१५ चैत्र २०८० बिहीबार
कला

जीवनको सात दशक: जीवन संघर्षको आलाप

पुस्तक

चन्द्रलाल तामाङ

‘जीवन यात्रा हो। निरन्तरको यात्रा।’ मान्छेको भोगाइ र कर्मको लेखाजोखा नै जीवन हो र समयको गतिसँगै आफूलाई हिंडाइरहनु जीवन यात्रा हो। यो यात्रा सबैको पूरा हुँदैन, थोरैको मात्र सफल हुन्छ। व्यक्तिगत अठोट र संकल्पले नै जीवन र जीवनयात्रा सफल हुँदो रहेछ भन्ने दृष्टान्त एक कर्मयोगी पूर्वप्रशासक व्यक्तित्व मधुसूदन ढकालको ‘जीवनको सात दशक’ आत्मवृतान्त पढेपछि थाह भयो।

यो पुस्तक मैले धेरैअघि पाएको थिएँ तर पढेको थिएन। केही दिनअघि उहाँसँग फेरि भेट भएको बेला प्रसंगवश ९० वर्षमा जीवनका पाइलाहरू लतार्दैछु बाबु भन्नु हुँदा उनको त्यो ‘जीवनको सात दशक’ झल्याँस्स सम्झें। पुस्तक पढ्ने बसें। कुनै रहस्यमयी कथा वा उपन्यासले तानेझैं पुस्तकले ध्यान तानिरह्यो।

स्नेही मित्रजनले झकझकाएपछि लेखेका उनको आत्मवृतान्तको केही घतलाग्दा विषयवस्तु टिपोट गरें। त्यही टिपोटको आधारमा म यो आलेख लेख्दै छु।

तत्कालीन समयबोध गराउने वस्तुगत विषय तथ्यहरूले पुस्तक ओजस्वी बनेको छ। कसैको जीवनी या आत्मवृतान्तले तत्कालीन राजनीतिक, सामाजिक, आर्थिक तथा ऐतिहासिक र प्रशासनिक पक्षहरूको ज्ञान पाइने हुँदा इमानदारीपूर्वक लेखेको आत्मवृतान्तले पुस्तान्तरणमा हाम्रो विविधता, ज्ञान र प्रविधि जोगाइराख्न र जीवित राख्न मद्दत पुग्ने कुरामा दुई मत छैन। केही मात्रामा भए पनि पुरानो सम्झना देश तथा समाजको बदलिंदो आयामको साक्षी बनिदिन्छ। समयको दस्तावेजपूर्ण यो पुस्तक पढेपछि केही लेख्ने हुटहुटी जाग्यो र पुस्तकबारे मनमा लागेको केही कुरा लेख्दै छु।

पुस्तक पढ्दै गर्दा लाग्यो, ‘समय परिवर्तनशील छ। निरन्तर बगिरहने खोला जस्तै बगिरहन्छ समय पनि। समयको अन्तरालमा हामीले प्राप्त गरेका उपलब्धिहरू र वर्तमानको राष्ट्रिय राजनीति र त्यसले पारेको प्रभावले समाज हिजोभन्दा आज के कति प्रगतिशील या उधोगतिशील छ भन्ने कुरा चाल पाउन ऐतिहासिक कुराहरूको समीक्षा गर्न जरुरी हुन्छ।

त्यसैले यो पुस्तक विगत र वर्तमान बिचको अन्तरक्रियात्मक कडीको रूपमा लिन सकिन्छ। इमानदारीपूर्वक वस्तुपरक ढंगले लेखिएकाले पनि यो पुस्तक अझ ज्ञानवर्द्धक हुन पुगेको छ।

पूर्व महालेखापरीक्षक मधुसूदन ढकालको जन्म १९८९ साल फाल्गुन शुक्ल चतुर्थीको दिन पण्डित चित्रभानु ढकाल र पद्मकुमारी ढकालको कान्छा सुपुत्रको रूपमा काठमाडौंको बालुवाटारमा भएको हो। लेखकका बुबा विहेपछि १८ वर्षको उमेरमा आफ्नो जन्मथलो सुन्दरीजलभन्दा पूर्वपट्टि ढकाल गाउँबाट भागेर ज्ञानको खोजीमा काशी जानुभएछ। व्याकरणमा आचार्य गरी ७ वर्षमा फर्किएछन्।

समयको नियति यस्तो परेछ, १९९० सालको महाभूकम्प जाँदा ११ महिनाको बालक टुकुटुकु हिंड्न थाल्दा पक्की घरको भित्ताको सट्टा बाँसको कप्टेराले बनेको छाप्राको भित्ता समातेर हिंड्न थालेछन्। उनको पिताजी पण्डित चित्रभानु ढकाल काशीबाट फर्केपछि त्यतिबेला पढेलेखेका विद्वानहरूको कमी भएकाले रानीपोखरी संस्कृत प्रधान पाठशालामा अध्यापकमा नियुक्ति दिने कुरा हुँदा नोकरी नगर्ने बरु स्वतन्त्र रूपमा पढाउने व्यवसाय लिने मनसाय व्यक्त गरेपछि तत्कालीन राजपुरोहित प्रयागराज पाण्डेको सहयोगीको रूपमा राख्ने र उनका छोराहरूलाई पढाउने काम तय भएछन्।

उनको सम्पर्क तत्कालीन प्राइम मिनिस्टर चन्द्रशम्शेर राणासँग र दरबारमा समेत भएपछि उनका लागि काठमाडौंको बसाइ सरल भएछ।

यसरी बुद्धिजीवी परिवारमा हुर्केको हुनाले लेखक मधुसूदन ढकालको जीवन-यात्राले दिशा निश्चित गर्न  सके। त्यसमा पनि आफ्नो लगनशीलता र अठोटले बौद्धिक क्षमता अझ तिखारिंदै गएको देखिन्छ। अध्ययनका विषयहरू पुरातन संस्कृतदेखि अंग्रेजी वाङमयसम्म समेटेको देखिन्छ। सानैदेखि आफ्नो पिताजीलाई कर्मकाण्डमा सघाउने ‘च्यान्टे बाजे’ ले संस्कृतमा ज्योतिष विषयमा आचार्य र आधुनिक अंग्रेजी माध्यमतर्फ विज्ञानबाट सुरु गरी राजनीतिशास्त्रमा विए गरेछन्। उनले २०११ सालमा शास्त्री, २०१४ मा आचार्य,२०१३ एसएलसी, २०१५ मा आइए र २०१८ मा विए गरेका थिए।

लेखकको जिन्दगीका आयामहरू पढ्दा उनी पढाइमा अगुवा हुनुका साथै संस्कृत नाटक, परोपकार संस्थाको स्वयंसेवक जस्ता अतिरिक्त क्रियाकलापमा संलग्न रहेको पाइन्छ। २००१ सालमा हिउँ परेको, २००४ सालको जयन्तु संस्कृतम् आन्दोलन,२००७ सालको प्रजातान्त्रिक आन्दोलन, १५ वर्षीय अर्धांगिनीलाई एक्लै घरबार सम्हाल्नुपरेका आलापहरू कतै रोचक त कतै विस्मित लाग्छ।

अध्यापन क्षेत्रमा अस्थायी रूपमा जागीरे यात्रा सुरु गरेको, स्थायी हुन नसकेपछि प्रहरी सेवामा जाने लहड चलेको, मनस्थिति बदलेर प्रशासनिक सेवामा लाग्ने निधो गरी २०१५ सालमा ग्याजेटेड पदको प्रतिस्पर्धामा सहभागी भएर सरकारी सेवामा प्रवेश गरी झन्डै ३३ वर्ष सरकारी सेवामा बिताएका दिनहरूको वर्णन अत्यन्त प्रेरणादायी छ। निरन्तर पदोन्नत्ति र साथै विभिन्न विभाग तथा मन्त्रालयहरूको कार्य अनुभव बटुलेका लेखक तत्कालीन समयका साक्षीजस्तै लाग्छ। उनको सरकारी सेवाको विवरण यसप्रकार छ:

२०१५ सालमा ग्याजेटेड अफिसर, योजनामण्डल, २०१६ शाखा अधिकृत, एकाउन्टेन्ट जनरल अफिस,२०१६ शाखा अधिकृत केन्द्रीय तथ्यांक विभाग, २०२१ उपसचिव,गृहमन्त्रालय, २०२२ उपसचिव, आर्थिक योजना मन्त्रालय,२०२७ निर्देशक, घरेलु उद्योग विभाग,२०२८ महानिर्देशक, हुलाक सेवा विभाग, २०३४ सहसचिव, पर्यटन मन्त्रालय, २०३५ महानिर्देशक,भन्सार विभाग, २०३६ अतिरिक्त सचिव, अर्थमन्त्रालय,२०३८ कामु सचिव, स्वास्थ्य मन्त्रालय,२०३९ सचिव, जलस्रोत मन्त्रालय, २०४५ सचिव, राष्ट्रिय योजना आयोग,२०४७ प्रमुख, महालेखा परीक्षकको कार्यालय,२०४८ सेवाबाट अवकाश र २०४९ सदस्य राजपरिषद् रहेका छन्।

यसरी सरकारी सेवामा उच्चतम पदसम्म हासिल गरेको लेखकको सेवाको प्रकृति हेर्दा एक कुशल प्रशासकको साथै दक्ष प्राविधिकको रूपमा पनि आफूलाई उत्ति नै अब्बल सावित गरेको पाइयो। २०१८ सालको राष्ट्रिय जनगणना, २०१९ को प्रथम कृषि गणना जस्ता कार्य उदाहरण हुन्।

देश दर्शनको क्रममा २०२६ सालको जुम्ला, तिवृकोट र डोल्पाको ४२ दिने अध्ययन भ्रमण देशको १२८०० फिटको उच्च भूभागहरू पैतालाले नापेको कठिन यात्राको दैनिकी पढ्दा कुनै उपन्यासका पात्रले भोग्नुपरेको दुःखदायी यात्रा जस्तो लाग्छ।

सरकारी सेवामा प्रवेश गरेपछि पहिलो महिनाको तलब १८० रुपैयाँ र महँगी भत्ता २० रुपैयाँ गरेर जम्मा २०० रुपैयाँको साथ दशैं खर्च २०० गरी जम्मा ४०० रुपैयाँ हात पर्दाको खुशी उस्तै चाखलाग्दो छ।

लेखक उच्च पदमा हुँदाका केही महत्त्वपूर्ण घटना उल्लेख गर्न उचित लाग्यो। २०२७ सालमा घरेलु उद्योग विभागको निर्देशक नियुक्त भएपछि निवर्तमान निर्देशक डिएन प्रधानले महत्त्वपूर्ण कागजात बुझबुझारथ गरेको घटना आश्चर्य र नौलो लाग्यो।

त्यस्तै लेखक एकाउन्टेन्ट जनरल अफिसमा सरुवा भएपछि तत्कालीन एकजना मन्त्रीले जिल्ला भ्रमण गर्न जाँदा लिएको पेश्कीको फाँटवारी बुझाउँदा केही रकम फिर्ता गर्नुपर्ने देखिएपछि मन्त्रीको निजी सचिव बोलाएर खबर पठाउँदा मन्त्री रिसाएर फाँटवारी दिन नसकिने काममा रकम खर्च भएकाले ‘रकम फिर्ता गर्न सकिंदैन। बरु को हो त्यो कर्मचारी, म कहाँ ल्याउनु’ भनेछन् र सो कुरा फाइल गरेर तत्कालीन एकाउन्टेन्ट जनरल लक्ष्मीलाल श्रेष्ठकहाँ पेश हुँदा ‘बाँकी रकमको फाँटवारी बुझाउन नसके तुरुन्त नगद बुझाउनु’ भनी मन्त्रीलाई चिठी लेख्नुस्। म सही गरिदिऊँला भनेको विवरणले तत्कालीन कर्मचारीमा कति राष्ट्रप्रति वफादार रहेछन् भन्ने थाह हुन्छ।

सधैं चुस्त,दुरुस्त र इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गरेका लेखकले घरेलु उद्योग विभाग र हुलाक सेवा विभागमा आफू प्रमुख भएपछि पहिलो पटक लेखापरीक्षण गराउन सफल भए र निरन्तर पदोन्नत्ति त भइरहेकै थियो। ‘गोर्खा दक्षिण बाहु’को तक्मा पनि पाउन सफल भए।

२०३५ सालमा निर्माण यातायात र पर्यटन मन्त्रालयमा बहाली हुनुअघि पुराना मन्त्रालयहरूका सचिवहरूलाई साक्षी राखी नयाँ मन्त्रीलाई कार्य प्राथमिकताको स्मृतिपत्र छोडेको र पछि मन्त्री परिषदका बैठकहरूमा भेट हुँदा मन्त्रीले सो पत्रहरूका लागि धन्यवाद दिएको र जलस्रोत सचिव हुँदा भारतीय राजदूतले देखाएको अमर्यादित व्यवहार तथा भारतले नेपालको जलस्रोत विकासलाई कुण्ठित गरेको परम्परा उदाङ्गो गरेको जस्ता सन्दर्भ  रोचक लाग्यो।

लेखकले आफू प्रमुख भएर गएको जति पनि कार्यालयमा केही महत्त्वपूर्ण कार्यको थालनी र सकारात्मक प्रयास गरेको देखिन्छ। संवेदनशील र प्रतिकूल समयमा पनि आफ्नो इमानदारी कायम गर्दै सरकारी सेवाको उच्चतम तह हुँदै संवैधानिक अंगको प्रमुखसम्मको जिम्मेवारी समालेका एक राष्ट्रसेवकको जिन्दगीको आलापहरू केलाउँदा हालको निजामती सेवाको दुर्दशाप्रति जो कोहीलाई आत्मग्लानि हुन्छ।

सरकारी सेवाबाट निवृत्त भएपछि पनि लेखकले गैरसरकारी संघसंस्थामा लामो समयसम्म देश र जनताको सेवा गरेको पाइन्छ। नेपाल नेत्रज्योति संघमा विभिन्न तहमा रहेर धेरै सेवा गरेको देखिन्छ। नेपाल मेडिकल कजेज स्थापना लगायत सामाजिक कार्य गर्ने ढकालले आत्मवृतान्तमा पारिवारिक घटना र पारिवारिक सम्बन्ध पनि समावेश गरेका छन्। उनकी अर्धांगिनीले सधैं हौसला र ऊर्जा दिने गरेकी रहेछिन्। यस हिसावले ढकाल परिवार एक अनुशासित र संगठित परिवार लाग्यो।

अन्त्यमा भन्छु, यसरी यो पुस्तकको चर्चा गरिरहँदा सबै विषयवस्तु समावेश गर्न असमर्थ भएकोमा क्षमा चाहन्छु। २६ उपशीर्षक राखेर तयार पारिएको पुस्तकमा उल्लेख गर्नुपर्ने कमीकमजोरी त छैन। तथापि आफ्नो जीवन सफल बनाउन श्रीमतीको योगदान कति हुन्छ र उनको त्याग-तपस्याको पनि शीर्षकै राखेर लेखेको भए बेस हुन्थ्यो जस्तो लाग्छ। आफूले भोगेको र सिकेको ज्ञान, सीप, प्रविधिको हस्तान्तरण गर्न आगामी पुस्ताले लिनुपर्ने कदमबारे पनि कतै उल्लेख गरेको भए बेस हुन्थ्यो। यो मेरो विचार मात्र हो। तैपनि पुस्तकले जिज्ञासु र बौद्धिक पाठकलाई बौद्धिक खुराक उपलब्ध गराउने कुरामा विश्वस्त छु।

अन्त्यमा यति सुन्दर ग्रन्थ पाठकलाई उपहार दिएकोमा लेखकलाई हार्दिक धन्यवाद तथा बधाई दिन्छु। उनको दीर्घजीवी र सुस्वास्थ्यको कामना गर्दछु।

लेखकः मधुसूदन ढकाल

पुस्तकको नामः जीवनका सात दशक

विधाः आत्मवृतान्त

प्रकाशकः लेखक स्वयं

प्रकाशन वर्षः विसं २०५९,

मूल्य: रु.१००।–

प्रकाशित: ९ मंसिर २०७९ ०६:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App