२३ माघ २०७९ सोमबार
कला

विनोद नेपालका पाँच लघुकथा

विनोद नेपाल

१) राजनीति

धेरैपछि उनको फोन आयो। उनी छक्क परे। तर,खुसीसाथ फोन उठाएर अभिवादनसँगै बधाई दिए।

उनले पनि बधाई पाए भन्ने उनको हाउभाउ र ‘धन्यवाद’ को जवाफले बुझियो।

उताको कुरा नसुनिए पनि उनको मन्द मुस्कानले कुराकानी सौहार्द नै छ भन्ने देखाउँथ्यो।

उताबाट भनिएका कुरामा सहमति र समर्थन जनाउनुबाहेक उनले केही भनेनन्। उनले ‘हस्, भैहाल्छ नि,अवश्य’ जस्ता छोटा तर सकारात्मक जवाफ दिए।

उनीहरू बिचको संवाद सकिएपछि सामुन्ने बसिरहेको पत्रकार (जो अघिदेखि उनीसँग सम्पन्न निर्वाचन र त्यसको परिणामप्रति उनको धारणा बुझ्ने प्रयत्न गरिरहेको थियो) ले केही सोध्न खोज्दै थियो।

उनले प्रफुल्ल मुद्रामा भने, ‘कुन्नि के जाति पुछेको टालो पनि काम लाग्छ भनेको यही हो, बुझ्नुभो! यो यस्तो क्षेत्र हो जहाँ को कतिखेर काम लाग्छ थाहै हुँदैन। त्यसैले फूर्तिफार्र्ती बेकार छ।

२) पछुतो

‘त्यसपछि मैले राजनीति छाडें’, उनले विगत सम्झिंदै भने,‘जब यो साँच्चिकै फोहरी खेल रहेछ भन्ने महसुस गरें।’

प्रश्नकर्ताले सोधे, ‘त्यस्तो महसुस कतिखेर गर्नुभयो त?’

जवाफमा उनले भने, ‘धेरै ढिलो। त्यसैले त यो हाल भयो।’

‘चन्दा मागे। चन्दा दिएँ। कार्यक्रममा हुने खर्चहरू बेहोरें। त्यहाँसम्म त ठिकै थियो, उम्मेदवार बनाउने आश देखाए, आश मात्रै देखाएनन्, जिताउने आश्वासन पनि दिए। लोभिएँ, उनीहरूले भनेजसो गरिरहें’ उनले भने।

प्रश्नकर्ताले सोधे,‘अनि अनुभव नै नभएको क्षेत्रमा त्यसरी लाग्नुहुन्थ्यो त?’

उनले भने,‘उही लोभ त हो। लोभले लाभ, लाभले विलाप भन्छन् नि। हो त्यस्तै भयो। दिनभर पसल कुरेर थोपाथोपा बटुल्नुभन्दा एकैपटक घैला भर्ने लोभले नि।’

३) दोष

नसोचेको परिणाम आएपछि उनी असन्तुष्ट भए।

उनको असन्तुष्टि देखेर एक इमानदार कार्यकर्ताले भने,‘हामीसँग पनि सल्लाह गरेको भए के जान्थ्यो र? कहिलेकाहीं त अरूको कुरा पनि सुन्नुपर्छ क्या।’

अर्का कार्यकर्ताले भने, ‘हो नि, पार्टी भनेको कसैको बिर्ता त होइन नि? हामीसँग सरसल्लाह गरेको भए यस्तो अवस्था हुँदै हुँदैनथ्यो।’

उनले भने, ‘ठीक छ। अब सबै दोष मैमाथि थोपर्नुस्। लौ मानें, मेरै कमजोरी हो सबै। मैले नै गल्ती गरें। अँ भन्नुस् त, तपाईंहरूसँग सल्लाह मागेको भए के दिनुहुन्थ्यो?’

उनीहरू केहीबेर अलमलिए र भने,‘अरू के भन्नु? त्यो तपाईंको जिम्मेवारी हो। तपाईं नै निर्णय लिनुस् भन्थ्यौं।’

४) स्वाद

बोलिरहनुपर्ने उनको मौनतालाई उनीहरूले आँधीअघिको सन्नाटा ठानेका थिए।

नभन्दै भयो त्यस्तै। उनी अर्कातिर फर्के र भने, ‘मैले तिमीहरूबाट यस्तो अपेक्षा गरेको थिइनँ। ठानेको थिएँ तिमीहरू मेरो पक्ष र समर्थनमा छौ।’

उनीहरूले परस्पर मुखामुख गरे। सबैलाई लाग्यो, ‘लौ अब बर्बाद भयो। अब दुखका दिन सुरु भए।’

एउटाले आँटेर सोध्यो,‘किन हजुर, के भयो? हामीले हजुरको कहाँ र कहिले विरोध गर्‍यौं?’

हुन पनि उनी उनीहरूका अभिभावकजस्ता थिए। उनीहरूलाई सहयोग नै गरेका थिए, परेको बेला संरक्षण गरेका थिए र उनीहरूले पनि उनको भलो नै गरेका थिए। कहिल्यै विरोध वा असहयोग गरेका थिएनन्।

कुरा सुनेर उनले रिसाउँदै भने, ‘के बुझ पचाउँछौ? देखेनौ परिणाम? सहयोग गरेको भए यस्तै हुन्थ्यो?’

भर्खरै सम्पन्न निर्वाचनमा पराजित भएका उनले आक्रोशित हुँदै भने।

उनीहरूमध्येकै एउटाले भन्यो, ‘सधैं एउटै परिकार कति खानु हजुर! कहिलेकाहीं त स्वाद पनि फेर्न मन लाग्दोरहेछ।’

५) अटेरी हात

मतदान गरिसकेपछि मतदानस्थलबाट बाहिर आएर ऊ टोलायो।

म आश्चर्यमा परें र सोधें,‘किन टोलायौ, के भयो?’

उसले जवाफ दिएन बरु उसको अनुहार एकदमै अनौठो र अस्वाभाविक देखियो।

मैले सोधें,‘किन, के भो भन न। म केही सहयोग गर्न सक्छु कि?’

उसले चर्को आवाजमा भन्यो,‘तिमीले केही सहयोग गर्न सक्दैनौ यसमा,बुझ्यौ नि?’

मैले सोधें,‘किन?’

उसले भुईमा आफ्नो दायाँ हात जोडले बजार्दै भन्यो,‘हेर न, यसरी भएन। अब मत परिवर्तन गर्नुपर्छ भन्दै मतदानस्थलमा पुगेको थिएँ, जब स्वस्तिक छाप हातमा लिएँ तब यो साला हातले...।’

ऊ बोल्दाबोल्दै रोकियो।

मैले सोधें, ‘भन न, के गर्‍यो त्यो हातले?’

उसले भन्यो,‘बर्बाद गर्‍यो नि बर्बाद यार्।’

मैले सोधें, ‘के बर्बाद गर्‍यो, भन न।’

उसले भन्यो, ‘अरू के गर्नु थियो र यो यथास्थितिवादी अटेरी हातले  हत्तपत्त उही पुरानै चिन्हमा पो छाप लगाइदियो यार, भएन बर्बाद?’

प्रकाशित: १९ मंसिर २०७९ १२:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App