७ वैशाख २०८१ शुक्रबार
कला

धर्काहरू

कविता

पौडेल प्रसाद केशव

(क) धर्को

बिन्दुबाट सुरु भएका जनता

मतदाता भएर आएका छन्

निर्वाचनको महापर्वमा

मतपेटीकामा मत खसालेका छन्

रुचिका नेतालाई मत हालेर

सार्वभौमसत्ताको प्रयोग गरेका छन्

राजकीय सत्ताको अभ्यास

त्यहीबाट सुरु गरेका छन्

प्रिय गणक,

बिन्दु हेरिदिनुहोला

किनभने असल नेतृत्वका लागि

खालि त्यो धर्को होइन

जीवन हो

किनकि यो कसैको भाग्य र भविष्य मात्रै होइन

देशको भाग्य र भविष्य हुन सक्छ।

 (ख) धर्सो

असललाई पाखा लगाएर

भिडतन्त्र र भाँडवादमा विश्वास राख्दै

राजनीतिको अपराधीकरण

र अपराधलाई राजनीतिकरण गर्दै

अपराध गरेपछि राजनैतिक शरण लिनेहरू

शुद्धीकरणको अभियानमा

राजनीतिलाई मूल अचुक अस्त्र बनाउनेहरू

अपराधबाट उन्मुक्ति पाउने

माफी मिनाहाको मियो बनाएर

अपराधबाट उन्मुक्ति पाउने बाटो बनाएकाहरू

राजनीतिलाई नै नातावादको सम्पत्ति बनाई

कृपावादलाई आशीर्वाद ठानेकाहरू 

राजनीतिलाई परिवारवादमा ढालेकाहरू

राज्य, शासन र प्रशासनलाई जुठेल्नो ठान्दै आएकाहरू

त्यसैको सिको गर्नेहरूकै कारण

उनीहरूको मर्जीमा जनता भेडा बने ठान्छन्

पैसामा बिके भन्छन्

त्यसैको बिचमा

जनता असल नेतृत्व जगाउँदैन

सिद्धान्त, दर्शन, मूल्यमान्यता र आचरणसहितको

सभ्य समाज निर्माण गर्न

उठेका छन् उठाउनु छ

जागेका छन् जगाउनु छ

चिनिएका छन् चिनाउनु छ

त्यसैले प्रिय गणक,

तिनीहरूका लागि धर्सो

खालि धर्सो होइन जीवन हो

कसैको जिन्दगीभरिको लगानी हो

तपाईले गरिदिने एक गलत गन्तीको धर्साले

कसैको जिन्दगी बर्बाद हुनसक्छ

तपाईको एक छलको धर्साले

कसैको असल राजनैतिक भविष्य सिद्धिन सक्छ

तपाईले एक धर्सो बिर्सिदिंदा

कसैको समग्र राजनैतिक जीवन सिद्धिन सक्छ

त्यसैले प्रिय गणक,

धर्सो सम्झिदिनुहोला

तपाईको धर्साले नै

मतको सम्मान गर्दै

देशको भविष्य उज्ज्वल हुन सक्छ।

 (ग) रेखा

जीवनमा अनगिन्ती रेखा कोर्नुभयो होला

तपाईको हातले

जीवनमा अनगिन्ती भाग्य देख्नुभयो होला

तपाईको हृदयले

अनगिन्ती संस्कार महसुस गर्नुभयो होला

त्यसैले

यो कसैको भाग्य हुन सक्छ

यो कसैको भविष्य हुन सक्छ

असल नेतृत्व पाए समग्र देशको भाग्य हो

सभ्य नेतृत्व पाए समग्र राज्यको प्रगति, समृद्धि हो

त्यसैले प्रिय गणक,

बिस्तारै आरामले सबैलाई अगाडि देखाएरै

नहडबढाई गणना गरिदिनुहोला

सबै प्रतिनिधि सुनिश्चित भएपछि मात्रै

एक धर्सो नबिर्सीकन कोरिदिनुहोला

नदोहोर्‍याई कोरिदिनुहोला

नछुटाई कोरिदिनुहोला

त्यो रेखा तपाई र ममाथि

शासन गर्ने रेखा पनि हुन सक्छ

त्यो रेखा तपाई र मेरो भविष्यमाथि खेल्न

आफैंले दिएको अनुमति पनि हुन सक्छ

त्यो रेखा आफैमाथि नांगो नाच नाच्ने

भाग्य पनि हुन सक्छ

त्यसैले प्रिय गणक,

आफ्नो भाग्य र भविष्यसँगै

देशको भाग्य र भविष्य

सतर्कतापूर्वक कोरिदिनुहोला

मतलाई रेखामा

सत्य शुद्धताका साथ कोरिदिनुहोला

किनकि,

यो कसैको जीवन मात्र होइन

यो देशको भाग्य र भविष्य पनि हुन सक्छ।

 (घ) मतगणना

जिन्दगीभरि विश्वास गरेर

आफ्नो मत सही ठाउँमा प्रयोग भएको ठानेर

सही गणना हुन्छ भनेर

सही मूल्यांकन हुन्छ भनेर

पूर्ण विश्वासको साथ मत दिएका छन्

जनताले हाम्रालाई होइन राम्रालाई

आफ्नालाई होइन असललाई

पूर्ण खुसी मनका साथ मत खसालेका छन्

जनताले

त्यो विश्वास नगुमाउने गरी

विश्वासको पूर्ण भरोसा कायम गरी

पारदर्शी मत गणना गरिदिनुहोला

अन्तिम मत परीक्षण गर्न नपर्ने गरी

पोल अडिट गर्नु नपर्ने गरी

इन्टरनल अडिटमै शुद्धता देखिने गरी

मतको गणना सही गरी

मतअनुसार धर्सो तानिदिनुहोला

मत गणना गरेकाको मत धर्सामा

कन्जुस्याइँ नगरिदिनुहोला

किनभने,

यो कसैको जिन्दगीभरको

राजनीतिको फल हुनसक्छ

कसैको असल राजनीतिको

अन्तिम विन्दु हुन सक्छ

कसैको जीवनको

अन्तिम मतदान पनि हुन सक्छ

कसैको पहिलो मतदान पनि

यो कसैको पहिलाको

राजनैतिक प्रस्थान विन्दु पनि हुन सक्छ

टपक्क टिपेर थपक्क मन्त्री भएकाहरूलाई

के थाहा

पोल्टाबाट ल्याएर कुनै निकायको

प्रमुख बनिदिन सक्छन्

असल मासिंदा यस्ता अवसरवादीहरू

फेरि अवसर पाउन सक्छन्

जनताको मतको अपमान यसरी गरिरहन सक्छन्

त्यसैले प्रिय गणक,

मतलाई धर्सामा नभुलीकन धर्स्याइदिनुहोला

मतलाई नबिर्सी धस्क्याइदिनुहोला

रेखालाई नदोहोर्‍याई/नछुटाई

रेखा कोरिदिनुहोला मत बराबर

धर्को कोरिदिनुहोला मत बराबर

धर्सो तानिदिनुहोला मत बराबर

किनकि यो कसैको भाग्य र भविष्य मात्रै हैन

देशको भाग्य र भविष्य पनि हुन सक्छ।

 (ङ) प्रिय गणक

रेखा हो जीवन कसैको

धर्सो हो जीवन

धर्को हो जीवन कसैको

यो निर्वाचन हो

मत हो जीवन कसैको

यो राजनीति हो

त्यसैले आस्था जुनसुकै दलमा होस्

तपाई निकटता जुनसुकै पार्टीमा होस्

कर्मचारीको रूपमा विश्वास गरेका छन् जनताले

निष्पक्ष र तटस्थ रूपमा

विश्वास गरेका छन् जनताले

मतको शुद्ध गणनामा विश्वास गरेका छन् जनताले

त्यही भएर ढुक्क भएर मत खसालेर

घर गएका छन् जनता

समाचार शुभ आउने आसले

त्यसैले प्रिय गणक,

यस धर्तीमा मत गन्न जान्ने

अन्य नागरिक कति छन् कति

तर पनि

तपाईको पारदर्शिता र इमानदारीमा

विश्वास गर्छन् जनताले

तपाईको अनुशासन र सभ्यतामा विश्वास गर्छन् जनताले

तपाईमा संस्कार र शुद्धता खोज्छन् जनताले

तपाईमा आफू देख्छन् जनताले

त्यसैले प्रिय गणक,

तपाईले तान्ने मतांक रेखा

कसैको जिन्दगीभरिको निष्ठासहितको

राजनैतिक लगानी हुन सक्छ

तपाईले तान्ने गणांक धर्सो

कसैको असल राजनैतिक दर्शन र सिद्धान्त सहितको जीवन

हुनसक्छ,

तपाईले तान्ने मत बराबर रेखा

तपाई हाम्रो पनि भाग्य र भविष्य बनाउने

सत्योजना हुनसक्छ

त्यसैले प्रिय गणक

आफ्नो असल भाग्यको रेखा नमेटिदिनुहोला

आफ्नो भविष्यको धर्सो नछुटाइदिनुहोला

मत कसैको मन हो

मत कसैको जीवन हो

मत कसैको मात्रै होइन

राज्य र शासन बदल्ने सोच हो

हिंसारहित परिवर्तनको संवेग हो

हिंसारहित विकास र समृद्धिको मार्ग हो

त्यसैले प्रिय गणक,

मतलाई रेखामा नछुटाइदिनुहोला

मतलाई धर्सामा नदोहोर्‍याइदिनुहोला

मतलाई धर्कामा नमेटाइदिनुहोला

मतलाई हतारमा हैन विस्तारमा

अत्तालिएर हैन शान्तपूर्वक

आफैंले मात्र होइन सबैले देख्ने गरी

आफ्नो मात्रै होइन सबैको चित्त बुझ्ने गरी

भुल्ने र भुल्याउने नगरीकन

अलमलिने र अलमल्याउने नगरीकन

मत गणना हुनेछ भन्ने विश्वास गर्दैछन् जनता

त्यसैले प्रिय गणक,

सही गणनापछि गणना सही हुनेछ

गणनापछि गणनामा गर्व हुनेछ

त्यसैले आगामी शासन शुभ हुनेछ

आगामी भाग्य र भविष्य चम्किलो हुनेछ

जय मत गणना।

प्रकाशित: ६ मंसिर २०७९ ०९:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App