हिमेशको विद्यालयमा आज वक्तृत्वकला प्रतियोगिता छ। हिमेशकी ममीले उसलाई सम्झाउँदै भन्नुभयो, ‘हिमेश, समयमै विद्यालय जाऊ। तिम्रो मिसको फोन आएको छ। आज कार्यक्रम छ भन्नु हुँदै थियो। तिमी सधैं विद्यालय ढिला जान्छौं रे! हो, कहाँ अलमलिन्छौं तिमी?’
ममीलाई जवाफ नदिई ऊ बिस्तारै विद्यालयतिर लाग्छ।
कक्षामा भाग लिने विद्यार्थीहरूको नाम कक्षा शिक्षकले सुनाउनुभयो र भन्नुभयो, ‘तिमीहरू १ बजे विद्यालयको हलमा उपस्थित हुनु।’
हिमेश जोडले करायो, ‘मिस, मेरो नाम छैन त?’
मिसले हिमेशलाई मिठोसँग सम्झाउँदै भन्नुभयो,‘तिमी हिजो आएका थिएनौं। भाग लिने इच्छा भएकाले नाम दिनु भनेकी थिएँ। लिस्टमा तिम्रो नाम छैन त हिमेश!’
फेरि ऊ जोडले करायो, ‘म आएको थिएँ हिजो। उसको कुरा सुनेर कक्षाका सबै साथी गलल हाँसे। उसलाई झनै रिस उठ्यो। सबैलाई रातोरातो आखाँ पारेरे घुरेर हेर्यो।
मिसले उसलाई सोध्नुभयो, ‘तिमी, कति बजे आयौ हिमेश? ११ बजेसम्म म क्लासमै थिएँ।’
हिमेशका साथीले फेरि हाँस्दै भने, ‘मिस, हिमेश सधैं ढिलो आउँछन्।’
अर्का एउटा साथीले फेरि भन्यो, ‘दुई घन्टीमा आएका थिए हिमेश। अंग्रेजीकी मिसले ‘भोलिदेखि समयमा विद्यालय आऊ भनेर धेरै सम्झाउनुभएको थियो तर ऊ सधैं ढिला गर्छ मिस। कसैले भनेको मान्दैन।’
‘महेश,ठिक भन्यौं तिमीले। नेपालीको क्लासमा म महेशलाई त्यत्ति देख्दिनँ। मैले पनि पटकपटक सम्झाएकी थिएँ।
हिमेशले जोडसित कराउँदै भन्यो, ‘मैले नेपाली सबैभन्दा बढी जानेको छु। किन सधैं पढ्नुप¥यो नि!’
मिसले सबै विद्यार्थीतिर हेर्दै भन्नुभयो, ‘हिमेश,तिमीले कति जानेका छौं भन्ने कुरा समयले बताउनेछ।’
क्लासबाट जाँदै गर्दा मिसले सबैलाई हेर्दै भन्नुभयो, ‘भाग नलिएका विद्यार्थी पनि सबै जना हलमा उपस्थित हुनुपर्छ है। बोलेको सुनेर पनि धेरै कुरा सिक्न सकिन्छ।’
१ बजे कक्षा ४ र ५ का सबै विद्यार्थी हलमा भेला हुन्छन्। कार्यक्रम सुरु हुन्छ। भाग लिएका सबै विद्यार्थीले पालैपालो समयको महत्त्वबारे प्रष्ट पार्दै आफ्नो तर्क राख्छन्। सबैले ताली बजाउँछन्। अन्तिम वक्ता कक्षा-५का महेश थिए।
महेशले पनि समयको महत्त्व प्रष्ट पार्दै भने, ‘हामीले जे काम पनि समयमै गर्नुपर्छ। समयमा विद्यालय नआए हाम्रो क्लास छुट्टछ। समयमा बसपार्क नगए बस छुट्छ। खाना खाने, गृहकार्य गर्ने जस्ता सबै काम हामीले समयमै गर्नुपर्छ। हामीले सबै कुरा जानेका हुँदैनौं। समयले हामीलाई सिकाउँदै जान्छ,धन्यवाद!’
कार्यक्रमका अन्तमा मिसले नतीजा घोषणा गर्दै भन्नुभयो, ‘कक्षा-५ की दिव्या तेस्रो, कक्षा-४ का नरेश दोस्रो र कक्षा-५ का महेश प्रथम भएका छन्। सबै विद्यार्थी भाइ-बहिनीलाई धेरैधेरै धन्यवाद! समयको महत्त्व बुझेर काम गर्यौ भने सफलता पाउनेछौं।’
सबैले ताली बजाउँछन्।
नेपाली जान्दैनन् भनेर सधैं हेप्ने गरेको साथी प्रथम भएको र आफूले भाग लिन नपाएको सम्झेर हिमेश पछुताउँदै अबदेखि समयमै विद्यालय आउने निर्णय गर्दै घरतिर लाग्छ।
प्रकाशित: १० मंसिर २०७९ ०७:०४ शनिबार