समाज

पूर्व सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह

हाल लुम्बिनी, कर्णाली, बागमती, मधेस र कोशी प्रदेशका विभिन्न जिल्लामा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा भइरहेको छ। 

जल तथा मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेका अनुसार वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै गइरहेको र मेघगर्जन, चट्याङ तथा वर्षाका कारण हुनसक्ने सम्भावित जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।

‘हाल पानी पार्ने प्रणाली पूर्वतिर सर्दै गइरहेको छ। आवश्यक सावधानी अपनाउनु होला’, उनले भने।

लामिछानेका अनुसार नेपालमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

काठमाडौं उपत्यकामा भने केही समयपछि वर्षा हट्ने सम्भावना रहेको उनले बताए। ‘यतिबेला देशका विभिन्न स्थानमा स्थानीय अवस्थाअनुसार फरकफरक प्रकारका बादल विकसित भइरहेका छन्’, लामिछानेले भने।

विभागका अनुसार मंगलबार राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा सामान्यदेखि आंशिक बदली रहनेछ।

मधेस प्रदेशसहित लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभाग, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने विभागले जनाएको छ।

सुदूरपश्चिम प्रदेशको तराई भूभागमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ।

विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा तथा मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको छ।

उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको विभागले जनाएको छ।

प्रकाशित: २६ जेष्ठ २०८३ १८:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App