८ वैशाख २०८१ शनिबार
कला

सत्या अधिकारीका पाँच लघुकथा

लघुकथा

 

 सत्या अधिकारी 

 १) सेवा

महिनौदेखि अस्पतालमा थला परेका रामवीर आज सकीनसकी निर्वाचनस्थल पुगे। उनका वरिपरि धेरै मानिस सेवा दिन खनिए। उनीहरूले तुरुन्तै व्हीलचेयर ल्याए। हात समाएर बसाए।

निर्वाचनस्थलसम्म पुर्‍याए। कमजोर शरीर ढलमल गर्दै बल्लतल्ल भोट दिए। तर, अफसोस फर्कंदा भने त्यहाँ न अघिका कोही मान्छे थिएनन्।  न  हात समाउने आए न कुनै सेवा पाए!

मलाई अचम्म लाग्यो र एकजनासँग सोधे, ‘बाबू, खोई त अघिको व्हीलचेयर?’

प्रत्युत्तरमा एक लक्का जवान भन्दै थिए, ‘बाजे, त्यो त भोट हाल्न जानेलाई मात्र हो, फर्किनेलाई होइन नि!’

२) इच्छा शक्ति

कार्यालयको काम विशेषले म सूदुरतिर गएको थिएँ। गाउँगाउँ, बस्तीबस्तीबाट जनलहर उठेको थियो। वातावरण चुनावमय भएको थियो। नेता र भरौटेहरू बग्रेल्ती देखिन्थे।

बिहान सबेरै बाहिर निस्किएँ। अचम्म लाग्ने दृश्यहरू देखें। उम्मेदवारहरू भोट माग्ने निहुँमा कोही जाँतोमा हातो समाउँदै,  कोही ढिकीमा त कोही करौती लिएर धानबारीमा देखिन्थे। काम सघाउने नाममा उनीहरू मजाले चुनावको प्रचारप्रसार गर्दै थिए। सुदूरबासीहरू पनि सिंहदरवार गाउँमा पुगेको देखेर दङ्गदास देखिन्थे।

मभित्र झिनो आशा पलायो, ‘मान्छेले चाह्यो भने चुड्कीको भरमा काम फत्ते हुन सक्दो रहेछ। अब भने देशले मुहार पक्कै फेर्नेछ।’

घडीले ९ बजायो। खाना खाएँ र मनभरि विकासको आशाका किरण जगाउँदै कार्यालयतर्फ लागें। बाटामा एक हुल स्कुले विद्यार्थीसँग भेटें। सबैका हातमा सूर्य, हँसियाहथौडा,  रुख अनि हलो यस्तैयस्तै चुनावी पर्चाहरू थिए। चित्रमुनि आश्वासनका सुनौला अक्षरहरू लेखिएका थिए।

म फटाफट हिंड्दै थिएंँ। एउटा खिरिलो आवाजले रन्थनिएँ। ऊ भन्दै थियो, ‘बाफ रे बाफ! हामीले पढ्ने किताब आजसम्म आएको छैन। पर्चाचाहिं यति छिटो?’

३) आशिष

उनले श्रीमानलाई सम्झाउँदै भनिन्,‘जानु बुढा, घर लिएर आउनू। यो तीन दिन दशैंसँगै मनाउनुपर्‍यो। जोरीपारीको अगाडि पनि राम्रै हुन्छ। वर्ष दिनमा आउने ठूलो पर्व हो।’

श्रीमतीका कुरा मनासिव लाग्यो। उनी लिन गए।

घरमा ल्याउन निकै बिन्ती गर्नुपर्‍यो। आखिर मनाएरै ल्याए।

दशैंको टीकाको दिन थियो। सबै जहान परिवार टीकाको शुभसाइत छोप्ने तयारीमा थिए। घरमा ठूलाबाट आशिष थाप्ने क्रम चल्दै थियो।

सासू आमाले छोराबुहारीलाई के आशिष दिइन् कुन्नि, कसैलाई थाहा भएन। तर, नातिलाई भने टीका लगाउँदा उनका आँखा भरिएका थिए। जेनतेन छचल्किएका आंँसु अड्याउने कोसिस गर्दै भन्न थालिन्, ‘बाबू, जन्म दिने बाआमालाई सधैं आफ्नै घरमा बस्न दिनू है। दशैंको टीका थाप्न मात्र आमा लिन वृद्धाश्रममा जानू नपरोस्। सिउन नमिल्ने गरी मेरोझैं तिम्री आमाको मन नफाटोस् है!’

४) चौरासी

कान्छो बोल्यो, ‘दाइ, आजबाट बा ८३ वर्ष पुगेर ८४ लाग्नुभयो।’

जेठो आत्तियो,‘त्यही त। अघिल्लो वर्षदेखि नै आफ्नो चौरासी गर्न करकर गर्दै हुनुहुन्थ्यो। बेला नभएको बहाना गरें। अब के भन्ने हो?’

‘कसलाई के ध्याउन्न घर जुवाइलाई खानको...भनेजस्तै’ भनेर माइला सर्लक्कै पन्छियो।

तीन सन्तानको  मनसाय बुझेर उनी  केही नबोली झोक्राइरहेका थिए। मेरो नजर उनीमाथि पर्‍यो।

म विगत सम्झिन थालें, ‘सुब्बा हुँदा ऊ बेला कत्रो रवाफ थियो! नपुग भन्ने केही थिएन। कति मायाले हुर्काएका सन्तान! सुब्बिनी  मरेपछि बुढा फाउनेको ताउलो जस्तो भए। सबैको आँखाको कसिंगर भएर बाँच्नुपर्‍यो, विचरा!’

एकदिनको कुरा हो। सबै आआफ्ना खेतमा व्यस्त थिए। खेतको डिलबाटै माइलाको छोरो करायो, ‘ठुलाबा, झट्टै आउनु न! हजुरबाले हामी सबैलाई ठुलाठुला आँखाले हेर्नुभयो। बोलाउँदा बोल्नु नि भएन।’

उसका कुराले जेठो छोरा बा भएको ठाउँतिर दौडियो। अरू भाइ नि आए। तीनै भाइ मिलेर हतारहतार बालाई तुलसीको मठमा सारे। बिस्तारै गाउँले सबै जम्मा भए। सबैले रामनाम जपे। बुहारीहरू पनि धोको पुर्‍याएर रोए। आँगनको एक कुनामा झोक्राएका छोराहरू एकैस्वरमा विलौना गर्दै थिए, ‘यो वर्ष बाको चौरासी धुमधामसँग गरौंला भन्ने थियो तर पापी दैवले दिएन।’

५) ठेस

ऊ एउटै छोरा, पढाइमा अब्बल थियो। सबैले कुलको गर्व भन्थे। एसइई उत्तीर्ण गरेपछि उसले अनुनय  गर्‍यो, ‘बुवा, मलाई विज्ञान  गाह्रो लाग्छ। व्यवस्थापन विषय पढ्छु है?’

कानका रौं ठाडा पार्दै बाउ बोले, ‘हेरहेर,यसको मति बिग्रेको!  डाक्टर बनाएर  सबैका  अगाडि  शान राखौं भनेको। सुँगुरलाई स्वर्ग के पच्थ्यो र?’

उसले प्रतिवाद गर्‍यो, ‘च्याउसरि डाक्टर भएकाहरूको अहिले के इज्जत र भविष्य छ र? फेरि मेरो रूचिको पनि त कुरा हो नि!’

बाउको कुरामा आमाले पनि मनको लडडू घिउसँग खाइन्। उल्टै छोरालाई हकारिन्, ‘सन्तान गतिलो बनाम् भनेको, मेरो पुर्पुरो नै अभागी रैछ।’

कैयौं समय घरमा यही विषयमा चर्चा भइरह्यो। न त बाउआमाले आफ्ना  छोराको कुरा सुने न त आफ्ना विचार बदले। बाध्य भएर उसले विज्ञान विषयमा भर्ना भयो तर पढाइमा उसको रुचि थिएन। परिणाम ऊ  कक्षा एघारको अन्तिम परीक्षामा अनुत्तीर्ण भयो। ऊ निराश भयो। एक्लै टोलाउने र मनमा अनेक कुरा खेलाउन थाल्यो। किताब देख्दा तर्सिन थाल्यो। डाक्टर देखाए। आौषधि गरे। केही फाइदा भएन।

हिजोआज उनीहरू प्रायः सडकतिरै देखिन्छन्  र जसलाई भेटे पनि एउटै कुरा सोध्छन्, ‘सन्तानको इच्छा बुझेका छौ?’

प्रकाशित: १० मंसिर २०७९ ०८:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App