२० मंसिर २०७९ मंगलबार
कला

विद्रोहको आगोमा ‘सपनाको प्रतिस्पर्धा’

पुस्तक

बोधराज पौडेल

देशमा विकास नभएको रोष। नेताले गरेको बेइमानी। जता पनि कर र कमिसन। नागरिकको राहत संविधानका अक्षरमा मात्र सीमित। आवाज बोल्यो भने त बन्दुकको गोलीले निर्भय बनाउँछ शरीरलाई।

विद्रोहले चैत्यन्य जगाउँछ कि चैत्यन्यले विद्रोह। कविताभित्रको आकृतिले मनको अन्तर कुनामा रहेको अन्याय समाप्त पार्न विद्रोहको विगुल फुकिरहेको देखिन्छ। नजानिंदो गरेर कुण्ठा छ विद्रोहको। तर, यति सचेतता छ कि युद्धको सिपाहीझैं चनाखो छ हेराइ। आफ्नो दुश्मनको बाटो पहिले नै यकिन गर्नु पनि युद्ध जित्नु बराबर हो। यो कवितामा तिखारिएर आएको भावपरक बिम्व हो।

अन्याय कहाँ हुँदैन, बाबुले दुख गरेर हुर्काएको छोरालाई अंश दिंदा हुन्छ। आमाले आफू नखाई खुवाएको छोरालाई सबै दिन सक्छिन्। तर, छोराले जीवन साट्छु भनेर भित्र्याएकी बुहारीलाई कहिल्यै राम्रो देख्दिनन्। यहीबाट बिस्तारै फैलिन्छ चैत्रको हुर्हुरे डढेलो। एकपटक लागेपछि चिउला पलाउला भन्ने आश हुँदैन, यो माटो नै डढाउने डढलोको।

देशमा विकास नभएको रोष। नेताले गरेको बेइमानी। जता पनि कर र कमिसन। नागरिकको राहत संविधानका अक्षरमा मात्र सीमित। आवाज बोल्यो भने त बन्दूकको गोलीले निर्भय बनाउँछ शरीरलाई। नागरिकका लागि यही कानून। अरूका लागि यही सधैं चैन र विलासी। यसैले जन्माउँछ मनको चिसोपना, असारको खहरे जस्तै अनि न बगाउँछ आफ्नो क्षेत्र छोप्न आएका लहरा र झाँडीलाई। यही चेतलाई शक्तिमा रुपान्तर गरेर कविता लेख्ने कवि हुन् प्रेम राई परीक्षित।

कविता समय अनुसार शक्तिशाली भइरहेको छ। यो चेतना र देशको परिवर्तनसँगै फरक भइरहको छ। गोपालप्रसाद रिमाल र भूपि शेरचनले सत्ताको मोहकतालाई गरेको गालीले ५० दशक नाघेको भए पनि सुधार केही हुन सकेको छैन। पात्र फेरिए। व्यवस्था बदलियो तर ढर्रा राणाकालीनभन्दा माथि आउन सकेन। तब न देशले दुर्भाग्य भोगिरहेको छ। देशको अवस्था र नागरिकको जीवनस्तरबारे बोलिएका कविता नै राईको पहिचान हो भन्ने कुरा कविताले देखाएका छन्।

कवितालाई उनले जीवनको परीक्षा हो भनेका छन्। यो सत्य पनि हो। जे हुुन्छ र भोग्नुपर्छ, त्यो जीवनको परीक्षा नै हो। तर, यो नियति सधैं रहनु हुँदैन। सन्ततिले आफ्नो देशका कर्म गर्न पाउनुपर्छ भन्ने उनको आशा बलवान् छ। यो तुषारापात नभई आरामले हुर्किनसक्छ भन्ने कुरामा भने शंका छ। आखिर जीवन सोचे जस्तो सरल पनि त हुँदैन।

अब उनका कवितामा आएका केही अनुभूति हेरौं:

पढ्नु भनेको त

जीवनमा हलोजस्तै बसिलाले ताछिनु रहेछ

कपासमा जस्तै चर्खामा पेलिनु रहेछ

डल्लेठाले जस्तै डल्ला फुटाउनु रहेछ

दाँतेले जस्तै सम्म पार्नु रहेछ। (जीवनको परीक्षा)

वास्तवमा जीवन यता मिलायो उता भत्किएको हुन्छ। उता मिलायो यता भत्किएको हुन्छ। जीवन आफैंमा असारको समाहा हो। यता थुन्यो उता लड्छ, उता थुन्यो यता लड्छ।

जीवनको बन्धनको परिभाषा आफ्नै छ कविको। कतै उचाइको अग्लो तलामा हुँदाको मोहकता र कहिले गहिराइमा डुब्दाको पीडा यसरी व्यक्त भएको छ।

तिमी सगरमाथा जस्तै

असीमित छौं

चौघेराविहीन

म केचना जस्तै चौघेराभित्र छु। (भावनाको एकीकरण।)

मान्छे कसरी योग्यताविहीन बन्छ। योग्यताको परीक्षणमा अकल्पनीय तरीकाले शब्दहरू आएका छन्।

त्यही अयोग्यताको खुट्किलो चढ्ने तिमी सफल

तिम्रा हरचुनौती पछ्याउँदै हिंड्ने

मचाहिं कसरी असफल?

भनिदेऊ न कमरेड

इञ्च नपुगेको छातीमा

देश अट्छ कि अट्दैन?

गोलीको छर्रा लागेर गुमेको आँखाले

देश ढकमक्क फुलेको देख्छ कि देख्दैन। (योग्यताको परीक्षण)

यहाँ बालिग भएर पाएको नागरिकतामा पनि शंका व्यक्त गरिएको छ। नागरिकताको हस्ताक्षरमा पनि कमिसनको नमीठो गन्ध आएको प्रसंग व्यंग्यात्मक रहेको छ।

उता सकियो विश्वयुद्ध

अनि ढल्यो बर्लिनको पर्खाल

यता निर्माण हुँदैछ

बर्लिनभन्दा अजंगका पर्खालहरू। (वीरबहादुर चेपाङ)

यी र यस्ता कविताले उनको कविताको आधार के हो भन्ने कुरा प्रष्ट पारको छ। भोकको आगोले कति पोल्छ? त्यसलाई सामना गर्न कत्रो शक्ति चाहिन्छ। आफ्नो छेउमा बडेमानको भुँडी बोकेर हिंडिरहेको सामन्त देखेपछि हुने चेतको आगो मात्र होइन एउटा लप्का पनि हो। त्यसले एकलाई मात्र होइन नजिकमा भएको सबैलाई पोल्छ। यहाँ राप मात्र छर्ने कुराको कल्पना मिथ्या। आगोको लप्काले यहाँ मन र देश मात्र होइन सारा ब्रम्हाण्ड जलाउन सक्ने चेतावनी पनि छ। यो एक रापिलो राँको हो, यो बल्दा पोल्छ, नबल्दा हात कालो पार्छ। कविताको शक्तिलाई जोख्न तराजुले पुग्दैन।

श्रवण मुकारुङ भूमिकामा लेख्छन्,‘कविता भनेको सम्पूर्ण ज्ञान, भ्रम र बाँकी रहस्यहरूको समष्टि हो। त्यो उसको अवचेतनको मानसिक अन्तरद्वन्द्वको नितान्त निजी प्रयोगशाला हुँदै अन्ततः शब्दद्वारा प्रकट हुन्छ। पाठकको नजिक पुग्ने यो एउटा पुल हो।’ र ‘देशको आन्तरिक विषय वा सौन्दर्यलाई कवितामा प्रस्तुत गरेर विश्वमा भइरहेको अमानवीयता, शोषण, दमनहरूको हुँकार पनि कवितामा आएका छन्।’

मैले पनि मुकारुङ दाजैलाई समर्थन गरे।

‘सपनाहरूको प्रतिस्पर्धा’ कृतिमा सय कविता छन्। कविता कुनै लामा र कुनै छोटा छन्। तर, उचाइ र तौलका हिसाबले सबै बराबर। शब्दलाई मातृभाषाको जिब्रोको लवजले मिठासता भरेको भए पनि यो व्याकरण दोष हो, छ। पढ्दा यो भान हुन्छ।

यो साधनाको उचाइमा रफ्तारपूर्ण दौडमा टापको धुँलो आँखामा पसेर कतै दुख दिइरहेको छ। अर्को कृतिमा यो धुँलोको कण नामेट भएर जानेछ भन्ने पूर्ण विश्वाससहित यो कृतिको पूर्ण सफलताको कामना गर्दै आगामी लेखनको शुभकामना भन्छु। धन्यवाद। 

प्रकाशित: ७ मंसिर २०७९ ११:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App