१६ मंसिर २०७९ शुक्रबार
कला

एक थान कपडा

लघुकथा

इन्दिरा गौतम

१) एक थान कपडा

शिवरात्रिको दिन मन्दिरमा पूजा-अर्चना गर्न घरका सबै जना निस्कियौं। पूजाको थालीमा स्याउ,कोला, बयर नरिवलसँगै भाङ धतुरो पनि चढाउने थालीमा राखें। ठूली छोरी यसपालि एसएलसीकी विद्यार्थी  हुनाले उसका लागि अलगअलग थरीका चढाउने सामग्रीसँगै चाँदीको बेलपत्र पनि ठीक पारेकी थिएँ। सानो छोराले मलाई सोध्यो, ‘आमा मचाहिं के चढाउनु मन्दिरमा?’

‘तँ सानो छस्। ठूलो भएपछि धेरै पैसा कमाएर राम्राराम्रा चिजहरू चढाउने हुन्न?’

‘ठिकै भन्नुभयो। म ठूलो भएपछि फलफूलको सट्टा ती नांगा बाबाहरूलाई एक थान कपडा दान दिन्छु।’

त्यो सुन्नेबित्तिकै मैले फूलको थुँगाले थालीमा भएको भाङ्मको पोको छोपें।

 २) होलीको रङ

चैते खडेरीमा संसारैभरि डढेलो लाग्ला जस्तो छ। दिउँसो दुई बजेतिर चौंतीस डिग्रीको छेउछाउमा पुगेको गर्मी शान्त बनाउन उखुको रस बेच्ने भाइको छेउमा पुगेर दुई गिलास रस पिएपछि मात्र तिर्खा मेटियो। अर्को रूखमुनि पसल फिंजाएर बसिरहेको भैयाले मलाई  ध्यानपूर्वक हेर्‍यो। उसले पनि मलाई ग्राहक सोच्नु कुनै ठूलो कुरा होइन।

‘भैया होली मुबारक हो। मलाई चार सयको चार वटा रङ दिनुस् न’उसले गम्छाले पसीना पुछ्दै टाउको हल्लायो।

एकैछिनमा रङका पोका अगि सार्‍यो। छेउछाउमा ससाना केटाकेटीहरू रङ छ्यापाछ्याप गर्दै थिए। एकछिन बाल्यकालको स्मृतिमा हराएछु। मेरा साथी सन्तोष, राहुल, मदन र विनोद भएर कति रमाइलो गर्थ्यौ। एउटा केटाले पानीको बोतल मेरो हातबाट फुत्त तानेर घटघटी पानी पिउन थाल्यो। अर्काले हल्का रमाइलो गरेको, ‘अंकल,माइन्ड नगर्नु होला’भन्दै मेरो मुखमा बेसरी रङ दल्न थाल्यो। खोई कहाँबाट हो अरिंगाल खनिए जस्तै ममाथि भुराभुरी खनिए। होलीको दिन हुनाले केही भन्न सकिनँ।

रङको पैसा भैयालाई दिएँ लगत्तै दुई सयको नोट केटाहरूलाई दिंदै थिएँ, तीमध्येको एउटा चतुरे केटाले पैसा फुत्त तानेर कुदयो। सबै केटा उफ्रिंदै उसको पछि लागे। मेरो सहज मनको तृष्णा मेटाउन पसलको रङ हातमा राख्दै पसलेलाई दल्न खोज्दै भनें, ‘तपाईलाई दोबारा होली मुबारक। बच्चाको मस्तीले मलाई ज्यादा नै आनन्द आयो।’

उसले मन्द मुस्कानमा भन्यो, ‘बच्चा भगवान् जस्तै हुन्। पैसा टिपेर कुद्ने केटो मेरो छोरो अब्दुल हो र उसका पछिपछि त्यो रातो सर्ट लगाउने खृष्टोफार हो अनि अरू सुशील, कृष्ण र हरि हुन्। उनीहरू सबैका चाडपर्वमा एकैनासे रमाइलो गर्छन्।’

मेरो रंगीन हात जहाँको त्यहीं रोकिए। एकछिन घोरिएर भनें, ‘केही छैन तर तपाईले फिंजाइएको रङ देखेर मात्रै मलाई होली आएको थाहा लाग्यो। व्यापारमा कुनै धर्मले सीमाना छुट्याएको रहेनछ। राम्रो लाग्यो।’

 ३) हेरफेर

उसको अनुहार राम्ररी हेरिनँ। कालो गोरोजस्तै भए नि बाबु-आमाको पसन्दको थियो। मसँगको पहिलो भेटमै सोध्यो, ‘तिमी मसँग बिहे गर्न सहमति छौ?’

म शब्दहीन भएर उभिएँ। मुखबाट एउटा शब्द पनि निस्केन। आमाले मामा,काका, सानिमालाई सधैं भन्ने कुरा झट्टै मनमा पर्‍यो, ‘यो हिउँद पनि चिप्लिन लाग्यो। छिटो गरेर एउटा केटा ठिक पार्न सक्तैनौ?’

छोरी त बुढी हुने परी।’ बिहानबेलुका घरका वचन र ईष्टमित्रका तानाले मलाई झस्कायो।

मैले हत्तपत्त जवाफ फर्काएँ, ‘हजुर।’

उसले भन्यो, ‘मलाई तिमी मन पर्‍यो। मेरा बाबु-आमाले हेरेकी केटी मैले ना गर्नु त मुर्खता हो।’

उसका कुरा सुनेपछि म पनि ढुक्क भएँ। आखिरमा एउटासँग जीवन बिताउनुपर्ने हो।

अतिथिको राम्रो सत्कार भयो। उनीहरूले खासखुस गरेर सल्लाह गरे। केटाको बाबुले हात जोड्दै भने, ‘अब हाम्रो घर हेर्न आउने पालो तपाईंहरूको। हाम्रो तर्फबाट त केही आपत्ति छैन। तपाईंहरूले हा भने छिट्टै लगन निकाल्ने।’ 

यो पल्ट मैले बाबालाई केही भन्न सकिनँ। उहाँले आफ्नो साथीको छोराको कुरा गर्नुभयो।’

यो केटालाई जसरी भए पनि हा भनिदे। त छब्बीस वर्षमा हिंड्दै छेस्। उमेरले पनि पर्खेर बस्दैन’ आमाको ब्ल्याकमेल बुझ्न बाँकी थिएन। उहाँको मानसिकतामा अघिपछिका प्रस्तावले पनि चोट दिएको थियो।

बेलुका आमा बिहेमा निम्ता गर्न आफन्तको सूची तयार पार्दै मामा, सानिमालाई शुभ समाचार सुनाउन लाग्नुभयो। बाबा पनि फुपू काकासँग कुरा गर्न व्यस्त हुन्थ्यो।

मलाई एउटा नयाँ नम्बरबाट फोन आयो, ‘हेल्लो सरिता।’

मैले पनि चिनिहालें, कति मिठो बोलीमा लठ्ठै पारेर बोल्न जानेको। म पनि ढुक्क हुँदै बोलें, ‘हजुर।’

‘एउटा कुरा भन्छु है?’

मैले अलिक जिस्किंदै भनें, ‘एउटा मात्र मलाई त धेरै कुरा सुन्न मन लाग्या छ।’

उसले रहस्यात्मक स्वरमा भन्यो,‘यो प्रस्ताव तिमीले उठाउनुपर्छ। किनभने तिमीले केटा मन परेन भन्दा भैहाल्छ।’

‘हाम्रो बिहे रद्द गर न।’

मैले हत्तपत्त सोधें,‘किन?’

सबै कुरा खोलेर भन्न सकिन्न तर यतिका निम्ति तिमीलाई अजस्र बधाई टक्याउँछु। आभार प्रकट गर्दछु।’

एकातिर बिहे क्यान्सिल गरेकामा आफन्तको सहन नसक्ने गालीको प्रहारसँग उसले दिएको बधाई नापी हेरें। निकै हेरफेर थियो।

गाउँमा फेरि ठूलो हल्ला फैलियो, ‘योपालि पनि सरिताले केटा मन पराइनँ रे।’

 ४) स्वभाव

मानिसको स्वभाव र चरित्र थाहा भएर एक विज्ञ पिताले दुई वटा सन्तानमै परिवार नियोजन गरे। साना छँदा दुवै दाजुभाइ एकदमै मिलनसार र शान्त थिए। हरेक खानेकुरा बाँडेर खान्थे। सँगसँगै बसेर खेल्ने, पढ्ने गर्थे। जतिजति ठूला हुँदै गए,उतिउति दुवैमा दुस्मनी बढ्दै गएको देखेर बाबु चिन्तित भए। अनेक उपाय खोज्न थाले।

छोरा दुवैलाई फकाएर तीर्थस्थल घुमाउन लगे। हरेक ठाउँका साधुसन्तको दर्शन गराए। यस्तै बिचमा एउटा मन्दिर यस्तो ठाउँमा थियो। जहाँ चारैतिर जंगली जनावर मात्र थिए। त्यहाँ दर्शनार्थीहरूको  भिड लाग्थ्यो। मान्छे देख्नेबित्तिकै चारैतिरबाट बाँदरले घेरेर राख्थे। उनीहरूले खानेकुरा भेटेपछि तुरुन्तै छोडिदिन्थे र साथै आआफ्नो भाग खाँदै पर सर्थे। माथिबाट परेवा पनि आशाभरि नेत्रले हेर्थे। कहिले  अर्काको भागको आश गरेनन्। आफ्नो स्थितिबाट बिचल्ली भएनन्। आफू रमाउँदै हिंड्थे।

अर्को कुनामा बसेका कुकुरहरू संकीर्णतापूर्ण पक्षपातको भावनाले अर्काको भाग ठूलो देखेर भुकिरहे। बाँकी जनावर अघाएर आआफ्नो दिशातर्फ लाग्दा पनि आफ्नो भाग नहेरेर एउटै खानेकुरामा पाँचपाँचवटा कुकुर झम्टिदै थिए। विज्ञ पिताले ती दृश्यमाथि टिप्पणी गर्न पालैपालो दुवै छोरालाई भने। छोराहरूले आफ्नो चरित्र कताकता कुकुरमा मिल्दो महसुस गरे।

 ५) मिलन

कहिले बादल फाट्छ र घाम लाग्छ भनेर आजभोलि दीपु आकाशतिर हेरिरहन्छ।

ऊ हिजोआज धेरै व्यस्त भएको छ। चार दिनअघि आएको हुन्डरीमा ढुकुरका बच्चा आफ्नो गुँडबाट खसेर बिचल्ली भएको देखेर दीपुले तिनीहरूलाई ल्याएर अँध्यारो तातो कुनामा राखेको छ। समय-समयमा फलफूल र चारो खुवाउँछ। बच्चा पनि हुर्किंदै छन्।

आमा बारबार भनिरहन्छिन्,‘आमाको मायाबाट वञ्चित भएका यिनीहरूलाई छोडिदेऊ।’

दीपु भावुक हुँदै भन्छ, ‘अब त यी मेरा साथी हुन्। जंगलमा कोसँग बस्छन् र! उनका आमाबाबा पनि छैनन्। म त आफ्नैसँग राख्ने हो।’

अचेल उसलाई अनलाइन गेमभन्दा बच्चाको दानापानीमा रमाएको देखेर आमा निकै खुसी हुन्छिन्।

बेलुका चारो टिप्दै गरेका बच्चा आँखा झिमिक्क गर्दा कता हराएहराए। फेरि ठूलो अर्को हुन्डरीमा बच्चा कतै घाइते हुन्छन् कि भनेर दीपु त्यो रात सुत्छ सकेन। रातभरि मनमा अनेक कुरा खेलिरह्यो।

एकाबिहानै आँगनको वरिपरि अरू ढुक्कुरहरू चारो टिपिरहेका थिए। आकाश उज्यालो थियो। मानौं, हुन्डरी टरिहालेजस्तै। बच्चा पिंजडाबाट आजाद भए पनि दीपुको मनबाट आजाद हुन सकेका थिएनन्। दीपुको अनुहारमा एकातिर विषादका रेखाहरू झल्किरहेका थिए भने अर्कातिर चराको भरिपूर्ण परिवार बिछोडिएको सन्तानको खोजीमा दीपुको आँगनसम्म आइपुगेका थिए। हेर्दाहेर्दै आँगनको अर्को कुनाबाट बच्चा निस्किएर खुसीले आफ्ना पखेटा फिंजाउँदै आफ्नो प्रजातिको हुलमा मिसिन पुगे।

पारिवारिक बिछोड-मिलनको यो उत्सव मनाउने चराहरूको  समूहसँगै दीपु पनि कारुणिक  खुसीको पलमा टोलाइरहेको थियो।  

प्रकाशित: ५ मंसिर २०७९ १३:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App