८ वैशाख २०८१ शनिबार
कला

पोखरामा भैरव नाच प्रदर्शनको तयारी

भैरव नाच प्रदर्शनबारे जानकारी गराउँदै भैरव सांस्कृतिक संरक्षण समितिका पदाधिकारी । तस्बिरः सन्देश/नागरिक

पोखरामा भैरव नाच प्रदर्शनको तयारी शुरु भएको छ। भैरव सांस्कृतिक संरक्षण समितिको आयोजनामा हरेक ६\६ वर्षमा पोखरामा आयोजना हुँदै आएको तान्त्रिक भैरव नाच यस वर्ष यहि मंसिर १५ गतेदेखि प्रदर्शन शुरु गरिने सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो।

शुरुमा देवालयहरुमा र त्यसपछि टोल तथा व्यक्तिहरुकोमा भैरव नाच प्रदर्शन गरिने समितिले जनाएको छ। समितिका अध्यक्ष तीर्थमान प्रधानाङ्गका अनुसार भिमसेन मन्दिर भिमसेनटोलमा विहीबार प्रदर्शन गरेर भैरवनाच शुरु गरिनेछ। त्यसपछि मंसिर १६ गते गणेश मन्दिर गणेशटोल, १७ गते सरस्वती मन्दिर तेर्सापट्टी, १८ गते विन्ध्यवासिनी मन्दिर, १९ गते गणेश मन्दिर भैरवटोल र २२ गते गुरुको सम्मानमा नृत्य गुरु कृष्णदेव प्रधानाङ्गको निवास भैरवटोलमा नृत्य प्रदर्शन गरिनेछ।

देव, देवी मन्दिरहरुमा प्रदर्शन सकिएपछि टोल तथा व्यक्तिको घरमा नृत्य प्रदर्शन शुरु हुने समितिका अध्यक्ष तीर्थमान प्रधानाङ्गले जानकारी दिए। उनका अनुसार टोल तथा व्यक्तिका घरमा प्रदर्शन गर्नका लागि टोल तथा व्यक्तिले आमन्त्रण गर्नुपर्नेछ त्यसका लागि नाम टिपाउनुका साथै नृत्य प्रदर्शन गर्नका लागि न्यूनतम शुल्क तिर्नुपर्ने प्रावधान छ। टोल तथा समूहले आमन्त्रण गर्दा ५० हजार तथा व्यक्तिले आमन्त्रण गर्दा न्यूनतम ३५ हजार शुल्क तिर्नुपर्ने उनले बताए।

देवी मन्दिरहरुमा नृत्य प्रदर्शनको मिति तय भएपनि अन्य ठाउँमा भने मिति तय हुन बाँकी छ। अहिलेसम्म व्यक्तिगत रुपमा एक जनाले मात्रै नृत्यका लागि आमन्त्रण गरेको अध्यक्ष प्रधानाङ्गले बताए। यसअघि २०७२ सालमा ५५ ठाउँमा नृत्य प्रदर्शन गरिएको थियो। ‘यसपटक पहिलेभन्दा बढी ठाउँबाट आमन्त्रण हुने अनुमान गरेका छौं’–उनले भने।

हिन्दु तथा बौद्ध धर्मावलम्वीहरुले भय र दण्डका देवताको रुपमा भैरुवको पुजा गर्ने गरेका छन्। तन्त्रोक्त विधिवाठ पुजा गरिने भैरकाल विभिन्न रूप रहेका छन् भने भैरवको पुजनवाट भय हरण हुनुका साथै दुःख कष्ट निवारण हुने जन विश्वास रहेको संस्कृतिकर्मी तीर्थ श्रेष्ठले जानकारी दिए।भैरव नाच भक्तपुरबाट शुरु भएको हो। पोखरामा भने २५० वर्षअघि पोखराका नेवार समुदायले भित्राएको बताईन्छ। शुरुमा १२/१२ वर्षमा प्रदर्शन गरिने भैरव नाच २०२९ सालदेखि भने ६/६ वर्षको अन्तरालमा प्रदर्शन हुँदै आएको छ।  

भैरव नाचमा काल भैरव, महाकाली, ईन्द्रायणी, वाराही, कौमारी, विष्णुवी, व्रम्हायणी, गंगा, गणेश, दागिनी, भूःत्चा र कवाङको रुप धारणगरी शास्त्रीय भजनमा नृत्य गरिन्छ। यो नृत्य नेवारी भाषाका भजन र अनरतीको गायनमा आधारित भएर कौशिक, छयानट, मालवा, सारंगा, तोडी, मालश्री लगायतको रागहरु तथा खरजति, एक ताल र दोमा तालमा आधारित नर्तकहरूले नृत्य गर्ने गर्दछन्। मृदङ्गा (खि) झ्याली, ताः, धा, सहनाइ, मुहालीको वादनका माध्यमबाट संगीत सिर्जना गरिने यस नृत्यमा सामान्यतथा १२ नर्तक, ३० गायक, १० वाद्यवादक, १२ नर्तक सेवक, १२ जगेडा नृत्य कलाकार, १० स्वयम् सेवक तथा अन्य व्यवस्थापनका लागि २० जना गरि १०६ जना सहभागि हुने गर्दछन्।  

पोखरामा भैरव नाच लामो समय वरिष्ठ संस्कृतिकर्मी स्व.सर्वज्ञमान प्रधानाङ्ग र त्यसपछि स्व. कृष्णबहादुर वैद्यले गुरुको भूमिका निर्वाह गर्दै आएका थिए भने यस वर्षदेखि भैरव नाचका गुरु कृष्णदेव प्रधानाङ्गले प्रमुख गुरु र मेघवहादुर ताम्राकारले उपगुरुको रुपमा नृत्य प्रशिक्षण गराएका छन्।

प्रकाशित: १२ मंसिर २०७९ १०:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App