८ वैशाख २०८१ शनिबार
कला

किन जीवनदेखि अघाइन् प्रत्यूषा?

भारतीय टेलिभिजन च्यानल 'कलर्स'बाट प्रसारित हुने चर्चित टेलिसिरियल 'बालिका वधू'बाट चर्चा कमाएकी अभिनेत्री प्रत्यूषा बनर्जी १ अप्रिलका दिन मुम्बईको गोरेगाँवस्थित आफ्नो घरमा मृत फेला परिन्। घरको छतको पंखामा झुन्डिएको अवस्थामा उनको लाश भेटियो। उनले आत्महत्या गरेको भनिएको छ। १ अप्रिलमा घटना भएकाले प्रत्यूषाका कतिपय साथीले उनको आत्महत्याको खबरलाई 'अप्रिल फुल' ठानी पत्याउँदै पत्याएनन् भने कतिपयले साहसी र जीवनलाई माया गर्ने प्रत्यूषाले आत्महत्या गर्नै नसक्ने बयानसमेत दिए। उनको मृत्युले सबैलाई अचम्भित बनाएको छ।

ब्वाइफ्रेन्ड अभिनेता/निर्माता राहुल राज सिंहमाथि उनलाई आत्महत्याका लागि उक्साउने, धम्क्याउने र घरेलु हिंसा गर्ने आरोप लगाउँदै केस दर्ता गरिएको छ। मिडियासँग कुरा गर्दै प्रत्यूषाका साथी सौम्या पंजाबी र विकास गुप्ताले राहुलले प्रत्यूषालाई धोका दिएको र उनीहरूबीच सम्बन्ध राम्रो नभएको दाबी गरेका छन्। विकासले दाबी गरेका छन्– राहुलकी पूर्वप्रेमिका सलोनी शर्माले प्रत्यूषामाथि दुर्व्यवहार गर्ने गर्थिन्।

काम्याले भनेकी छिन्– 'तीनचार दिनअघि प्रत्यूषाले मलाई फोन गरेकी थिइन् र राहुलले आफूलाई धोका दिएको कुरा बताएकी थिइन्। आफू यस सम्बन्धमा रहन नचाहेको र यस सम्बन्धलाई समाप्त गर्न चाहेको पनि प्रत्यूषाले भनेकी थिइन्।'

आत्महत्याको मामिलामा प्रत्यूषाकी वकिल फाल्गुनी ब्रह्मभट्टले भनेकी छिन्– 'प्रत्यूषा राहुलविरुद्ध मुद्दा दर्ता गराउन चाहन्थिन्। त्यसका लागि उनले मलाई फोन पनि गरेकी थिइन्। घटना भएको दिन उनी मलाई भेट्ने विचारमा थिइन्। उनले राहुल र केही आर्थिक पक्षबारे मलाई भनेकी थिइन्। कानुनी सल्लाह र मद्दत चाहन्थिन्। उनीमाथि धेरै अत्याचार भइरहेको थियो।'

प्रत्यूषाका साथी काम्या र विकासले पनि दाबी गरेका छन् कि राहुल सार्वजनिक स्थान र पार्टीमा प्रत्यूषामाथि हात उठाउँथे।

घटनालगत्तै राहुल श्वास–प्रश्वासको समस्याका कारण अस्पताल भर्ना भएका थिए। आर्थिक समस्याका कारण तनावमा भएकाले आत्महत्या गरेको आरोप राहुलका आमाबुबाले उल्टै प्रत्यूषामाथि लगाएका छन्। राहुलका बुबाले प्रत्यूषाका अभिभावकमाथि आरोप लगाएका छन् कि उनीहरूले प्रत्यूषालाई आर्थिक रूपमा कमजोर बनाइसकेका थिए। त्यसैले प्रत्यूषा आफ्ना अभिभावकविरुद्ध मुद्दा दायर गर्ने सोचमा थिइन्। 'प्रत्यूषा लाखौँ कमाउँथिन् तर पनि उनी आर्थिक रूपमा कमजोर थिइन्। उनले कमाएको पैसा कहाँ जान्थ्यो?' राहुलका बुबाले भनेका छन्, 'प्रत्यूषाका अभिभावकले उनको नाममा ५० लाखको ऋण निकालेका थिए। साहूहरूले उनलाई पैसा मागेर हैरान पारिरहेका थिए। त्यसैले उनी चिन्तित थिइन्।'

तर, उनीहरूको आरोपविपरीत प्रत्यूषाका साथी विकासले भनेका छन्, 'प्रत्यूषा एक मध्यम वर्गीय परिवारसँग सम्बन्धित थिइन्। उनी बिहे गरेर घरजम गर्न चाहन्थिन्। मैले उनलाई एउटा सोको प्रस्ताव पनि गरेको थिएँ तर व्यक्तिगत समस्याका कारण उनले त्यो प्रस्ताव स्वीकार गरिनन्।'

विकासका अनुसार प्रत्यूषालाई आर्थिक समस्या थिएन। उनी गेस्ट रोलका लागि मात्र एक लाख रुपैयाँ लिने गर्थिन्। 'प्रत्यूषा आर्थिक रूपमा मजबुत थिइन्। राहुलका आमाबुबा आफ्नो छोरालाई बचाउन जानीबुझी भ्रम फैलाउँदै छन्,' विकासले भनेका छन्।

अर्कोतिर प्रत्यूषाकी सहयोगीका अनुसार राहुल र प्रत्यूषाबीच झगडा भइराख्थ्यो। उनीहरूको कोठाबाट कराएको आवाज आउने उनलेे आफ्नो बयानमा भनेकी छिन्। प्रत्यूषाका सबै एटीएम र चेक राहुलले आफूसँग राखेकाले औषधि, ट्याक्सीजस्ता स–साना खर्चका लागि उनले आफूसँग पैसा माग्ने गरेको कुरासमेत सहयोगीले बयानमा खुलाएकी छिन्।

अन्य टेलिभिजन अभिनेत्री हीर पटेलले राहुललाई 'सिरियल चिटर' भनेकी छिन्। 'राहुल एउटा 'सिरियल चिटर' हो। ऊ कतिपय रिलेसनसिपमा रहिसकेको छ। उसले धेरै केटीहरूलाई धोका पनि दिएको छ,' उनले भनेकी छिन्, 'मैले पनि उसलाई २५ लाख रुपैयाँ ऋण दिएको थिएँ। उसले एक सुको पनि फर्काएको छैन। माग्दा उल्टै मलाई अपहरणको केसमा फसाउने धम्की दिन्छ। कोर्टमा हामीहरूको केस चलिरहेको छ। उसले एक जना एयर होस्टेससँग बिहे गरेर सम्बन्ध–विच्छेद पनि गरिसक्यो। तर, यसबारे कसैलाई भनेको छैन। मलाई विश्वास छ पक्कै पनि उसले नै प्रत्यूषालाई दुःख दिएको होला। त्यसैले उनले आत्महत्या गरेकी होलिन्।'

२४ वर्षीया प्रत्यूषा १७ वर्षको उमेरमा टेलिभिजन क्षेत्रमा प्रवेश गरेकी थिइन्। टेलिसिरियल 'बालिका वधू'मा 'आनन्दी' बनेर उनले आफ्नो पहिचान बनाएकी थिइन्। मध्यम वर्गीय परिवारबाट सम्बन्धित प्रत्यूषाले कक्षा १० सम्ममात्र पढेकी थिइन्। उनी आमाबुबाकी एक्ली सन्तान थिइन्। नृत्यकी सोखिन उनले पढ्दाताका कथक नृत्य र मोडलिङको तालिम लिएकी थिइन्। १७ वर्षको उमेरमा उनले स्टेज सो गर्न सुरु गरिन्। अभिनयमा आउनुअघि उनी मोडलिङ गर्थिन्। पछि करिअरको खोजीमा उनी जमशेदपुर, झारखण्डबाट मुम्बईतिर लागिन्। सन् २०१० मा उनले टेलिसिरियल 'बालिका वधू'मा आनन्दीको भूमिकामा अभिनय गर्ने अवसर पाइन्। यस भूमिकाबाट उनले प्रशस्तै चर्चा कमाइन्। यसपछि उनी सन् २०१२ मा 'झलक दिखला जा'मा सहभागी भइन्। सन् २०१३ मा 'बिग बोस'का घरमा उनले ६३ दिन बिताइन्। 'हम है ना', 'इतना करो ना मुझे प्यार', 'ससुराल सिमर का', 'कुमकुम भाग्य', 'आहत', 'पावर कपल' र 'कमेडी सर्कस'मा पनि उनले काम गरिन्। 'पावर कपल'मा उनले राहुलसँगै भाग लिएकी थिइन्।

प्रकाशित: ८ वैशाख २०७३ ०२:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App