७ वैशाख २०८१ शुक्रबार
कला

नेपथ्य ब्याण्डको प्रस्तुतिले तात्यो नेपालगन्ज

गीत गाउँदै नेपथ्य ब्याण्डका गायक अमृत गुरुङ। रमाउँदै नेपालगन्जका दर्शक। तस्बिर/नागरिक

चर्चित नेपथ्य ब्याण्डका गायक अमृत गुरुङ जब स्टेजमा उक्लिए, नेपालगन्ज रंगशालाभित्र खचाखच भरिएका दर्शकहरु उत्साहित भए। चिसिदै गरेको यहाँको मौसममा नेपथ्य ब्याण्डको प्रस्तुतिबाट करिव दुई घण्टासम्म माहोल बेस्सरी तात्यो।  

मानवसेवा आश्रमको भवान निर्माण तथा अक्षय कोषण निर्माण सहयोगार्थ बिहीबार बेलुका यहाँ कन्सर्ट आयोजना गरिएको थियो। करिव ६ बजे मञ्चमा चढेको नेपथ्य टोलीले पहिलो प्रस्तुतीका रुपमा ‘आँगनै भरि हिउँ नै झरे’ गीत सुनायो।  

त्यसपछि दोस्रो गीतका रुपमा ‘भेँडाको ऊनजस्तो’ प्रस्तुत गर्दा उपस्थित युवा, युवतीहरु उत्साहित हुदै नाचे। ब्याण्डका मुख्य गायक एवं अगुवा गुरुङ दर्शकसँग भलाकुसारी गर्न थाले। ‘संगीतसँगै मानवताको सेवा गर्ने उद्देश्यले यहाँ आउनुभएका सबै दर्शकलाई स्वागत गर्न चाहन्छु,’ उनले भने, ‘हिमाल, पहाड र मधेसदेखि नेपालगंजमा जम्मा भइ यो ठाउँ गुलजार बनाइदिने तपाइहरु सबैलाई धन्यवाद।’  

त्यसपछि उनले सुरु गरे,

‘खान्न म त लामपाते सुरती

लाउँ कि नलाउँ जुग जाने पिरती’

कन्सर्टमा गायक गुरुङले नेपथ्यका पुराना गीतहरु ‘चरि म¥यो’, ‘जोमसोमे बजारमा, ‘शिरफूल शिरैमा वनफूल वनैमा हिउँको फूल धौलासिरिमा’, ‘नैना ताल’, ‘गाउँ गाउँबाट उठ’, ‘यो जिन्दगानी’, ‘रेशम’, ‘तालको पानी’ लगायत पनि दर्शकमाझ पस्के। गायक गुरुङलाई नेपथ्य ब्याण्डका धु्रव लामा, सुरज थापा, सुविन शाक्य, निरज गुरुङ र शान्ति रायमाझीले साथ दिएका थिए।

करिव १० वर्षपछि नेपालगन्जमा नेपथ्यको यो दोस्रो पटकको प्रस्तुत हो। अघिल्लो पटक ‘शान्तिको लागि शिक्षा’ अभियान लिएर नेपथ्य ब्याण्ड यहाँ आएको थियो। त्यतिबेला स्थानीय बागेश्वरी चलचित्र मन्दिरमा कन्सर्ट देखाइएको थियो। यसपटक भने नेपालगन्जका दर्शकमाझ खुल्ला आकाशमुनि बनाइएको मञ्चमा नेपथ्य प्रस्तुत भएको भएको हो।    

मञ्चबाट गीतहरु गाइरहँदा रंगशालामा भरिएका अधिकांश दर्शकहरुले पनि गाएरै साथ दिइरहेको रोचक दृश्य देखिन्थ्यो। त्यो उत्साहलाई समात्दै गीतको बीचैमा गायक गुरुङले बोल्न पनि थाले, ‘समाजलाई फेर्छु भन्नेहरु आफै फेरिएको देख्दा हामी तीनछक परेका छौं, देश बनाउन अब हामी नै एकजुट बनौं है।’

कार्यक्रम अवधिभर गायक गुरुङले मानवसेवा आश्रमको उद्देश्यबारे बोलेका थिए। घर परिवारबाट निकालिएर सडकमा आश्रित बन्नपुगेका मुलुकभरका नागरिकहरुको सेवामा खटिएको आश्रमसँग सहकार्य गरेर नेपथ्यले ‘मानवताका लागि सांगितिक यात्रा’ मार्फत देश दौडाहा गरेको हो।  

संगीतका साथै मानवता प्रवद्र्धनका लागि नेपथ्यको यो श्रृंखलावद्ध कन्सर्टले नेपालगन्जमा लगातार पाँचौं सफलता पाएकोमा मानवसेवा आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले खुशी ब्यक्त गरे। ‘नेपालगन्जमा सडकमा आश्रित आमा बुवाहरुलाई व्यबस्थित छाना र खानाको प्रवन्ध गर्न हामी सफल भइसकेका छौं,’ अधिकारीले भने, ‘अब आफ्नै भवन बनाएर यो प्रयासलाई संस्थागत तुल्याउने लक्ष्य अनुसार कन्सर्टको आयोजना गरेका हौं।’  

मानवसेवा आश्रमसँगको सहकार्यमा नेपथ्यले यसअघि बिराटनगर, बीरगन्ज, हेटौडा र चितवनमा कन्सर्ट गरिसकेको छ। नेपथ्यले यही पुस ३ गते आइतबार पनि धनगढीस्थित रंगशालामा कन्सर्ट गर्दैछ। नेपालगन्ज १० स्थित घर भाडामा लिएर सञ्चालित आश्रमले बाँकेको डुडुवामा आफ्नै भवन बनाउने योजना बनाएको छ। दानवीर एवम् समाजसेवी जे।के। सिंहले जग्गा दान गरेका छन्।

प्रकाशित: १ पुस २०७९ १०:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App