coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

जाडोमा जन्ती

संस्मरण

टंक भट्टराई

‘बाँच्दाको जन्ती। मर्दाको मलामी।’ नेपाली समाजमा प्रचलित उखान हो यो।

जन्ती भनेपछि एउटा उत्सव। दुई फरक कुल-कुटुम्बलाई प्रचलित रीति परम्परा अनुसार एकाघरमा जोड्ने सामाजिक प्रक्रिया। पारिवारिक र सामाजिक सम्मिलनको सम्बन्ध सेतु।

विभिन्न जाति, धर्म र सम्प्रदायका फरकफरक किसिमका वैवाहिक संस्कार अनुसार जन्ती जाने आआफ्नै तरीका र परम्पराहरू छन्। हाम्रो समाज एकल नभएर बहुल अर्थात् मिश्रित किसिमको समाज हो। एउटै समाजमा विभिन्न जातजाति, धर्म र सम्प्रदाय विशेषका मान्छेहरू अटाउने हुँदा जन्म, मृत्यु, विवाह लगायतका संस्कारहरूमा पारस्परिक प्रभाव, सद्भाव र सहभागिता पाइन्छ। कसैले मानी आएका संस्कार, संस्कृति र परम्पराहरूबाट अर्को पूरै बेखवर वा अनभिज्ञ रहने अवस्था हाम्रो समाजमा छैन।

यहाँ मैले एकभन्दा बढी जातिको विवाह संस्कारका कुरा गर्न लागेको होइन। विशेषगरी आफ्नो गाउँघरको क्षेत्री ब्राम्हण समाजमा आफू किशोर तथा युवा छँदा विवाहमा जन्ती जाँदाका रमाइला क्षणहरू सम्झिन खोजेको हुँ।

ऊ बेला प्रेम विवाह त अत्यन्त नगण्य नै थियो। आपसी प्रेमलाई खुला रूपमा स्वागत गर्ने र मान्यता दिने चलन थिएन। लुकीचोरी गरेको प्रेमलाई परिवार वा समाजले स्वीकृति नदिएको अवस्थामा प्रेमीहरू गाउँ नै छोडेर टाढा भागी बिहे गर्दथे। यो ठूलो चर्चाको विषय हुन्थ्यो गाउँमा।

गाउँमा प्रायः मगनी विवाहअन्तर्गत कुम्ले र बरियाँती विवाह मैले जानेको हुँ। निकै टाढा गई बिहे गर्नुपर्दा बेहुलासहित बढीमा आठ–दश जना जन्तीका साथ बेहुली लिएर आउने चलन कुम्ले विवाह हो भने ठूलो संख्यामा बाजागाजासहित जन्ती गई विवाह सम्पन्न गर्ने चलन वरियाती विवाह हो। आफ्नै एकाघरका परिवार वा नजिकका छिमेकीलाई मात्र कुम्ले विवाहमा जाने मौका मिल्थ्यो। टाढा जानुपर्ने भएकाले केटाकेटीलाई लैजाने त कुरै भएन। वरियाती विवाहमा मात्र हो अलिक हिंड्न सक्ने केटाकेटीले जन्ती जाने मौका पाउने। त्यो बेला केटी मान्छे जन्ती जाने चलन थिएन।

गाउँमा केटा मान्छेको विवाह हुँदैछ भन्ने थाहा पाएपछि अलिक ठूला खालका केटाकेटीको पूmर्ति नै अर्को। छोरी मान्छेको विवाहमा पनि खुसी नहुने त होइन। तर, जन्ती जान पाइने भएकाले छोरा मान्छेको विवाहको खुसी बढ्ता नै हुन्थ्यो। अर्को गाउँमा जन्ती गएर नयाँ ठाउँ र नयाँ मान्छे हेर्न पाइने, उकाली, ओराली, घुम्ती, तेर्सो र पच्याङ खालका पहाडी बाटा, वनजंगल र खोलानालाहरू तर्दै, साथीहरूसँग रमाउँदै, फुर्किंदै अनि अनेक खालका ठट्यौली गर्दै केटाकेटीमा जन्ती जान पाउनुको मजा कहाँ बयान गर्न सकिन्छ र! त्यसमाथि ठाउँठाउँमा पञ्चे र नौमती बाजाको रन्कोले मक्ख नपर्ने त को होला र!

हिउँदको समय। विशेषगरी कामबाट अलिक फुर्सद हुने महिना मंसिर, माघ र फागुन। अझ ढिकुटीभरि, भकारीभरि अन्नपातले भरिएको बेला। ठीक यसै समय बिहेको साइत जुराउँथे गाउँलेहरू। कुटुम्बसँग चिनजानको मान्छे (लमी) लाई लिएर अलि अगाडि नै केटा र केटाका अविभावक (बाबु/बढाउ/काका या दाजु) सहित केटी माग्न जाने। केटी पक्षले कुटुम्ब हार्न सकेनन् या केटा मन पराए भने ज्योतिषिलाई चिना/टिपन हेराउने। केटा र केटीको खड्गो परेन भने दुवै पक्षको सहमतिमा ज्योतिषिले उचित लग्नको दिन ठहर्‍याएपछि बिहेको तयारी गर्ने चलन।

बिहेको कुरा छिनेपछि गाउँलेहरू मिलेर बजारमा लुगा किन्न जान्थे। गच्छेअनुसार सुन खरिद गर्थे। सुन बनाउन सुनार र लुगा सिउन दर्जीहरू घरमै आउँथे। छरछिमेकका महिलाहरू सालका पात टिप्न जंगल जान्थे। सबै जना भेला भएर टपरी, दुना र बोहोता गाँस्थे। वल्लो गाउँ, पल्लो गाउँ, छरछिमेक र नरनाताका घरघरमा जन्ती जाने निम्ता दिन अलि पक्का र छरिता खालका युवाहरू खटिन्थे। सीप अनुसार सनाई, नगरा, दमाहा, ट्याम्कुलो, झ्याम्टा लगायतका बाजाहरू बजाउन दर्जीहरू ठीक गरिन्थे। बिहेको अघिल्लो दिन महिलाहरू भेला भएर कसार बटार्थे। रोटी पकाउँथे। बन्धुबान्धव, नाताकुटुम्ब र छरछिमेकहरू भेला हुन्थे। बाहुन आएर विभिन्न कर्मकाण्ड गर्थे।

जन्त त जाने भइयो तर लुगा छैनन्। ऊ बेला वर्षको एकचोटि दसैंमा मात्र केटाकेटीलाई एकएक जोर लुगा हालिदिन्थे बाउआमा। कहिले खद्दर वा घरेलुका सर्ट र सुरुवाल। कहिले सर्ट र कट्टू छोराछोरी सबैलाई प्रायः एकै खालका लुगा। जाडोमा बाक्लो लुगाको नाममा कति वर्ष पुरानो एउटा स्वीटर। त्यो पनि खरानी पानीमा पकाएर पिट्दापिट्दा जथाभावी तन्केको। धागो निस्किएको।

अब लुगा कोसँग माग्ने? गाउँमा जन्त नजाने आफ्ना दामली र राम्रा लुगा भएका मान्छेको खोजी गर्नुपर्‍यो। त्यो पनि आफूले माग्दा दिंदैनन्। बाउआमाले माग्दिनुपर्‍यो। नत्र कसैको सर्ट, कसैको जाकेट वा स्वींटर, कसैको पयन्ट, कसैको सुरुवाल र कसैका जुत्ता। हाम्रो बुवा आर्मीको जागिरे। जेठोपाको छोराको नाताले जन्त जानेमा मै पर्थें। बुवा जागिरे भए पनि लुगा त उही वर्षको एकचोटि मात्रै। सर्ट, पयन्ट, जुत्ता, स्वीटर या जाकेटमा कुनै न कुनै अर्धानो हुने भएकाले खोज्नै पर्ने। लुगा मिल्न आफ्नो दामली नै चाहियो। पयन्टको कम्मर अलि ठूलो छ र कस्ने पेटी छैन भने पयन्ट तान्दातान्दा हैरान! कहिलेकाहीं त आमाको पेटीकोटको इँजारले कस्थें र जाकेट वा स्विटरले छोप्थें। त्यसो गर्दा छेउका दुइटा गोजी अगाडिपट्टि माझमा आउँथे। सर्टका बाहुला पनि निकै दोबार्न पथ्र्यो। अरूसँग मागेका जुत्ता कहिले साँघुरा हुन्थे। कहिले ठूला। ध्यान त खालि तिनै लुगा र जुत्तातिर। आफ्ना लुगा होइनन् भन्ने कुरा त गाउँकाले थाहा पाइहाल्थे। तर, थाहा पाएर के भो र! धेरैको हविगत त्यस्तै।

यो अलिक सानो हुँदाको कुरा हो। अलि ठूलो हुँदै गएपछि या स्कूलमा ठूलो कक्षामा पढ्न थालेपछि भने घरमा झगडै गरेर भए पनि लुगाको जोहो गर्न थालियो। त्यसपछि भाइ अर्जुन अलि ठूलो हुँदै गएपछि जन्त जानमा उसले पनि पालो दिन थाल्यो। कहिले रोइकराइ गरेर मैसँग पछ्याएर जान्थ्यो। कहिले मेरै लुगा चोरेर भाग्थ्यो र लुकीलुकी जन्तीका हुलमा मिसिन्थ्यो।

जन्ती पुग्नुपर्ने ठाउँ नजिकै भए अलि ढिलो र टाढा भए बिहान चाँडै बेहुलो अन्माएर बाटो लाग्ने काम हुन्थ्यो। बेहुलो अन्माउने बेलामा बाजागाजा बजेपछि गाउँका सारा मान्छे जम्मा हुन्थे। बाजा बजाउने दर्जीहरू, कलश बोक्ने कल्स्यौली, डोली बोक्ने डोले, बेहुली ट्याङ्का र राति जाडोका लागि राडी र कम्बल बोक्ने भरियासहित भएर राम्रा र सफा पहिरनका साथ जन्त जानेहरू बडो ठाँटबाँटका साथ बाटो लाग्थे। घर बस्नेहरूलाई जाऊँजाऊँ लाग्थ्यो भने जानेहरूमा बडो उत्साह छाउँथ्यो। गाउँमा कसैका घोडा भए घुमाउरो घोडेटो बाटो हुँदै घोडावालहरू बडो शानका साथ जन्त जान्थे। बेहुलाबेहुली चढ्ने घोडाको बन्दोबस्त भएपछि डोली र डोलेहरू नभए पनि हुने भयो।

बाटोभरि जन्तीका झुन्डझुन्डमा गफ, उन्मुक्त ठट्यौली र हाँसोले वनपाखा गुञ्जायमान। हिउँदको बेला बेंसीतिरका जंगलमा ठाउँठाउँमा लटरम्म अमला र भलायोका बोट। ठूलाहरू रूख चढेर बेस्मारी हल्लाउँथे। अरूले भुईहुँदिबाट टिपेर गोजीमा हाल्थे। कोही सुकेका सालका पात र सल्लीपिरमा चिप्लिन्थे। कोही लडिएला भनेर जुत्ता हातमा बोकेर हिंड्थे।

शीतलमा बिसाउँदै र खोलानालाहरूमा पानी खाँदै हिंडेको जन्तीको लस्कर जंगलको अप्ठ्यारो बाटो र दिउँसोको घामले निकै लोलाएको देखिन्थ्यो। बिहानै हतारहतार मन नलागी-नलागी भात खाएर हिंड्नुपर्ने भएकाले आधा बाटैतिर भोकले जनाउ दिन थालिहाल्ने। दिन फिरेपछि र गाउँ आउन थालेपछि भने ठाउँठाउँमा बाजागाजाहरू बढो संगीतबद्ध भएर बज्न थाल्दा बाजाको रौनकले दिने आनन्द छुट्टै। लोलाएको ज्यानमा स्फूर्ति भरिएर आएजस्तो। भोक हराएजस्तो। गलेर लखतरान भएको ज्यानले त्राण पाएजस्तो।

बेहुलीको घर आउने बेलामा अलि वरै बिसाएर जन्तीको संख्या, भतेर नखाने कोही छन् भने तिनको संख्या आदि कुराको सूचना दिन केही संख्यामा भतखरुवा जान्थे। भतखरुवालाई बेहुलीको घरमा स्वागत गर्ने क्रममा धेरै उटपटयाङ कुराहरू हुने गर्थे। जस्तै कसारभित्र ढ्याके पैसा या अकबरे खोर्सानी, दहीमा नून, अचारमा चिनी, ओछ्याउन दिएको राडी-गलैंचामुनि तोरीका दाना, मकैका खोया, अमला जस्ता कुराहरू राखिदिने, केराका गानाको हुक्का बनाएर टक्रयाउने आदि। कतिपय ठाउँमा अप्रिय अवस्था समेत आउने भएकाले यो चलन पछिल्लो समयमा भने हराइसकेको छ। बेहुला र जन्तीलाई निम्ता स्वरूप भतखरुवाको हातमा पैयूँ र सिमलीको हाँगो दिएर पठाएपछि पञ्चेबाजा घन्काउँदै अत्यन्त भव्यताका साथ बेहुलो लिएर जन्ती विवाहस्थलमा प्रवेश गर्थे।

जन्ती र घरगाउँलेको भीडले बिहे घरको आँगन-दलान सबै भरिभराउ। घरको बार्दली, घरमास्तिरका बारीका डिलहुँदि सबै ठाउँमा मान्छेको घुँइचो। स्वयम्वर हेर्ने मान्छेको ठेलमठेल। केटाकेटी र बुढाबुढी त छिर्नै नसक्ने। घरभित्रबाट बेहुलीसँग स्वयम्वरमा निस्कने महिलाहरू ऊभन्दा ऊ राम्री! ऊभन्दा ऊ राम्री! कहींकहीं त बेहुली छुट्याउन पनि मुस्किल हुने।

जन्ती पनि ठाँटिएका। घरगाउँले पनि त्यस्तै ठाँटिएका। को कस्ता छन् भनेर घरगाउँलेहरू जन्तीतिर हेर्ने। जन्तीहरू घरगाउँलेतिर हेर्ने। विशेष गरी केटा मान्छे केटीतिर। केटी मान्छे केटातिर। यो दुईतर्फीको हेराहर बडो मीठो! लोभलाग्दो! यो हेराहेरले कतिपय अवस्थामा बिहेको रूप पनि लिन्थ्यो।

स्वयम्बर सकेर वरणी गरिसकेपछि जन्ती पर्सिने पालो। घरगाउँलेहरू मुठीभरि अक्षता बोकेर जन्ती पर्सिन तम्तयार। घरगाउँलेको हुलबाट अक्षता जोडसँग बर्सिने हुँदा बेहुलालाई चाहिं छाता ओढाइन्थ्यो। कसैले चाहिं जन्ती ताकीताकी हान्थे। एकचोटि मात्र होइन चारपाँचचोटि समेत। कतिले त घरबाटै चामल हालेर आउने। चामल नभए मकैका च्याँख्ला।

अब जन्ती पर्सेपछि भतेर खाने पालो। टाढाको बाटो घाम अस्ताउने बेला सबै जना भोकले हैरान।

‘लु जन्ती राजा हो! दर्जीहरू एक ठाउँ, डोले कल्स्यौले एक ठाउँ, बाउनहरू एक ठाउँ, व्रतबन्ध गरेकाहरू एक ठाउँ र नगरेकाहरू एक ठाउँ बस्नुहोस्।’ बुढापाका घरगाउँलेहरूबाट उर्दी जारी हुन्थ्यो। बारीका डिलमा केराको दाम्चो तेस्र्याएर गाग्रीबाट बिस्तारो हालेको पानीको धारामा हात धोएर बारीका डिलमा भतेर खान लहरै बस्थ्यौं। दुनाटपरी बाँड्ने छुट्टै। डालामा बोकेर भात हाल्ने छुट्टै। छुट्टाछुट्टै दुनामा अचार, फुरौला, केरा। कतैकतै घिउ, सख्खर। खसी काटेको भए एकदुईवटा मासुका फिर्कौला पनि। ओप्सानी हाल्नेहरूका लागि दुनामा छुट्टै पानी। आफ्नो भागमा कस्तो मासु पर्छ, भरसक अरूको भन्दा एकदुई चोक्टा बढी भए खुसी लाग्ने। तर, मासुको रस भने प्रशस्तै। खोर्सानी खोर्सानी हालेर रातै। खसी नभए फर्सीको रस। त्यो पनि रातै। खड्कुलामा पकाई मान्द्रामा खन्याएर डालाडालामा हाली टपरामा बाँडेको भातको बासना त्यस्तै मीठो!

‘पैला भात मुछौं है हजुरहरू! नभए रस चुहुन्छ। तर, हामीले हात छोडौं (खान सुरु गरौं) नभनी हात छोड्न चैं पाइँदैन है!’ घरगाउँले बुढाहरूबाट फेरि उर्दी आउँथ्यो। अगाडि सबै कुरा आइसके पनि बेहुलाले सुरु नगरी आफूखुसी सुरु गर्न नपाइने। ‘लु सबैले हात छोडौं अब!’ भान्सेबाट आदेश आएपछि हात छोड्न पाउँदाको खुसी त कसरी व्यक्त गरूँ? सबैले हात छोड्न थालेपछि हाङ्ग्राले पाङ्ग्रा निलेजस्तो। एकैछिनमा टपरो रित्तै।

‘भात! झोल!’ जन्तीको ठूलो-ठूलो र आत्तिएको आवाज परपरसम्म पुग्थ्यो। भान्सेहरूको दौडादौड र जन्तीहरूले दालभात र तरकारीको झोल मागेको दृश्य औधी हेर्नलायक हुन्थ्यो। टपरीबाट रस चुहेर भुई हिलै। अलि पछिपछि त प्रायः हरेक गाउँहरूमा सामूहिक रूपमा भतेर पकाउने भाँडाकुँडा लगायत थाल, बटुका र गिलासको बन्दोबस्त हुन थाल्यो। तर, स्टिलका थाल, बटुकाभन्दा चोखा टपरा, दुना र त्यसको प्राकृतिक बासनासँगै भतेर खानुको मज्जा बेग्लै। स्वाद बेग्लै।

जाडोको बेला। साँझ पर्न आँटेको समय। भात खाइसकेपछि सुरु भयो है अब भाते जाडो। कोही जन्ती आफन्त खोजेर लाखापाखा लाग्थे। कोही यताउति डुल्नतिर। घोडा हुनेहरू घोडालाई बाँसको घाँस र दाना खुवाउनतिर। कोही बिंडी, सुर्ती सल्काउनतिर।

रातिको जग्गे सुरु हुनुअघि बारीका पाटामा भव्य नाचगान। दर्जीहरू विभिन्न लोकभाकामा सनाइ बजाउँथे। ट्याम्कुलो ठोक्थे। कतैकतै साँझदेखि रातिसम्मै बारीका पाटामा रक्सीको व्यापार। रक्सी खानेहरू बारीका कुनातिर लुकेर अँध्यारामा स्वाट्टै पार्थे। कोही देखादेखी पनि। रक्सीको जोस, बाजाको रन्को र नाचको फन्कोले बिहेघर वरपर पूरै संगीतमय वातावरण।

अब सुरु भयो रातिको जग्गे। बेलुकादेखि उज्यालो सुरु हुनु अघिसम्म खोटाङले बिजुली देखेको त आजभन्दा बीस वर्षअघि ०६० सालतिर मात्रै हो। त्योभन्दा अघि दियालो, टुकी र लालटिनको धिपधिपमै गाउँले जिन्दगी चलेको थियो।

अलिपछि पेट्रोलमेक्सको चलन आयो। त्यो पनि गाउँका एकदुई जना हुनेखानेहरूकोमा मात्र। गाउँभरिका बिहाबटुलहुँदि घुमीघुमी त्यही जिनिस पुग्थ्यो। पेट्रोलमेक्स बाल्न जान्नु पनि ठूलो कुरा थियो। बाल्नेको वरिपरि विशेषगरी केटाकेटीहरू र अरू मान्छे पनि झुम्मिन्थे। उसले दम दिएको, पिन घुसारेको र जाली बाँधेर सल्काएको दृश्य जादुजस्तै लाग्ने। अन्ततः पेट्रोलमेक्स झललल बल्दा बिहेघर र त्यसको वरपर पूरै उज्यालो। पेट्रोलमेक्स नहुँदा केही थान लालटिन र जग्गेमा बलेका दाउराको मधुरो प्रकाश।

बेलुका जग्गे हेर्ने अनि गोडा धुने घरगाउँले र जन्तीहरूको उपस्थितिले बिहेघरको आँगन, दलान, बार्दली पूरै टनाटन। बाजा बजाउने दर्जीहरूको लागि ढिक्कीको कटेरो या त्यतै–कतै अलग्गै ओत लाग्ने ठाउँ छुट्याइएको हुन्थ्यो।

जग्गेमा जम्मा भएका जन्ती केटा र घरगाउँले केटीहरू बिचको हेराहेर बेस्मारी जम्ने। हेराहेर भएपछि यसो मेसो मिलाएर हल्का बातचित पनि हुने। केटाकेटीका लागि रातैभरि जग्गेमा बस्नुको आनन्द नै त्यही।

यता बेहुलीको घरमा जग्गेको फन्को। उता बेहुलाको घरमा रत्यौलीको रन्को। किशोरी, तरुनी र अझ उमेर खाएका महिलाहरूको उत्साहप्रद उपस्थिति। रत्यौलीको रमझमले एक रात भए पनि महिलाहरूको पूरै उन्मुक्ति। अनेक किसिमका हाउभाउ र कला प्रस्तुतिमा स्वतन्त्रता। पुरुषहरूलाई प्रवेश निषेध। बरु, महिलाहरू पनि धेरै जसो पुरुषकै भेषमा। ठट्टेउला र छाडा खालका किसिमकिसिमका प्रस्तुतिहरू। केराका थाममा परालको पुच्छर गाँसेर हैट् घोडा हैट्! रातैभरि मादलको तालमा रतिरागात्मक नाचगान र हाँसोले गाउँ पूरै गुञ्जायमान।

बेहुलीको घरमा जग्गे सुरु भएर गोडा धुन थालेपछि जन्ती र घरगाउँलेको बीचमा सिलोकको जुहारी। दुवैतिरका सिलोके बुढाहरू रातैभरि सिलोक भन्न खप्पिस। बेहुली पक्षका सिलोकेहरूले सिलोकबाट विभिन्न प्रश्न सोधेर केटा पक्षलाई र्‍याखर्‍याख्ती पार्न खोज्ने। केटा पक्षका सिलोके पनि के कम अनेक किसिमका तुक्का जोडेर सिलोकबाटै सवालको जवाफ दिन खुब सिपालु।

सवालः कहाँबाट आयौ तिमी जन्ती कहाँसम्मको बास?

जन्तीका मुखमा फुरौला अड्के कहाँबाट फेर्छौ सास?

जवाफ: घरबाट आयौं हामी जन्ती यहींसम्मको बास

जन्तीका मुखमा फुरौला अड्के नाकबाट फेर्छौं सास।

सवाल: कति बाट्यौ नाम्ला–दाम्ला कति बाट्यौ कुचा?

कति आयौ बुढापाका कति आयौ फुचा?

जवाफ: धेरै बाट्यौं नाम्लादाम्ला थोरै बाट्यौं कुचा

धेरै आयौं बुढापाका थोरै आयौं फुचा।

सवालः  कहाँ खायौ दाल र भात कहाँ खायौ खाजा?

कति ल्यायौ डोला र घोडा कति ल्यायौ बाजा?

जवाफ: घरमै खायौं दाल र भात बाटामा खायौं खाजा

चाहेजति ल्यायौं डोला र घोडा नौमती ल्यायौं बाजा।

सवाल: कसकी छोरी श्रीसीता माई कसका छोरा राम?

कसका छोरा वीरहनुमान कसका छोरा घाम?

जवाफ: जनककी छोरी श्रीसीता माई दशरथका छोरा राम

वायुका छोरा वीरहनुमान कश्यपका छोरा घाम।

सवाल: तुलसीको लिङ्गो नौठाउँ बाङ्गो नवै ठाउँ लायो चरीले गुँड

ईन-ईन चरीका के के नाम लाउँछौ अर्थ कि छोड्छौ ठाम?

जवाफ: तुलसीको लिङ्गो नौठाउँ बाङ्गो नवै ठाउँ लायो चरीले गुँड

ईन-ईन चरीका हिरामोति नाम लायौँ अर्थ छोड्दैनौ ठाम।

सिलोकेहरूको सवाल र जवाफ सुन्न औधी मजा आउँथ्यो। सवालको जवाफ सकिएपछि देवी भागवत, रामायण, कृष्णचरित्र, गुणरत्नमाला आदि शास्त्रका सिलोक भनेर रात छर्लङ्गै कटाउँथे बुढाहरू।

सिलोकपछिको अर्को रमाइलो भनेको खाँडो जगाउने काम।

श्री ३ प्रतापी राजा जंगबहादुरके फौज से

भोटके निकटमे कोशीका तिरमे

लङ्का पलङ्का, नागादेश, घोरमुखा देश जित्नको

शूरवीर सेना चलते हैं

पर्रा गोली, छुरी, कटारी, चुप्पी

खुँडा, ढाल, तलबार, खुकुरी बर्सन लागे

.....कुइरेका टाउकामा ट्याक्क! ट्याक्क! ट्याक्क!

जग्गेको कर्मकाण्ड अघि बढेर रात निकै बितिसकेपछि बुढाहरूले हातमा खुकुरी समातेर वीररसले भरिएको खाँडो अत्यन्त जोश निकालेर भन्थे।

जन्तीहरू रात कटाउन कोही जग्गेमै तास फिट्थे। कोही चिनजान नाताकोमा गएर खेल्थे। कोही सुत्नतिर लाग्थे। रात निकै बितेपछि जाडोले चिल्न थाल्थ्यो। कतै सुत्ने ठाउँ नपाउँदा हामी केटाकेटीहरू घरगाउँलेको परालको माच खोज्नतिर लाग्थ्यौं। माचमा चढी परालको भारी फुकाएर भित्र घुस्रिन्थ्यौं। कोहीकोही त थाहा पाएर आउँथे र लाठो लिएर लखेट्थे। राति कसैले देखेनन् भने बिहानै वस्तुभाउ गर्न आउँदा माचमा पराल ओढेर सुतेको भेट्थे मान्छेहरूले। कोही चुप लाग्थे। कोहीचाहिं लौरो लिएर लखेट्थे। लुगा र कपालहुँदि सबै परालै परालको धूलो। रातको अनिंदोले आँखा काँचै।

कुनै बेला त नसुतीकनै कसैको घरमा गएर सात पत्ती, पाँच पत्ती तास खेलिन्थ्यो। घरबेटीलाई बत्तीको पैसा उठाएर दिइन्थ्यो। पैसा मार्ने खुसी नै होला। हार्नेको चाहिं खल्ती खाली। आँखा झिमिक्क नहुँदा जिउ भारी। बिहानपख खोक्दा र हाच्छ्यूँ गर्दा बत्तीको कालो पूरै निस्किने।

बेहुली गाउँमा जन्ती पक्षका चेलीबेटीहरू छन् भने सबैलाई सम्भव नभए पनि अलिक नजिकका दाजुभाइलाई बोलाई राति रोटी पकाएर खुवाउँथे। यसरी खुवाएपछि अलिक मन भएकाले चेलीबेटीको हातमा पैसा थमाइदिन्थे। कोही भने लुसुक्क छलिएर बाटो लाग्थे।

गाउँघरमा उल्लेखनीय दाइजो दिने चलन खासै त्यस्तो थिएन। हुनेखानेहरूले बेहुलीलाई अलि महँगा कपडा र श्रृङ्गार सामानका अतिरिक्त ठूला खालका अन्ती, झुम्का, सौभाग्य, सिक्री, चन्द्रमा, नौगेडी, हातमा बालो, खुट्टामा पाउजु आदि बनाएर लान्थे। नहुनेहरूले यसो एकदुईवटा गहना आफैंले बनाई अरूचैं बिहेपछि फिर्ता गर्नेगरी धनीमानीसँग मागेर लान्थे। केटी पक्ष धनी भए बेहुलालाई औंठी, सिक्री अनि थ्री पिस कपडा लगाइदिन्थे। तामाका चारकरे गाग्री, खड्कुला, कासका थाल, आम्खोरा आदि दाइजो दिन्थे। अलिपछि मैले थाहा पाउँदासम्म घडी, रेडियो र क्यासेटको पनि चलन आयो। नत्र, सर्ट–पयन्ट र एकसरो ओढ्ने ओछ्याउने कपडा सबैले दिन्थे।

कतैकतै बेहुलीको घर धनीमानी भए बेलुका र बिहान दुवै छाक खुवाउँथे। नत्र प्रायः बेलुकाको भतेर मात्रै। टाढाको बिहे भए बेहुलीको गाउँमा जन्ती पक्षका कुनै चेलीबेटी या आफन्त पर्नेकोमा पूर्वयोजना अनुसार जन्ते बाख्रो (खसी) पाक्थ्यो। नजिक भए बेहुलाकै घरमा जन्ती नजानेहरूले जन्ते बाख्रो तयार गर्थे। तातो भात र बेस्मारी खोर्सानी हालेको जन्ते बाख्राको झोलले अनिंदो ज्यानमा स्पूmर्ति भरिए जस्तो। तर, बाटाहुँदि भने आँखाको झपझप र भारी जिउले लडिएलाजस्तो।

बिहेघरबाट बिहानै बेहुली अन्माउँदाको दृश्य अत्यन्त कारुणिक। सनाईको धून त्यस्तै। बाउआमा अनि घरका परिवार त रुने नै भए, साथीसंगी र गाउँले सबैका आँखामा आँसु। सनाईको मार्मिक धून र बेहुलीको रुवाइले मुटु नै फुट्लाजस्तो। घरगाउँले मात्र नभएर जन्तीका आँखा पनि रसाउने।

सानामा जन्ती जाँदाका रमाइला घटनाहरू त धेरै छन्। तीमध्ये केही घटना अहिले पनि ताजै छन्।

एकचोटि सिरानघर गोपाल दाइको बिहेमा खाम्तेल जन्ती गएको थिएँ। बुबाले लेइदिएका कपडाका राता जुत्ता दिखुवा तरेर बसेरीको जंगल आएपछि लिपेखोलैसम्म हातमा बोकें। हातमा बोक्नुको कारण एक त सुकेका सालका पात र सल्लीपीरमा जुत्ता चिप्लिन्छन् भन्ने डर। अर्को जुत्ता फाट्छन् भन्ने डर। भोलिपल्ट बेहुली लिएर फर्किंदा हातमा बोकेका जुत्ता त्यही जंगलमा एउटाचाहिं कता खसेछ कता। एकछिन त निकै पछाडिसम्म पनि खोजें। पल्लाघरका दाइ र अरूले पनि खोजीमेलीमा सघाए। तर, कहीं भेटिएन। मलाई ठूलो सुर्ता पर्‍यो। आमाले मार्छिन् भन्ने डर पनि भयो। अझै खोज्नतिर लागौं भने त्यो एकलास जंगलमा जन्तीको हुलले छोडिहाल्छ। महादेवले मरेकी सतीदेवी बोकेर हिंडे जस्तै त्यै एउटा जुत्ता बोकेर मनमा चिन्ता लिंदै म पनि खाली खुट्टा हिंडिरहें। ‘यो एउटा जुत्ता किन बोकेको फाल्दे’ भनेर धेरैले भने पनि फाल्न माया लाग्यो। जंगल सकिएर दिखुवा खोला नजिक आएपछि पल्ला घरका दाइले मेरो हातबाट त्यो जुत्ता खोसे र तल कता हो कता घुइँक्याइदिए। दाइसँग एक त रिस पनि उठ्यो। तर, सबैले सम्झाईबुझाई गरेपछि आखिर एउटा जुत्ताले के गर्नु भनेर मैले पनि आफ्नो मन बुझाएँ।

त्यस्तै अर्को घटना खाम्तेल, टाँकीटारमा कट्टी रामचन्द्र दाइको जन्ती जाँदा भयो। त्यो बेला मैले नयाँ खालका भुक्के चप्पल लाएको थिएँ। त्यो पनि फिता चुँडिन्छन् भनेर जंगलको बाटाभरि हातमा बोकेर हिंडेको। बेलुका जग्गेमा एकछिन बसेर जेठा मामासँग अलि तल नाता पर्नेको घरमा सुत्न झरें। त्यहाँ अरू चारपाँच जना हाम्राँ गाउँले जन्तीहरू पनि थिए। त्यो घरमा च्वाइँरोटी पकाए। घरभित्रै दैलानेरिको कुनामा ठूलाठूला खसी बाँधेका। मैले चप्पल त्यही फुकालें। हामीले भित्र मझेरीमा बसेर च्वाइँरोटी खायौं। एकछिनपछि सुत्ने बेलामा चप्पल हेर्छु त एउटा चप्पलको एकापट्टिको फिता खसीले खाइदिएछ। लु बर्बाद भो। त्यो बेला गाउँतिर पसल हुने त कुरै थिएन। अब बेहुली गाउँमा खाली खुट्टा कसरी हिंड्ने? मैले चप्पलको फिता खसीले खाइदिएछ भनेर अरूलाई देखाउँदा सबै जना मरीमरी हाँस्न थाले। त्यो चप्पललाई निकैबेर हेरेपछि बल्ल मामाले एउटा जुक्ति निकाल्नुभो। राति नै पाटको डोरी बाटेर फिताको एक पाटोमा दुईतिर प्वाल छेडेर बाँधिदिनुभो। चप्पलको चिन्ताले मलाई त्यो रात निकै बेरसम्म निद्रा परेन। भोलिपल्ट बिहानै त्यही पाटको डोरी गाँसेको चप्पल लाएर म अरूसँगै बेहुली अन्माए ठाउँ गएँ। पयन्ट अलि तल झारौं भने त्यो पनि छोटो। मेरा आँखा जतिखेरै त्यही चप्पलतिर। अरूले पनि मेरो चप्पलको हविगत देखे। म भने शरम मानीमानी जन्तीको लस्करमा मिसिएर बाटो लागें।

एकचोटि गाउँकै एउटा बिहेमा मात्तिमको बोफुईं भन्ने ठाउँ जन्ती गएको बेला अघिल्लो दिनदेखि दाउ हेरेर भोलिपल्ट बेहुली भित्र्याउने बेलाको भीडमा राम खतिवडाको पार्कल कलम चोर्न सफल भएको कुरा मैले छुट्टै संस्मरणमा उतारेको छु। ‘सुनबिर्के फुल्टिन’ शीर्षकको त्यो संस्मरण निकै वर्षअघिको नागरिक दैनिकमा छापिएको थियो।

ऊ बेला जन्ती जाँदाका अरू सानातिना घटनाहरू त कति छन् कति। विभिन्न ठाउँमा जन्ती जाँदा साथीहरूको लहैलहैमा लागेर बेहुली पक्षका केटाहरूसँग कति निहुँ खोजियो। झगडा गरियो। कति कुटाइ पनि खाइयो। आपूmले कुट्न नसके पनि भाग्दैभाग्दै अनि सराप्दै कतिलाई ढुंगाले हानियो। एकचोटि लफ्याङमा निकै रात टरेपछि बेहुलीको घरमुन्तिर भैंसीको गोठमा परालको भारी फुकाई त्योभित्र सुत्दा भैंसीले किचेर झन्डै मारेको।

अब त यी कुरा सबै कथा भइसके। राति जग्गे गर्ने चलन हटेको पनि जुगौं भइसक्यो। पञ्चे बाजा, नौमती बाजाका मर्मस्पर्शी लोकलय र भाकाहरू गाउँका दूरदराजतिर मात्रै कतैकतै सुनिएलान्। नत्र मुटु नै फुट्ला जस्तो व्याण्ड बाजाको कर्कश ध्वनिले कान नै टट्टाएर आउँछ। अब जन्ती जाँदा कहाँ हिंड्न पाउनु बाटामा पर्ने ती पाखा-पर्वत, गाउँ-बस्ती, देउराली-भञ्ज्याङ र वर-पीपल चौतारीहरू। सुरुवाल माथिमाथि सुर्केर कहाँ तर्न पाउनु खोलानाला। बारीका पाटा भत्काएर जथाभावी खनेका धुले बाटामा गाडी घल्च्याङघल्च्याङ पार्दै जिउभरि धुलैधुलो र गाडीले थिल्थिलो भएको शरीर लिएर बल्लबल्ल बेहुलीका घरमा पुगेपछि छिटोछिटो खानपीन र कर्मकाण्ड सकाएर हिंड्नैको हतार। दिउँसोको छोटो जग्गेमा कल्ले भन्ने सिलोक? कल्ले जगाउने खाँडो? कतिपय बिहेमा बाजै हुँदैनन्। बिहान उज्यालो नहुँदै सुमुुसुमु गयो अनि रातको अँध्यारोले छोपेपछि सुमुसुमु बेहुली लिएर आयो। गाडीभित्र उही जन्तीका होहल्ला, उटपटयाङ र कतै छेउटुप्पा नमिलेका गीत मात्रै।

शहरको त कुरै छोडौं। कहाँ बेहुलीको घर? कहाँ बेहुलाको घर? जानै पर्ने नजिकका मान्छे त घरमा जालान्। नत्र, उही पार्टी प्यालेस। आफ्नो समय अनुसार गयो। सामान्य शिष्टाचार गर्नु छ भने ग¥यो। नभए लुसुलुसु बाटो लाग्यो। जग्गे हेर्ने फुर्सद कसलाई? एकछिन बस्नेहरू पनि जतिखेरै विभिन्न पोजका साथ फोटो खिच्नमा मस्त। अनि कसैलाई यसो छेउकुनातिर झुण्डझुण्ड बसेर बात मार्न त कसैलाई फोनमै झुन्डिनको ध्याउन्न।

उहिले त बेहुली भित्र्याउँदा पारिदेखि घन्केका बाजागाजा सुन्नासाथ गाउँको शीरदेखि पुछारसम्मका मान्छेहरू बेहुलाको घरमा अगाडि नै झुम्मिन्थे। बुढाबुढीहरू लौरो टेकेर, महिलाहरू मेलै छोडेर, केटाकेटीहरू स्कूल छोडेर हान्निंदै बेहुली हेर्न आइपुग्थे। घुम्टो ओढेकी बेहुली हल्काहल्का पयर उचाली आँगनदेखि दलानहुँदै सँघार नाघेर भित्र पसेको, सासू-बुहारीले चुल्ठो जोडेको, मानापाथी भरेको दृश्य हेर्न मान्छेको तँछाडमछाड। अनि बेहुलीको नाक यस्तो, आँखा यस्तो, मुख र चिउँडो यस्तो, अग्ली-होची, काली-गोरी, मोटी-पातली कस्ती हो, उसका बारेमा महिलाहरूको खासखुस।

यसरी बेहुली भित्र्याइसकेपछि भने बल्ल जन्ती र अरू घर-गाउँलेहरू सबै आआफ्ना घरतिर।

२०७८ फागुन, नारानथान

प्रकाशित: १८ मंसिर २०७९ ०८:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App