१६ चैत्र २०८० शुक्रबार
कला

पूर्वपति छविलाई रेखा थापाको डर, फिल्मको रिलिज

काठमाडौं- निर्माता छवि ओझा आफूलाई 'बाघ' निर्माताका रुपमा लिन्छन्। अनौपचारिक रुपमा उनले आफू उद्योगको सबैभन्दा सफल निर्माता रहेको कुरा गर्वसाथ भन्ने गरेका पनि छन्।

त्यसो त दावी गरेझैं उनले लामै समयदेखि नेपाली फिल्म उद्योगका लागि सफल फिल्म दिँदै आएका छन्। भलै समीक्षकले उनले बनाएका फिल्म हिन्दी फिल्मको हुबहु नक्कल भनेर टिप्पणी गर्ने गरेका छन्। तर पनि छविले आफ्नो सुर छाडेका छैनन्। आफूले बनाएका फिल्मले अरुलाई तर्साए पनि छवि पूर्वपत्नी रेखा थापासँग सधैं भाग्ने गरेका छन्।

छवि र रेखा मिलेर अन्तिम टक 'रावण' फिल्म बनाएका थिए। त्यसयता उनीहरुको वैवाहिक सम्बन्धमा पूर्णविराम लाग्यो। रेखाको ब्यानरमा फिल्म बनाउँदै आएका छविले आफ्नै नाममा प्रोडक्सन कम्पनी खोलेर फिल्म बनाउने थाले।

सन् २०१२ मा छविबाट छुटेर रेखाले 'काली' फिल्म बनाइन् भने छविले रेखालाई टक्कर दिने भन्दै रजनी केसीलाई लिएर 'लोफर' बनाए। दुवैले असोज २५ लाई प्रदर्शन मिति घोषणा गरे। पूर्व पतिपत्नीको पर्दाको यो भिडन्त हेर्न लायक हुनेवाला थियो तर अन्तिम समयमा आएर छविले मैदानबाट भाग्ने निर्णय गरे। छविले 'लोफर'लाई 'काली'सँग रिलिज नगरेर सोही वर्षको मंसिर २१ मा पुर्याबए। 'काली' त हिट भयो तर 'लोफर' फ्लप।

क्यालेन्डरमा रातो चिह्न हेरेर फिल्म रिलिज मिति तोक्ने छविले अर्को साल पनि दशैंको छेकोमा फिल्म रिलिज गर्ने मनस्थिति बनाएका थिए। सन् २०१४ मा उनले शिल्पा पोखरेललाई डेब्यु गराउँदै 'लज्जा' बनाएका थिए र रेखाबिना पनि हिट फिल्म सक्ने चुनौती उनको सामु थियो। तर फेरि पनि रेखाले आफ्नो फिल्म 'हिम्मतवाली' दशैंकै छेको पारेर रिलिज गर्ने घोषणा गरिन्। छविले चुपचाप 'लज्जा'लाई तिहारको मितिमा सारे।

यो साल पनि फिल्म नबन्दै अनौपचारिक रुपमा छविले नयाँ फिल्म 'किस्मत २' नयाँ वर्षको अवसरमा रिलिज गर्ने बताउँदै आएका थिए। सोही मितिमा विगत दुई वर्षदेखि विकास आचार्यको 'नाइँ नभन्नू ल'का शृंखला रिलिज हुँदै आएका छन्। यो साल रेखाले पनि दशैं छाडेर नयाँ वर्षलाई आफ्नो नयाँ फिल्म 'रामप्यारी'को रिलिज मिति घोषणा गरिन्।

दर्शकले पर्दामा तीनथरी फिल्म हेर्न पाउने सम्भावना थियो तर यसपालि पनि छविले मैदान छाड्ने निर्णय गरे। अन्तिम समयसम्म पनि फिल्म रिलिजका बारेमा सोध्नेलाई दुई सय प्रतिशत आउँछ भनेर गफ दिने गरेका छविले अन्ततः 'किस्मत २'लाई ६ महिना पछि सारेर दशैंको अवसरमा रिलिज गर्ने घोषणा गरे।

यसरी रेखाले तोकेकै डेटमा रिलिज गर्नबाट पन्छिनु पर्ने छविका आफ्नै बाध्यता होलान् तर टाढाबाट हेर्नेले यही त भन्छन् नि, छवि रेखासँग डराउँछन्।

प्रकाशित: ७ वैशाख २०७३ ०१:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App