागी भइरहेका छन्।

आफूले लेखेको उपन्यासलाई आफ्नै जिल्लाका युवाले नाटकको रूप दिएपछि ‘महाभारा’का लेखक तथा पत्रकार वसन्त बस्नेतसमेत शनिबार काठमाडौँबाट गृह जिल्ला इलाम आइपुगे। उनले इलाममा पनि नाटकमा यतिको मेहनत देख्दा आफू हर्षित भएको सुनाए। ‘नाटक मञ्चनमा इलामे युवाको लगाव र मेहनत हेर्दा इलाममा एउटा नाटक घर निर्माण गर्नु जरुरी देखिन्छ,’ नाटक हलमा खचाखच दर्शकबिच उनले भने, ‘यसमा हामी सबै इलामे स्रष्टा प्रतिबद्ध भई लाग्नुपर्छ, स्थानीय कला र संस्कृति जगेर्नामा स्थानीय सरकारले पनि सहयोग गर्नुपर्छ।’

यही पुस २० देखि ३० सम्म स्थानीय कलाकारले नाटक मञ्चन गरिरहेका हुन्। आफ्नै गाउँ–घरको कथावस्तुमा आधारित उपन्यासलाई कलात्मक अभिनयका माध्यमबाट सबैमा पुर्‍याउने प्रयासले यसलाई नाटकीय रूप दिइएको निर्देशक अन्वेश थुलुङ राईले जानकारी दिए।

‘युवाको सिर्जनशीलता प्रस्फुटन यसको अभिनयको उद्देश्य हो,’ निर्देशक अन्वेशले भने, ‘प्रविधिको उच्चतम प्रयोग गरिरहेको अहिलेको युवा पुस्तालाई समाजको यथार्थसँग घुलमिल गराउनु पनि हाम्रो लक्ष्य हो।’ प्रेम, धर्म र राजनीतिको सम्मिश्रण रहेको नाटकमा १५ कलाकारले अभिनय गरेका छन्।

प्रकाशित: २४ पुस २०७९ ०८:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App