२३ श्रावण २०७७ शुक्रबार
कला

'नेपाल मेरो मुटुमा बोक्छु'

काठमाडौं-रसियन कल्चर सेन्टर कमलपोखरीमा मंगलबार नेपाली सेलीब्रेटीहरुको बाक्लै चहलपहल थियो। बैंकर अनिल शाह आफैं हरेक आगन्तुकलाई मुस्कानसहित स्वागत गर्दै थिए। फिल्म कलाकार, मोडल र रंगक्षेत्रका अधिकांश व्यक्तिहरुको जमघट थियो। केही समयमै आगन्तुको उपस्थितिले हल भरियो।

अघिसम्म स्वागतमा जुटेका बैंकर शाह भित्र पस्नेहरुको भीडमा देखिएका एक अतिथिलाई देखेर उनीतिरै लागे । 'माथि जाउँ,' उनले अतिथिलाई डोर्‍याउँदै भित्र लिएर गए । एउटा कुर्सीमा बसाएर मञ्चमा उक्लिए अनि उद्घोषण थाले ।

'म के हुँ, मैले के गरेँ त भनेर हरेक युवाले सोच्नुपर्छ,' शाहले भने, 'अमेरिका युरोपमा भएका नेपाली डाक्टर, इन्जिनियरले राम्रो काम गरिरहेका छन् । तर नेपालमा चाहिँ किन गरिरहेका छैनन् ? दुबई, मलेसिया, अस्ट्रेलियामा बुद्धि पनि चलाउने, पसिना पनि बगाउन सक्ने ? तर नेपालमा किन नसक्ने ?'

यस्तै प्रश्नका बीच उनले बोलाए उही अतिथि, जसलाई उनले सम्मानपूर्वक कुर्सीमा बसाएका थिए । ती व्यक्ति थिए अमेरिकाको फेसन उद्योगमा नाम कमाएका नेपाली प्रबल गुरुङ । यी तिनै प्रबल गुरुङ थिए, जो फेसन डिजाइनरका रुपमा सेलिब्रेटी बनेका छन् । जसले डिजाइन गरेका कपडा अमेरिकी प्रथम महिला मिसेल ओबामादेखि बलिउडका प्रियंका चोपडा, दीपिका पादुकोणले पनि गर्व साथ लगाउँछन् । यिनै प्रबल रसियन कल्चर सेन्टरको हलमा आफ्नो सफलताको अनुभव बाँड्न आएका थिए ।

सानोमा निकै चकचके स्वभावका प्रबल पढाइमा खासै गतिला थिएनन् । आमाले प्रबलको पढाइलाई लिएर सधैं गुनासो गर्ने गर्थिन् । बुबा किताबका शौखिन भएकाले उति साह्रो रुचि नभए पनि किताबबाट टाढिन पनि पाएनन् ।

उनले आफ्नो विगत खोल्दै भने, 'तर म त्यति पढ्ने खालको थिइनँ,' उनले भने, 'भाइ र बैनी निकै ट्यालेन्ट थिए तर म औसत खालको विद्यार्थी ।'

उनी स्कुल पढ्दा फेल त भएनन् तर भनेजस्तो गरी राम्रो नम्बर पनि ल्याउन सकेनन् । 'म बल्लबल्ल पास हुन्थे,' काठमाडौंको सेन्टजेभियर्स पढ्दाको अनुभव उनले सुनाए, 'मेरो इन्ट्रेस्ट थिएटर, ड्रामा, डान्सजस्ता अरु क्रियाकलापप्रति बढी थियो । डान्स त झनै मनपथ्र्यो ।'

स्कुलमा एकपटक एकजनाले भाइबैनीभन्दा निकै नराम्रो पढाइ भएकाले तेरो भविष्य छैन भनिदिएपछि प्रबल निकै चिन्तित बने । त्यही वचनले एसएलसी दिएपछि उनलाई नेपाल बस्न मन लागेन । सामान्य विद्यार्थीझैं उनी विज्ञान विषय पढ्न भारततिर लागे । तर भारतमा पनि उनले विज्ञान पढेनन् ।

होटल म्यानेजमेन्ट कलेजमा भर्ना भए । सधैं घुमफिर र हिन्दी फिल्म हेरेर बिताउने उनलाई त्यो विषयले पनि बाँध्न सकेन । तर हिन्दी फिल्मको निरन्तरको हेराइले उनको तेस्रो आँखा खुल्यो । फिल्म हेर्दै जाँदा उनले फिल्म कम फिल्मका अभिनेता अभिनेत्रीले लगाउने लुगामा ज्यादा ध्यान दिन थाले ।

'मैले यो गर्न सकुँला त भन्ने प्रश्न आफैसँग गरे,' गुरुङ सम्झन्छन् 'त्यसपछि त्यही विषय पढ्न थालँे ।' नेसनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजीबाट डिजाइनको ज्ञान लिए । विभिन्न स्थानीय उत्पादन र फेसन हाउसमा उनले काम गरे । त्यहीँ उनले मनीष अरोरासँग मिलेर काम पनि गरे । मेलबर्न र लन्डनमा हुने धेरै फेसन शोमा उनले स्टाइलिस्टको सहयोगीका रुपमा काम गरे ।

सन् १९९९ मा गुरुङ अमेरिका गए । राजधानी न्युयोर्कमा डोन्ना कारनको फेसन हाउस पार्ससन्स स्कुल्स अफ डिजाइनमा इन्टर्न गर्न बसे । पहिलो वर्ष नै उनी उत्कृष्ट फेसन डिजाइनरबाट सम्मानित भए । उनी स्मरण गर्छन, 'त्यतिबेला रातभर काम गर्थें, सिक्थेँ ।'

पाँच वर्षमा बल्ल कपडा कस्तो बनाउने भन्ने जानेको अनुभव भयो उनलाई । इन्टर्न सकेपछि बेरोजगार भए । तर हिम्मत हारेनन् । अमेरिकी सरकारले ऋण स्वरुप दिने पैसाले केही गर्न चिनजानका मानिससँग पहल गरे ।

दुई वर्षसम्म सिन्थिया रोलीको टोलीसँग मिलेर काम गरे । फेसनकै बिल ब्लास संस्थाको पाँच वर्ष सफलतापूर्वक फेसन निर्देशक पदमा बसे । त्यसपछि सन् २००९ मा उनले आफ्नै फेसन सोरुम सञ्चालन गरे 'पिजी' ब्रान्डमा । 'बल्ल मैले अमेरिकी सरकारले दिएको पैसा फर्काउन सकेँ,' उनले सफलताको हाँसो ओठमा ल्याउँदै भने, 'सफलता सजिलो छैन तर पाउन नसकिने पनि हैन ।'

अमेरिकामा परिवारविहीन एक्लो जीवनमा संघर्ष गर्न उनलाई निकै कठिनाइ भयो । 'तर पनि त्यो माहोल र त्यहाँको डलरले मलाई तान्यो,' उनले हाँस्दै भने, 'डलरै दिया भएर त काम गरेँ ।

न्युयोर्क फेसनविकका दौरान खुलेको उनको शोरुमले उनलाई उचाइमा पु¥याउन सहयोग ग¥यो । 'फेसनले मलाई बचायो,' उनी भन्छन्, 'मेरो आफ्नै संकलनहरु मैले प्रवद्र्धन गरे त्यसबाट आएको पैसाले मलाई बचायो ।'

सन २०१० मा उनले आफ्ना सृजनाको आफ्नै शो गरेर प्रवद्र्धन गरे । अमेरिकाका चर्चित अभिनेत्रीसँगै भारतका दीपिका पादुकोण, प्रियंका चोपडा, कटरिना कैफ लगायतले पनि उनको पोशाक पहिरिए ।

अमेरिकामा बसे पनि उनले देशको माया मारेका छैनन् । 'म यहाँ सधैं बस्न त सक्दिन तर मेरो देश मेरो मुटुभित्र राखेको छु,' उनले भावुकता मिश्रित लवजमा भने, 'यहाँ विपत आउँदा मलाई पनि दुखेको छ ।'

नेपालमा पछिल्लो समय भूकम्पका कारण जनतो दुःख पाएको चर्चा गर्दै उनले नेपालमा स्थापित शिक्षा पाmउन्डेसनमार्फत् घर बनाउने र शिक्षा दिने कार्यक्रम भइरहेको बताए । 'नेपालमा केही परिवर्तन हुन्छ भने त्यो शिक्षाले नै हुन्छ,' उनले स्पष्ट पारे ।

पारिवारिक भ्रमणका लागि नेपाल आएका उनी केही दिन नेपाल बस्नेछन् ।

प्रकाशित: ३० चैत्र २०७२ ०८:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App