समाज

आईए पास पनि उपसचिव

काठमाडौं, कात्तिक २४ (नागरिक)- संविधानसभा सचिवालयका सात जना शाखा अधिकृतलाई सोमबार उपसचिवमा बढुवा गरिएको छ।

लोकसेवाका सदस्य कृष्ण पोखरेलको अध्यक्षतामा सोमबार बसेको बढुवा समितिको बैठकले आन्तरिक बढुवाका लागि योग्य १८ जनामध्ये कार्यसम्पादन मूल्यांकनका आधारमा उनीहरूलाई पदोन्नति गरेको हो।

समितिले उपसचिवमा बढुवा गरेकामा हृदयराम महर्जन, वंशीराज पौडेल, घनीन्द्रराज चिमोरिया, सुदर्शन कुइँकेल, बालकृष्ण सुवाल, भवानी घिमिरे र मनोजकुमार गिरी छन्।
बढुवा भएकामध्ये महर्जन, पौडेल चिमोरिया र कुइँकेल स्नातक छन् भने बाँकी तीन जना सुवाल, गिरी र घिमिरे प्रवीणता प्रमाणपत्र तहमात्र उत्तीर्ण छन्।

संसद् ऐन तथा नियमावलीमा दलित, आदिवासी जनजाति, महिला, मधेशी कर्मचारीले चार वर्ष र बाँकीले पाँच वर्ष निरन्तर काम गरेपछि माथिल्लो पदमा योग्य हुने व्यवस्था छ।
निजामती ऐन तथा नियमावलीमा जस्तो संसद् ऐन तथा नियमावलीमा बढुवाका लागि योग्यता अनिवार्य नगरिएको कमजोरीका कारण प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेका कर्मचारीले समेत उपसचिव हुने सौभाग्य पाएका हुन्।

पोखरेलको अध्यक्षतामा रहेको बढुवा समितिमा लोकसेवाका विज्ञ रामानन्द मिश्र, संसद्का कार्यवाहक महासचिव मनोहर भट्टराई, सचिव कृष्णप्रसाद पाण्डे, संविधानसभा मन्त्रालयका सचिव प्रमोद कार्की सदस्य छन्।

प्रकाशित: २३ कार्तिक २०६६ २२:२४ सोमबार