coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

साहित्यकार डा. रमेश शुभेच्छु सम्मानित

ज्ञानदीप शिक्षा सदन विद्यालयको प्रांगणमा  प्रोगेसिभ एजुकेसनल फोरमको आयोजना र ज्ञानदीप शिक्षा सदन विद्यालयको संयोजनमा आयोजित एक कार्यक्रम बिच साहित्यकार रमेश शुभेच्छु सम्मानित भएका छन्।

साहित्यकार प्राडा रामप्रसाद ज्ञवालीको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा  प्रोगेसिभ एजुकेसनल फोरमका सबै विद्यालयका प्राचार्यहरूको उपस्थिति रहेको थियो। ज्ञानदीप शिक्षा सदनले हरेक वर्ष आफ्नो विद्यालयमा कार्यक्रम गरी यस्तो सम्मान अर्पण गर्दै आएको छ। यस वर्ष स्रष्टा सम्मान कार्यक्रमका साथै  ‘मानव कल्याण र राष्ट्रविकासमा वैज्ञानिक शिक्षा वरदान कि अभिशाप’ विषयक वादविवाद प्रतियोगिता आयोजनासहित स्रष्टा सम्मान गरिएको थियो।

यो सम्मान शुभेच्छुलाई अढाई दशकदेखि शिक्षा र साहित्य क्षेत्रमा पुर्‍याएको योगदानका लागि दिइएको फोरमकी अध्यक्ष एवं ज्ञानदीप शिक्षा सदनकी प्रिन्सिपल सीता भट्टराईले बताइन्। सोही कार्यक्रमममा साहित्यकार धर्म पोखरेललाई पनि सम्मान गरिएको थियो।

शुभेच्छु र पोखरेल दुवैलाई सम्मानसहित वादविवाद  कार्यक्रमको निर्णायकको जिम्मेवारी दिइएको थियो। उनीहरूको निर्णायकमण्डलले  योग्य ठहराई प्रोगेसिभ एजुकेसनल फोरमका विद्यालय र सहभागी विद्यार्थीमध्ये अनमोल ज्योति विद्यालयकी कक्षा दशकी छात्रा समीक्षा बराल प्रथम, न्युमोनिक एकेडेमीकी कक्षा दशकी छात्रा राधिका श्रेष्ठ द्वितीय, मोक्षदा विद्यालय कक्षा आठकी छात्रा तपस्या खतिवडा तृतीय, दुर्गा भवानी एकेडेमीका कक्षा नौका छात्रा सृष्टि भन्डारीले सान्त्वना स्थान प्राप्त गरेका थिए।

कार्यक्रम प्रोगसिभ एजुकेसनल फोरम लगायत आयोजक ज्ञानदीप शिक्षा सदन र यस विद्यालयकी प्राचार्य सीता भट्टराईको सभापतित्व एवं सहित्यकार रामप्रसाद ज्ञवालीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रमलाई सम्मानित प्रतिभाका तर्फबाट सम्बोधन गर्दै रमेश शुभेच्छुले समाजमा शिक्षाको र साहित्यको विकास भइरहेको, निराश बनिहाल्नु नपर्ने बरु आआफ्नो प्रतिभाको विकास गरेर राष्ट्र निर्माणमा सघाउनुपर्ने अवस्था रहेको बताए। उनले साहित्यलाई होहल्लाभन्दा पनि साधनाको क्षेत्र हुँदा आफूले त्यसरी नै लिने गरेको बताए। आफूले पुरस्कार पाइएला भनेर साहित्य सेवा नगरेको र पैसा कमाइएला भनेर शिक्षासेवा नगरेको तर आज यसरी मूल्यांकन गर्ने संस्था र व्यक्ति हुँदा रहेछन् भनेर थाहा पाउँदा खुसी लागेको बताए।

पोखरेलले वादविवाद प्रतियोगिताको नतिजा सुनाएका थिए भने  प्रमुख अतिथि ज्ञवालीले एमरेज बन्ने कि एक्सट्रा बन्ने भन्ने आजको प्रतिभा विकासको सूत्र भएको बताए। उनले शुभेच्छु जस्तो राष्ट्रिय साहित्यिक एवं शैक्षिक प्रतिभालाई सम्म्मान गर्न पाउनु आफूले पनि खुसीका रूपमा लिएको बताए।

त्यस्तै धर्म पोखरेल र आफू सहकर्मी भएको बताउँदै सहकर्मीको सम्मान आफ्नो पनि सम्मान भएको बताए।

कार्यक्रम प्रोग्रेसिभ एजुकेसनल फोरमको आयोजना र ज्ञानदीप शिक्षा सदनको संयोजकत्वमा काठमाडौं -७ चाबहिल,गौरीनगरस्थित  ज्ञानदीप शिक्षासदनको प्रांगणमा भएको थियो। कार्यक्रममा संयोजक विद्यालयका शिक्षक विष्णु कोइराले स्वागत मन्तव्य राखेका थिए। प्रगेशिभ एजुकेसनल फोरमका सदस्य सचिव लम्बोदर घिमिरले कार्यक्रममा धन्यवाद व्यक्त गर्दै अतिथिहरूको सम्मान, स्रष्टा सम्मान अनि प्राडा रामप्रसाद ज्ञवालीको प्रेरणा र प्रोत्साहनयुक्त सहभागिताले विगतदेखि नै प्रोगेशिभ एजुकसनल फोरम लाभान्वित हुँदै आएको, कवि तथा समालोचक डा. रमेश शुभेच्छु अनि धर्म पोख्रेल जस्ता स्रष्टाहरूको सम्मान गर्न पाउँदा खुशी व्यक्त गरेका थिए।

प्रमुख अतिथिबाट प्रोगेसिभ एजुकेसनल फोरमले विद्यार्थीको भविष्य बनाउने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। विद्यार्थीहरूले पनि आफ्नो जीवन उज्यालो बनाउन सामान्य भएर हैन अझ आफू फरक भएर प्रतिभा देखाउनुपर्छ। आफ्ना चरित्रलाई सुधार्नुपर्छ। भोलि आउने भविष्य सुन्दर बनाउनुपर्छ भन्दै विद्यालय,प्राचार्य र विद्यार्थीलाई उचित मार्गनिर्देशन गर्ने विचार प्रस्तुत गरेका थिए।

कार्यक्रम संयोजक संस्था फोरमममा ज्ञानदीप शिक्षा सदन, महान् सिद्धार्थ हाइस्कुल, मिसन पब्लिक स्कुल, दुर्गा भवानी विद्यालय, मोक्षदा स्कुल, सेन्ट लरेन्स स्कुल, न्युमोनिक एकेडेमी, लभ्ली एन्जल्स स्कुल, न्यु सनसाइन विद्यालय लगायतका विद्यालयहरू रहेका छन्। यी विद्यालयले आफ्ना बालबालिककाको चौतर्फी विकासका लागि संयुक्त रुपमा कार्यक्रम आयोजना गर्दै आएका छन्।

प्रकाशित: १९ मंसिर २०७९ ०८:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App