८ वैशाख २०८१ शनिबार
कला

मानव सेवा आश्रमको भवन निर्माण गर्न नेपथ्य लाइभ कन्सर्ट

नेपालगन्जमा आयोजना गर्न लागिएको लाइभ कन्सर्टबारे जानकारी दिँदै। तस्बिर: अर्जुन ओली/नागरिक

मानव सेवा आश्रमको भवन निर्माण र आश्रितको स्वास्थ्य उपचारका लागि आपतकालिन अक्षयकोष स्थापना गर्न नेपालगन्जमा लाइभ कन्सर्ट गर्न लागिएको छ। नेपालगन्जका समाजसेवी एवम् दानवीर जे.के. सिंहले बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ६ मा उपलब्ध गराएको १० कठ्ठा जमिनमा मानव सेवा आश्रमले भवन निर्माण प्रक्रिया सुरु गर्दैछ।  

यही मंसिर २९ गते हुन लागेको नेपथ्य लाइभ कन्सर्टको तयारी तीव्र पारिएको हो। नेपालको चर्चित नेपथ्य ब्याण्डसँगको सहकार्यमा उक्त कन्सर्ट गर्न लागिएको मानव सेवा आश्रम नेपालगन्जकी सृजना ओलीले बताइन्।  

नेपालगन्ज रंगशालामा हुन लागेको उक्त कन्सर्टका लागि गठित विभिन्न उपसमितिले तयारी तीव्र पारेको मूल समितिका संयोजक कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए। मूल समिति र विषयगत समितिले आ–आफ्नो जिम्मेवारी अनुसार काम गरिरहेको उनले बताए। आवश्यकताका आधारमा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूसँग चरणबद्ध छलफल र तयारीलाई तीव्रता दिइएको आयोजकले जनाएको छ।  

कन्सर्टका लागि जयनारायण शाहको संयोजकत्वमा सुरक्षा तथा समारोह स्थल व्यवस्थापन समिति, शुक्र ऋषि चौलागाईको संयोजकत्वमा मिडिया तथा प्रचार प्रसार समिति, कृष्ण श्रेष्ठको संयोजकत्वमा मिट एण्ड ग्रिट कार्यक्रम व्यवस्थापन समिति, विष्णु मैनालीको संयोजकत्वमा प्रायोजक समन्वय समिति, नन्दलाल बैश्यको संयोजकत्वमा अतिथि सत्कार व्यवस्थापन समिति, वीर सिंह क्षेत्री संयोजक र उमा ग्राण्डन सह संयोजक रहेको आवास व्यवस्थापन समिति, गोविन्दप्रसाद पाण्डेको संयोजकत्वमा सरकारी तथा सार्वजनिक क्षेत्र समन्वय समिति निर्माण गरिएको छ।  

यस्तै सचिवालय व्यवस्थापन समितिको संयोजकमा जे।के। सिंह, संघ संस्था समन्वय समितिको संयोजकमा नमस्कार शाह, सहकारी संस्था व्यवस्थापन समितिमा नारायण सिग्देल संयोजक रहेका छन्। मानवताका लागि सांगितिक यात्रा नेपथ्य लाइभ कन्सर्ट नेपालगन्जसहित १० सहरहरूमा कार्यक्रम गरिँदै छ। नेपथ्य ब्याण्डका चर्चित गायक अमृत गुरुङले मानवता झल्किने र मानवता प्रवर्द्धनमा सहयोग पुग्ने गीतहरू कन्सर्टमा प्रस्तुत गर्ने भएका छन्। कन्सर्ट यही मंसिर २९ गते अपरान्ह ४ बजेदेखि ८ बजेसम्म चल्नेछ। 

प्रकाशित: २० मंसिर २०७९ १२:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App